१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चौरमै पहिरोपीडित

धनगढी — गत शुक्रबार राति घर माथिबाट आएको पहिरोमा पुरिएर बूढीगंगा–१ कुँडीकी ४५ वर्षीया कला परीको च्यापिएर मृत्यु भयो । पति नन्दे गम्भीर घाइते छन् । पहिरोको जोखिमले गाउँका १ सय ३५ परिवार विस्थापित भएका छन् ।

चौरमै पहिरोपीडित

वडासचिव प्रेमराज जैशीले पहिरोमा ३ घर बगेको बताए । सुरेन्द्र साउद, तुली साउद र नन्दे परीको घर बगेको छ । विस्थापित परिवार ६ दिनसम्म स्थानीय कुँडी आधारभूत विद्यालयको चौरमा बसेका थिए । अहिले आटीचौर सुर्काबजारको खुला चौरमा सरेको सचिव जैशीले जानकारी दिए ।

विस्थापित परिवारको बिचल्ली भएको वडाध्यक्ष राजेश सिंहले बताए । ‘६ दिनसम्म विद्यालयको चौरमा रात बिताए । ओत लाग्ने ठाउँ नहुँदा बालबालिका र महिलाको झन् धेरै बिचल्ली छ,’ उनले भने ।

विस्थापितमध्ये १ सय १४ परिवार दलित समुदायका हुन् । बाढी र पहिराले खानेपानीका मुहानमा क्षति पुर्‍याएपछि विस्थापितले ६ दिनसम्म शुद्ध पिउने पानीसमेत पाएनन् । खोलाको पानी खाएर प्यास मेटेको आइते परीले बताए ।

तरकारीको टनेलमा प्रयोग भएको एउटा त्रिपालमा ५ परिवार बस्ने गरेको अर्का स्थानीय सुरेन्द्र साउदले बताए । ‘पहिरोले घर पूर्णरूपमा पुरेको छ, खाद्यान्न छैन, एउटै त्रिपालमा ५ जना परिवारका २३ जना बस्ने गरेका छौं,’ उनले भने ।

रेडक्रसले विस्थापित परिवारका लागि २० वटा त्रिपाल दिएको छ । ३ परिवारका लागि खाना सेट उपलब्ध गराएको रेडक्रसका जिल्ला सभापति दिलबहादुर बुढाले बताए । अन्य कुनै पनि निकायबाट राहत नपाएको गुनासो विस्थापितको छ ।

बूढीगंगाका नगरप्रमुख दीपकविक्रम शाहले धेरै परिवार विस्थापित भएकाले राहत व्यवस्थापनमा असहज भएको बताए । राहतका लागि विभिन्न निकायसँग पहल गरिरहेको उनको भनाइ छ ।

मृतक कला परीको परिवारलाई भने किरिया खर्चबापत जिल्ला प्रशासनले एक लाख रुपैयाँ उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

उनले प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट त्रिपाललगायतका अत्यावश्यक सामग्री जिल्लामा आइसकेको र आवश्यकताअनुसार पीडित परिवारलाई वितरण गरिने बताए ।

‘विस्थापित परिवार भोकभोकै बस्नुपर्ने अवस्था छैन, अन्य समस्याबारे हामी नियमित अनुगमन गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ९, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?