कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पहाडी खसीबोका भित्र्याएपछि तराईमा लाग्छ दसैं

भवानी भट्ट

कञ्चनपुर — डडेलधुराको परशुराम नगरपालिका–८ जोगबुडाका मानबहादुर बोहरा गाउँबाटै संकलन गरेका खसीबोका बिक्री गर्न महेन्द्रनगर झरेका छन्  । ३८ वटा खसी र बोका लिएर आइतबार यहाँ पुगेका उनी मंगलबारसम्म सबै बेचेर घर फर्किने तयारीमा छन्  ।

पहाडी खसीबोका भित्र्याएपछि तराईमा लाग्छ दसैं

(कञ्चनपुर)- डडेलधुराको परशुराम नगरपालिका–८ जोगबुडाका मानबहादुर बोहरा गाउँबाटै संकलन गरेका खसीबोका बिक्री गर्न महेन्द्रनगर झरेका छन् । ३८ वटा खसी र बोका लिएर आइतबार यहाँ पुगेका उनी मंगलबारसम्म सबै बेचेर घर फर्किने तयारीमा छन् । ‘आधाभन्दा बढी बिक्री भइसके, बांँकी पनि भोलिसम्म बेचिन्छन् होला,’ उनले भने, ‘सबै बेचेर दसैंका लागि घर फर्किन्छु ।’


बोहराले परशुराम नगरपालिकाका कर्रेनी, मलास, बड्डी मलास लगायतका गाउँबाट ८ लाख बढीका खसीबोका संकलन गरेका थिए । तीमध्ये ५ लाख घटस्थापनाअघि नै काठमाडांै पठाए । १ लाख जति तिहारका लागि घरमै राखेका छन् । बाँकी महेन्द्रनगर ल्याएर बिक्री गर्दै छन् । उनका अनुसार यस वर्ष जोगबुडाबाट मात्रै महेन्द्रनगरमा १५ लाख बढीका खसीबोका आयात गरिएको छ ।


‘सबै बेच्न सके ८०/९० हजार बचत हुन्छ,’ बोहराले भने, ‘यसैबाट दसैं खर्च र हिउँदमा बालबालिकाका लुगाफाटा किन्न पुग्छ ।’ उनी १५ वर्षदेखि यसैगरी गाउँबाट खसीबोका किनेर दसैं र तिहारमा महेन्द्रनगर ल्याएर बेच्दै आएका छन् । सय/डेढ सय बढी खसीबोका ल्याउने उनले यसपटक काठमाडौं लैजाने व्यापारीबाट गाउँमै राम्रो मूल्य पाएपछि यहाँंका लागि थोरै मात्र बांँकी राखे । ‘जिउँदो प्रतिकिलो ३ सय ८० सम्म गाउँमै बेचियो,’ उनले भने, ‘महेन्द्रनगर ल्याएपछि त्यही रेट पनि पाइन गाह्रो भएको छ ।’ उनका अनुसार गाउँलेले पनि काठमाडौंकै व्यापारीलाई बिक्री गरेका कारण महेन्द्रनगरमा थोरै मात्र खसीबोका ल्याइएको बताए । परशुराम नगरपालिका–८ कर्रेनीका गोरे धामी पनि बर्सेनि सय/डेढ सय खसीबोका ल्याएर महेन्द्रनगर पुग्थे । तर यसपटक गाउँमै अभाव भएपछि उनले ३५ वटा मात्रै ल्याउन पाए । आइतबार महेन्द्रनगर पुगेका उनी पनि मंगलबार सबै बिक्री गरेर फर्किने तयारीमा छन् ।
विगतका वर्षमा जोगबुडा क्षेत्रबाट दसैंका लागि मात्रै डेढ हजार बढी खसीबोका महेन्द्रनगर ल्याइन्थ्यो यसपटक काठमाडौंका व्यापारीहरू गाडी लिएर गाउँमै पुगेपछि सबै लगेर गएको जोगबुडा क्षेत्रका खसीबोका व्यापारीहरू बताउँछन । ‘अहिले गाउँमा समेत खसीबोका पाइने अवस्था छैन’ गोरेले भने, ‘राम्रो रेट पाइएपछि सबैले स–साना पाठापाठी पनि बेचिदिए ।’ उनका अनुसार यस पटक महेन्द्रनगरमा ४ वटा टोलीले २ सय जति खसीबोका ल्याएका छन् ।


‘अब तिहारमा कहांँबाट ल्याउने भन्ने चिन्ता छ’ ५ वर्षदेखि जोगबुडाबाट खसी बोका ल्याएर महेन्द्रनगरका बेच्दै आएका कञ्चनपुरको शुक्लाफाँंटा नगरपालिका–८ झलारीका करवीरसिंह बोहराले भने, ‘भित्री मधेसका खसीबोका त काठमाडौंका व्यापारीले सबै लगेर गए ।’ ३७ वटा मात्रै ल्याएका उनले एकदिनमै बिक्री गरिसके ।


पहाडबाट कम खसी आएपछि यसपटक भारतबाट समेत आयात भएको छ । भारतीय व्यापारीहरूले पनि महेन्द्रनगर बजारमा ल्याएर बिक्री गरिरहेका छन् । जोगबुडाबाट ल्याइएका एक/दुई दिनमै सकिएपछि उपभोक्ताहरू खोजीका लागि भौतारिन थालेका छन् । विगतका वर्ष अष्टमी र नवमीसम्मै जोगबुडाका खसीबोका किन्न पाइन्थ्यो ।


पहाडमा पनि बढ्यो कारोबार
दार्चुला – नौगाड गाउँपालिका १ इयरकोटका जयसिंह डडाल भेंडाबाख्रा बिक्री गर्न सदरमुकाम खलंगा आएका छन् । साना ठूला गरी ३० भेंडाबाख्रा लिएर सदरमुकाम पुगेका डडालले दुई दिनमा १७ बाख्रा बिक्री गरेको बताए ।


उनी गाउँभन्दा सहरमा राम्रो मूल्य पाइने भन्दै यहाँ आएका हुन् । यो वर्ष करिब एक लाख रुपैयाँ बराबरका भेंडाबाख्रा बिक्री गर्ने उद्देश्य उनको छ । अर्का स्थानीय रामसिंह ठगुन्ना पनि खसीबोकाको कारोबार गर्छन् । उनले दुई दिनमा राम्रै कारोबार भएको बताए । अबका दुई/तीन दिनमा सबै खसीबोका बिक्री भए दसैं मनाउन घर जाने उनको योजना छ ।
‘दसैं खर्च चलाउन एक महिनादेखि गाउँमै खसीबोका बिक्री गरिरहेको थिएँ,’ ठगुन्नाले भने, ‘दिनमा एक/दुई ग्राहक आए पनि मूल्य खासै नपाउँदा खसीबोका डोर्‍याएर सदरमुकाम झरियो ।’ उनले आफूले परम्परागत रूपमा बाख्रापालन गर्दै आएको बताए ।


उनले यसअघि पनि दसंै खर्च चलाउन खसीबोका बिक्री गर्ने गरेका थिए ।


यस्तै व्यावसायिक रूपमा दसैं तिहारमा खसीबोका बिक्री गर्दै आएका दुहु गाउँपालिका–२ का देवदत्त जोशीले गाउँबाट खसीबोका संकलन गरेर सहर बजारमा बिक्री गर्न ल्याएका छन् । गाउँमा संकलन गरेर बिक्रीका लागि ल्याउँदा त्यति राम्रो फाइदा नभए पनि सामान्य घर खर्च चल्ने गरेको उनको भनाइ छ । अन्य ठाउँको तुलनामा जिल्लाका व्याँस, नौगाड, अपी हिमाल र मार्मा गाउँपालिकामा भेंडा बाख्रापालन राम्रो छ । त्यसैले अन्यत्रका व्यापारी यहाँ आएर खसीबोका संकलन गर्छन् ।


जिल्ला बाहिर भेंडाच्याङग्रा
यसअघिका वर्षमा दसैंका बेला चीनको ताक्लाकोटबाट भेंडाच्यांग्रा दार्चुला भित्रिन्थे । तर, यो वर्ष यहाँबाट ७ सय ५० भेंडाच्यांग्रा जिल्ला बाहिर पठाइएको छ ।
अपी हिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेंडाच्यांग्रा अन्य जिल्ला पठाइएको शैल्यशिखर नगरपालिकाले जनाएको छ ।


जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २ सय ६० भेंडा र स्कालिम जातका ४ सय ७३ च्यांग्रा जिल्ला बाहिर पठाइएको पशु चिकित्सक मोहनदेव भट्टले बताए । यस वर्ष तिब्बतेली भेंडाच्यांग्रा हालसम्म आयात भएका छैनन् ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?