मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

रासस

टीकापुर — आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । 


टीकापुर नगरपालिका–७ खैरीमा राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो। उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईले बताए।

मोटरसाइकल चालक पवन पाण्डेको हात भाँच्चिएको छ, उनकाे कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डन्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ। मोटरसाइकल चालक पवनका जीवान्नद मामा र विष्णु भिनाजु रहेको पारिवारिक स्रोतले जनाएको छ।

यस्तै टीकापुर नगरपालिका वडा नं २ बन्दीपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरी घाइते भई उपचारका लागि कोहलपुर लगिएकोमा उनको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

मृतक जीवानन्द र विष्णुको शव टीकापुर अस्पतालमा राखिएको छ भने चौधरीको शव पनि कोहलपुरबाट टीकापुर ल्याउन लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

प्रकाशित : मंसिर १७, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

रासस

काठमाडौँ — काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । अाइतबार राति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो ।

कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पुर्‍याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७५ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्