दिनहुँ प्रदर्शन

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडामा १३ वर्षीया किशोरी मृतावस्थामा भेटिएको दुई साताभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म घटनाका विषयमा कुनै जानकारीबाहिर आउन सकेको छैन । प्रहरीले हालसम्म अनुसन्धानको अवस्था शून्यमै रहेको जनाउँदै आएको छ ।

दिनहुँ प्रदर्शन

घटनाको अनुसन्धानमा भइरहेको ढिलाइका कारण महेन्द्रनगरमा दिनहुँ प्रदर्शन भएको छ । हत्यारा पत्ता लगाई कारबाही गरिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा दैनिक धर्ना र प्रदर्शन भइरहेको हो ।


आइतबार वर्षा भइरहेका बेला पनि स्थानीयले प्रदर्शनलाई निरन्तरता दिएका छन् । उनीहरूलाई ‘हत्यारालाई सार्वजनिक गर, शान्ति सुरक्षा कायम गर’ भन्दै नाराबाजी गरेका छन् ।

पीडित परिवार पनि प्रहरीले अनुसन्धानका नाममा हत्यारा उम्काउने खेल भइरहेको भन्दै आशंकित बनेको छ । ‘प्रहरीले अनुसन्धानमा निकै ढिलाइ गरिसक्यो,’ मृतक किशोरीका बुवाले भने, ‘कतै यो हत्यारा उम्काउने खेल त भइरहेको छैन ?’ उनले एक हप्तादेखि प्रहरीले एक/दुई दिनमै अपराधी सार्वजनिक हुने आश्वासनसमेत दिंदै आएको बताए । तर, अहिलेसम्म घटनाबारे कुनै तथ्य सार्वजनिक गरेको छैन ।

पीडित परिवारले आशंका गरेका व्यक्तिमाथिसमेत अनुसन्धान नभएको गुनासो गरेका छन् । ‘हाम्रो आशंका छोरी पढ्न गएकै घरका सदस्यमाथि हो,’ मृतकका बुवाले भने, ‘तर, उनीहरूलाई सामान्य सोधपुछ गरेर छाडिएको छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले घटनाको अनुसन्धानमा खासै प्रगति नभएको बताए । उनले जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको बताए ।

‘हामी अझै अपराधी नजिक पुग्न सकेका छैनौं,’ उनले भने, ‘बाहिरको दबाब निकै बढी छ, हामीलाई पनि दोषी पत्ता लगाउन नसक्दा अप्ठेरो भइरहेको छ ।’ उनले हालसम्म सोधपुछका लागि शंकास्पद ६० जनाभन्दा बढीलाई नियन्त्रणमा लिई छाडिएको बताए । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पनि अनुसन्धानमा खासै प्रगति नभएको जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?