कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

३ दिनमा ३ मृत फेला

‘घटना शंकास्पद देखियो’ –डीएसपी
मनोज बडू

दार्चुला — जिल्लाका विभिन्न स्थानमा ३ दिनमा ३ जना मृत फेला परेका छन् । राति घरमा एक्लै सुतेको अवस्थामा मार्मा गाउँपालिका १, घोल्जरमा ४५ वर्षीय अंबिरसिंह ठगुन्ना मृत अवस्थामा भेटिए ।

३ दिनमा ३ मृत फेला

सोमबार बेलुका महाकाली नगरपालिका ४, बंगाबगडकी १९ वर्षीया कोमल बुदियालको शव महाकाली नदीकिनार पारिपट्टि भारतको बलुवाकोटमा भारतीय प्रहरीले फेला पारेको थियो । यस्तै, आइतबार नौगाड गाउँपालिका ६ धुलिगडाको खोला किनारमा नौगाड २ की १५ वर्षीया राधिका धामीको शव फेला परेको थियो ।

मार्मा गाउँपालिका १, घोल्जरमा मंगलबार बिहान घरभित्रै मृत अवस्थामा फेला परेका ठगुन्नाको शरीरमा चोट र घटनास्थलको प्रकृति हेर्दा हत्या आशंका गरिएको छ । घटनास्थल वरिपरि रगत भएकाले हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

गुल्जरको घोल्जरस्थित स्वास्थ्य चौकीका कार्यालय सहयोगीसमेत रहेका ठगुन्ना र सुस्त श्रवण भएका ७८ वर्षीय बुबा मात्रै भएको पारिवारिक स्रोतले जनाएको छ ।

मंगलबार बिहान ८ बजे प्रहरीलाई जानकारी भएको र राति सुतिरहेका बेला हत्या गरिएको आशंका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट २ प्रहरी निरीक्षकको नेतृत्वको टोली घोल्जर पुगेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र लटिनाथको टोली मंगलबार दिउँसो र जिल्ला प्रहरीको टोली सोमबार दिउँसो अबेर घटनास्थल पुगेको हो ।

प्रहरीले बुधबार बिहान घटनास्थलको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पताल ल्याएको दार्चुलाका डीएसपी नवराज अधिकारीले जानकारी दिए । ‘घटना निकै शंकास्पद देखिएपछि खलंगा, गोकुलेश्वर र लटिनाथबाट ठूलो संख्यामा प्रहरी परिचालन गरी अनुसन्धान थालिएको छ,’ उनले भने, ‘घटनाको बारेमा मंगलबारदेखि नै अनुसन्धान थालिएको र अहिलेसम्म प्रगति भने केही हुन सकेको छैन ।’ घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन भन्न सकिने अवस्था नरहेको उनले बताए ।

घटनास्थल पुगेको टोलीले बनाएको रिपोर्ट आइसकेपछि मात्र यसबारे यथार्थ जानकारी हुने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थल जिल्लाकै विकट र सञ्चारको पहुँच नभएको क्षेत्र भएकाले पछिल्लो जानकारी प्राप्त गर्न समस्या भइरहेको छ ।

त्यस्तै सोमबार बेलुका महाकाली नगरपालिका ४, बांगाबगडका १९ वर्षीय कोमल बुदियालको शव महाकाली नदी किनार पारिपट्टि भारतको बलुवाकोटमा भारतीय प्रहरीले फेला पारेको थियो ।

सोही दिन बिहान घरबाटै कोमल हराएको खबर परिवारले प्रहरीलाई गरेका थिए । उनको शव पोस्टमार्टमका लागि पिथौरागढ लगिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यसैगरी आइतबार नौगाड गाउँपालिका ६, धुलिगडाको खोला किनारमा नौगाड २ की १५ वर्षीया राधिका धामीको शव फेला परेको थियो । साउन अन्तिमतिर भीरबाट लडेर मृत्यु भएकी धामीको शव खोला किनारमा गाडेको र नदीले बगाएर लगेको हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ ।

धामीको शव गोकुलेश्वर अस्पतालमा सोमबारै पोस्टमार्टम गरिएको थियो । प्रहरीका अनुसार रिपोर्ट भने अझै आएको छैन । जिल्लामा आपराधिक घटना बढेसँगै स्थानीय बासिन्दा त्रसित छन् । जिल्ला प्रहरी कार्यालयले भने सुरक्षा संयन्त्र मजबुत बनाउँदै गएको बताए पनि आपराधिक घटनामा कमी आउन सकेको छैन ।

प्रकाशित : भाद्र ७, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?