स्वास्थ्य बिमामा छ हजार आवद्ध

रासस

बैतडी — सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन् । 


जिल्लामा एक हजार १ सय ७९ परिवारका पाँच हजार ८ सय ६१ जना स्वास्थ्य बिमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी बिष्णु जोशीले जानकारी दिए। हालसम्म यस कार्यक्रमबाट रु ३४ लाख २९ हजार २९० रकम सङ्कलन भएको उनले बताए।

अघिल्लो आर्थिक वर्षमा ६ सय ४३ परिवारले बिमा गरेकामा १ सय ७५ परिवारले मात्रै नवीकरण गरेका छन्। जिल्लामा ०७३ पुस ७ देखि यो कार्यक्रम सुरु भएको हो।

उपचारक्रममा भोग्नुपर्ने कठिनाइ, जनचेतनाको कमी, भौगोलिक विकटता, स्वास्थ्य सेवा अभावलगायतका कारणले सोचेअनुरुपको काम हुन नसकेको उक्त बोर्डले जनाएको छ। जिल्लामा ८४ दर्ता सहयोगी परिचालित छन्। वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत् स्वास्थ्य बिमा गराउन सकिन्छ।

पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार दुई हजार ५ सय तिर्नुपर्ने र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य ४ सय २५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आवद्ध हुन सक्नेछन्। पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी भएमा एक लाखसम्मको सेवा पाइने प्रावधान छ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरङ्ग, प्रसुति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका लगाउने, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन्। गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा पैसाको अभावमा उपचार नपाउने गरीब, विपन्न नागरिकका लागि सरकारले विसं २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बिमा सुरु गरेको हो।

प्रकाशित : श्रावण ३१, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्

कर्मचारीमा राजनीतिक रङ

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजामती कर्मचारी संगठनका पदाधिकारीले आफूभन्दा माथिल्लो पदका कर्मचारीमाथि हातपात प्रयास गरेको घटना लाजमर्दो छ ।

सरुवाको सेटिङ तुरुन्तै नमिलाइदिएको झोँकमा कर्मचारी संगठनका पदाधिकारीहरू अराजक रूपमा प्रस्तुत हुनु विडम्बनापूर्ण छ । सरकारी निकायमा भएको यस खाले क्रियाकलापको गम्भीर छानबिन हुनुपर्छ । दोषी भए जोकोहीलाई कारबाही गरिनुपर्छ । राजनीतिक रङले पञ्चखत माफ गर्ने प्रवृत्ति रोकिनुपर्छ ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्