खोलामा पानीको सहत बढेपछि यातायात बन्द- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलामा पानीको सहत बढेपछि यातायात बन्द

मनोज बडू

दार्चुला — महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडक खण्ड अन्तर्गत पर्ने काँकडा खोलामा पानीको सहत बढ्दा दुई दिनदेखि जिल्लाको यातायात ठप्प भएको छ ।

शुक्रबार रातिको अविरल वर्षाका कारण खोलामा पानीको सतह बढेको हो । सडकमा नै ठूलो खोला बग्दा जिल्लाबाट छोटो तथा लामो दुरीमा चल्ने यातायातका साधनहरु बाटोमै ठप्प भएका छन् ।


महाकाली नगरपालिका–८ स्थित काँकडा खोलामा पुल निर्माण हुन नसक्दा पानीको सतह बढ्ने वित्तिकै यातायात ठप्प हुने गरेको छ । ‘खोलाले सडक पुरै कटान गरेपछि यातायातका साधन चल्न सकेका छैनन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले भने, ‘खोलाले कटान गरेको ठाउँमा स्काइभेटर लगाएर सडक बनाउने काम भइरहेको छ ।’


काकँडा खोलामा पानीको बहाव बढी भएको र पानीले गल्छी बनाएको हुँदा बाटो अवरुद्ध भएको हो । उक्त स्थानमा प्रहरी र सशस्त्र प्रहरीको टोलीसँगै स्काईभेटर लगाएर यातायात संचालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


काँकडा खोलामा दुई वर्षदेखि मोटर पुल निर्माणाधीन छ । पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल अलपत्र परेको स्थानीयको आरोप छ । २०७२ सालमा आएको बाढीले उक्त खोलमा रहेको पुल बगाएको थियो । धनगढी, महेन्द्रनगर, काठमाडौंबाट जिल्ला भित्रिने तथा बाहिरिने लामो र छोटो दुरीका यातायातका साधनबीच बाटोमै रोकिएका छन् ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

दोरम्बा हत्याकाण्डका पीडित भन्छन्– ‘राहत टालेको लुगाझैं भयो’

कान्तिपुर संवाददाता

रामेछाप — दोरम्बा हत्याकाण्डको १५ वर्ष बित्यो । तर पीडितले अझै राहतको अनुभूति गरेका छैनन् । कमाउने व्यक्ति गुमाएका परिवारजनको मुखमा खुसी छचल्किएको छैन ।

पीडितहरू भन्छन्, ‘राहत त दियो तर कामै लागेन ।’नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार पहिलोपटक दोरम्बामा आयोजित सम्मान कार्यक्रममा सहभागी बने । कार्यक्रममा उनले दोरम्बा काण्डमा मारिएका आफन्तजनलाई सम्मान पनि गरे । देशमा भएको परिवर्तनमा दोरम्बामा बगेको रगतले उल्लेख्य भूमिका निभाएको कुरा उनले पटक–पटक व्यक्त गरे । त्यतिले पनि दोरम्बेलीको मनमा शान्ति आएको छैन ।

‘खोई हाम्रा लालाबालाको पालनपोषण कसले गरिदिने हो ?’ स्थानीय मिन्दो तामाङले भनिन्, ‘भन्न त यसअघि पनि फुरुक्क पारेकै हो , तर केही राहतको मससुस गरेका छैनौं ।’ उनले दोरम्बामा मारिएका २१ कार्यकर्ताका आश्रित अझै पनि सरकारको मुख हेरेर आशा गरिरहेको बताइन् । सरकारले दोरम्बाका पीडितहरूलाई पनि अरूसरह १० लाख रुपैयाँ दियो । तर त्यसको हिसाब मात्र आयो । पटक पटक पैसा दिएका कारण उक्त पैसा कतै लगानी गर्न पीडितले सकेनन् । छोराछोरी पढाउन, बिहेदान गर्न र लुगाफाटोमा मात्र खर्च भएर सकियो । ‘नेताहरू दोरम्बाको बेग्लै इतिहास भन्छन्,’ मेन्दो भन्छिन्, ‘तर हामीले बेग्लै अनुभूति गर्न पाएनौं । अरूभन्दा पृथक राहत पनि पाएनौं ।’

‘मेरो कुरा त यहाँ यति बेलासम्म सालिक बनाइसक्नुपर्ने थियो, अध्यक्ष दाहालले भुइँमा फूल चढाउने काम सुहाएन,’ २०६० साउन ३२ मा तत्कालीन शाही नेपाली सेनाबाट मारिएका डडुवाका चतुरमान थामीका छोरा भक्तबहादुर थामीले भने, ‘अरूभन्दा पनि दोरम्बामा मारिएका सबैको सालिक बनाउनुपर्‍यो ।’ ८ वर्ष अघिदेखि डाँडाकटेरीमा सहिद पार्क बनाउने कुरा ओझेलमा परेको छ । ‘यहाँ चिहान हो भनेर देखाउने हैन, को सहिद भयो भनेर जो कोहीले पनि सजिलै चिन्न पाउनुपर्‍यो,’ उनले भने ।

जुन उद्देश्य राखेर आफ्ना अगुवा युद्धमा होमिए त्यो कुराको उपलब्धि अझै हासिल नभएको थामीको भनाइ छ । भन्छन्, ‘भ्रष्टाचार उत्पात छ, असमानता उत्तिकै छ, रोजगारीको अभाव जटिल छ रु के यत्ति नै उपलब्धिका लागि माओवादीले लडाइँ लडेको हो र रु’ उनले सहिद परिवारलाई राज्यले हेर्ने दृष्टिकोण फेर्नुपर्ने बताए । उनले व्यवस्था परिवर्तन भए पनि पहिलेभन्दा फरक शासनशैली नभएकोमा चिन्ता लागेको बताए । ‘हाम्रो बाबुहरूको ज्यान बेकारमा गयो जस्तो लागेको छ,’ उनले भने, ‘यति धेरै रगत बगाएर ल्याएको व्यवस्थाले नागरिकको आशाबमोजिमको काम गर्न सकेन, अध्यक्ष दाहालले हामीलाई सम्झनेभन्दा पनि व्यवस्थापकीय सुधार गर्नुपर्छ ।’

दोरम्बामा मारिएका टेकबहादुर मगरकी पत्नी सत्तलीमाया मगर सम्मान ग्रहण गर्दा भावुक भइन् । ७ जनाको परिवार बनीबुतो गरेर पालेकी मगरले दाहालको अघिल्तिर केही बोल्न सकिनन् । ‘आँखा जुधें, बोल्ने आँट आएन,’ उनले भनिन्, ‘समय पाएको भए, दिनभर रोईकराई गर्ने थिएँ । ४ छोरासहित ७ जनाको पालनपोषण गर्दा सरकारले दिएको राहतको पैसा सकिएको उनले बताइन् । रोजगारी मुख्य कुरा रहेछ मगरले भनिन्, ‘सहिद परिवारलाई पैसा दिनुभन्दा रोजगारीको व्यवस्था गरिदिएको भए हुन्थ्यो ।’ सरकारले माओवादी युद्धका बेलामा हत्या र बेपत्ता भएका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ । दोरम्बा हत्याकाण्डका पीडितले पनि उक्त रकम पाइसकेका छन । ‘त्यो त्यति काम लागेन,’ उनले भनिन्, ‘पटक–पटक गरेर दिएको राहत टालेको लुगाझैं भयो, कामै लागेन ।’ खाँदै र व्यवहार टार्दै रकम सकिएकाले कुनै अर्थोपार्जनमा लगाउन नसकेको उनले सुनाइन् । मगर अहिले गाउँपालिकाकी वडा सदस्य छिन् ।

दोरम्बा हत्याकाण्ड भनेर चिनिएको उक्त घटनामा मारिएका सबैजनाको परिवारको पीडा उस्तै छ । कोही सम्पन्न परिवारका छैनन् । ग्रामीण क्षेत्रमा बसोबास गर्नेलाई गाँसकै लागि चटारो छ । कुखुरा पाठो बेचेर छोराछोरीलाई शिक्षा दिन धौधौ छ ।माओवादी युद्धमा रहेको बेला सरकारसँग दाङको हापुरेमा वार्ता हँुदै गर्दा दोरम्बा हत्याकाण्ड भएको थियो । दोरम्बामा एउटा बैठक र विवाह कार्यक्रममा भेला भएका माओवादी कार्यकर्ताहरूलाई सेनाले घेरेर डाँडाकटेरीमा लगी हत्या गरेको आरोपमा त्यस बेलाको वार्ता भाँडिएको थियो ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×