उजाड बगर हराभरा
कञ्चनपुर — भीमदत्त नगरपालिका–९ मटेनाको कामीकाटे खोलाको दुवैतर्फ हराभरा घना वन छ । नदी छेउसम्मै नयाँं बिरुवा उम्रिने क्रम बढेको छ । केही वर्षअघिसम्म उजाड देखिने यो क्षेत्र संरक्षणले नमुना बन्दै गएको छ ।
स्थानीयको संरक्षण र चार वर्षअघि खोलाको दुवैतर्फ तटबन्ध निर्माणले यस्तो अवस्था आएको हो । स्थानीयले चरी चरन निषेध र वृक्षरोपण गरेर सामुदायिक वन सगै जोडिएको खोलालाई पनि संरक्षण गरेका हुन् ।
जिल्लाकै उत्कृष्ट सामुदायिक वनका रूपमा चिनिएको चुरे फेदीको वैजनाथ सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरू अहिले पनि वृक्षरोपण र संरक्षणमा तल्लीन भएर लागेका छन् । ‘१५ वर्षअघि यो वन पूरै सखाप भइसकेको थियो,’ सामुदायिक वनका पूर्व अध्यक्ष खडकसिंह विष्टले भने, ‘तलबाट हेरेपछि चुरेका नाङ्गा डाँडा मात्रै देखिन्थे ।’
त्यही बेलादेखि सामुदायिक वनले संरक्षण अभियान सुरु गरेको हो । वनभित्र घांँस–दाउरा संकलन पूर्ण रूपमा बन्द गरी चरिचरन पनि निषेध गरियो । त्यसपछि ४/५ वर्षमै फेरि घना वन बन्यो । वन विनाश हुँदै गए पनि कामीकाटे खोलाले पनि यहांँका बासिन्दालाई धेरै दु:ख दियो । सामुदायिक वनसमेत आधाभन्दा बढी कटान गरिसकेको थियो ।
संरक्षणले अहिले बिरुवा पुनरुत्पादन भएर बगर बनेको क्षेत्र पनि वनमा परिणत भएको छ । महाकाली सिँंचाइ आयोजनाले खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेपछि संरक्षणमा झन् सहज भएको स्थानीय बताउँछन् । यतिबेला तटबन्धमा पनि दुवैतर्फ सिसम र खयरका बिरुवा उम्रेर राम्रै वन बनेको छ । यसैगरी साल, विजयसाललगायतका बिरुवाहरू पर्याप्त मात्रामा पुनरुत्पादन हुन थालेका छन् ।
प्रकाशित : भाद्र २५, २०७५ १०:२०