छाडा गाईगोरुलाई स्लाइन पानी

भवानी भट्ट

कञ्चनपुर — बजारमा छाडा छोडिएका अधिकांश गाई–गोरु घाउ, चोट लागेका बिरामी र खान नपाएर हिँड्नै नसक्ने अवस्थामा छन् । सामान्य घाउको समेत समयमै उपचार नपाउँदा संक्रमण बढेर मर्न थालेका छन् ।

छाडा गाईगोरुलाई स्लाइन पानी

छाडा गाईगोरुको दयनीय अवस्था देखेपछि यहाँका केही युवा स्वयंसेवीका रूपमा उपचारसँगै खाना खुवाउने काममा जुटेका छन् ।

कञ्चनपुरको भीमदत्त–६ ऐठपुरका युवाले ‘राष्ट्रिय जनावर गाई बचाउ अभियान’ सुरु गरेका छन् । उनीहरूले नानाज समाज गठन गरेर असारदेखि बिरामी, घाउचोट लागेका र खान नपाएका गाईगोरुको उपचार र रेखदेख गरिरहेका हुन् । १४ जना युवाले असार अन्तिमदेखि यो अभियानको सुरुवात गरेका छन् ।

उनीहरू आफ्नै खर्चमा बिहानदेखि साँझ अबेरसम्म छाडा र अलपत्र गाईगोरुकै उपचारमा खटिइरहेका भेटिन्छन् । घाउ सफा गर्ने, औषधि लगाउने र कमजोर भएकालाई सलाइन चढाउने काम गरिरहेका छन् । ‘अहिलेसम्म ७ सय बढी गाईगोरुको उपचार गरिसक्यौं,’ नानाज समूहका संयोजक भूपेन्द्रराज जोशीले भने, ‘भेटेरिनरी पढिरहेका युवासमेत स्वस्फूर्त ढंगले हाम्रो अभियानमा सहयोग पुर्‍याइरहेका छन् ।’

शनिबार यो समूह महेन्द्रनगरको खुला मञ्चमा एक वृद्ध गाईको उपचारमा संलग्न थियो । अत्यन्त कमजोर गाईलाई स्लाइन चढाउनुका साथै शरीरका घाउ सफा गरिरहेका थिए । एक सातादेखि खाल्डोमा हुँदा गाईको एकातर्फको छाला सडिसकेको थियो ।

‘अब निरन्तर एक हप्तासम्म उपचार गर्न सके यो गाई सन्चो हुन्छ,’ १८ महिने भेटेरिनरी तालिम लिएर गाई बचाउ अभियानमा जुटेका चेतराज रोश्याराले भने, ‘यो त अलि कम छ, शरीरभरि किरा परेका गाईको महिनादिनसम्म उपचार गरेर पनि निको भएको छैन ।’ ऐठपुर क्षेत्रमा एक गोरुको शरीरभरि घाउ थिए ।

सिङदेखि अगाडिको भाग पूरै कुहिएर २/३ किलोमिटरसम्म गन्हाउने अवस्था थियो । उक्त गोरुलाई भूपेन्द्रले जिल्ला पशु सेवा कार्यालयमा ल्याएर लगातार दुई महिनासम्म उपचार गराएपछि निको भयो । त्यही बेलादेखि उनले गाउँका अन्य युवालाई पनि अभियानमा सहभागी गराएका हुन् ।

हालसम्म यो समूहले गाईगोरुको उपचारमा ३ लाख बढी खर्च गरिसकेको छ । केही स्थानीयको सहयोगबाहेक बाँकी सबै व्यक्तिगत रूपमा खर्च भइरहेको उनीहरूले बताए । उक्त अभियानमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले ५० हजार आर्थिक सहयोगसँगै उपचारमा समेत सहयोग गरेको संयोजक जोशीले बताए ।

‘गाईगोरुको उपचार मात्रै होइन अत्यन्त कमजोरलाई घाँस पराल र दाना खुवाउने काम पनि गरिरहेका छौं,’ अभियानकै सहयात्री राम बोहराले भने, ‘औषधि उपचारदेखि सबैमा व्यक्तिगत खर्च गरिरहेका छौं ।’ उनका अनुसार एक दिनमा २० देखि २५ गाइगोरुको उपचार भइरहेको छ । एक गाईको उपचारमा ५ हजारसम्म खर्च आउने उनले जानकारी दिए ।

यो समूह महेन्द्रनगर बजारसँगै ब्रह्मदेव, भम्केनी तथा वेदकोट नगरपालिकाको सुडा, दैजी र लालपुरसम्म उपचारका लागि पुग्ने गर्छ । सामान्य घाउ भए त एक/दुई जना मात्रै गएर पनि उपचार गर्छन् ।

प्रकाशित : भाद्र २१, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?