१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अलमलमै योजना छनोट

स्थानीय तहहरूले असार १५ भित्र बजेट पारित गर्नुपर्ने नीतिगत प्रावधान छ 
मोहन शाही

डोटी — स्पष्ट बजेट सीमाको अभावमा स्थानीय तहका जनप्रतिनिधि अलमलमै योजना छनोटमा लागेका छन् । संघीय सरकारले बजेटको आकार स्थानीय तहहरूलाई दिए पनि प्रदेश सरकारले अहिलेसम्म बजेट ल्याएको छैन । अलमलकै बीचमा स्थानीय तहहरूले भने बस्तीस्तरबाटै योजना छनोट कार्य सुरु गरिसकेका छन् ।

अलमलमै योजना छनोट

‘झन्डै ८ करोड बजेट घटेर आएको छ,’ केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले भने, ‘प्रदेश सरकारले के गर्छ भन्ने आशामा छौं तर पनि ढिलो भइसकेकाले हामी योजना छनोट गर्न थालिसक्यौं ।’ उनले अहिले योजनाहरू संकलन गरेर मात्र राखिरहेको जानकारी दिए । ‘यर्थात् बजेट प्रदेश सरकारबाट पनि आएपछि योजनालाई प्राथमिकतामा राखेर अगाडि बढ्छौं’ शाहीले भने । केआई सिंहमा गत आर्थिक वर्षमा साढे २५ करोड रुपैयाँ आएकोमा यस पटक साढे १७ करोड मात्र आएको छ ।


शाहीको जस्तै अलमलमा छन्, बोगटान गाउँपालिका अध्यक्ष कमल गडसला । उनले प्रदेश सरकारबाट बजेट नआउँदा वडातहमा योजना आएर टेबलमा बसेको बताए । विगतभन्दा ६ करोड बजेट कम पाएको बोगटान गाउँपालिकाले सो बजेटको आपूर्ति प्रदेश सरकारबाट हुने आशा राखेका छन् । प्रदेश सरकारबाट बजेट थप नभएमा थुप्रै योजनाहरू छुट्ने गडसलाले बताए ।


स्थानीय तहहरूले असार १५ भित्र बजेट पारित गर्नुपर्ने नीतिगत प्रावधान छ । विगतमा योजना छनोटका १४ चरण भए पनि अहिले ७ चरण मात्र पूरा गर्नुपर्छ । बस्ती तथा वडातहबाट योजनाहरू अधिकांश स्थानीय तहहरूले संकलन गरिसकेका छन् । तर, वडातहमा पनि स्पष्ट बजेट सीमा तोक्न नसक्दा योजनाहरू प्राथमिकीकरण गर्न नसकेको केआई सिंह गाउँपालिकाका वडासचिव गौरीदत्त जोशीले बताए ।


निर्वाचित भएर आउँदा पहिलो वर्ष आएको बजेटको जनप्रतिनिधिहरूले सही सदुपयोग गर्न सकेका छैनन् । ठोस योजना र क्षेत्रमा लगानी गर्न चाहेका जनप्रतिनिधि ढिलो गरी आइरहेको बजेटका कारण निराश बन्दै गएका छन् । स्थानीयस्तरमा उनीहरू आफैंले समेत राजस्व संकलन गर्नसमेत सकेनन् । आगामी वर्षका लागि डोटीमा १ अर्ब ९४ करोड ५५ लाख बजेट संघीय सरकारले स्थानीय तहहरूलाई दिएको छ । यद्यपि यो वर्ष योजना छनोटमा चासो र उपस्थिति पनि विगतभन्दा भिन्दै छ । गाउँमा जनप्रतिनिधिहरूको उपस्थिति उल्लेख्य छ । अन्य दलका नेताहरू पनि योजना छनोटमा चासोसाथ उपस्थित भइरहेका छन् । ‘विगतमा दलका नेताहरू गाविस र जिल्लामै बसेर हामीले पठाएका योजना काटछाँट गरेर पठाउँथे,’ स्थानीय सूर्य भुलले भने, ‘गाउँपालिका अध्यक्ष आफैं पुग्नुभएको छ, जनतासँगै योजना छनोटका लागि आउँदा हामीलाई पनि विगतझैं योजना काटछाँट होला भन्ने डर छैन ।’


विगतभन्दा योजना मागको संख्या
ह्वात्तै बढेको छ । वन्यजन्तुबाट हुने खेतीपाती जोगाउनुपर्नेदेखि घरघरमा पक्की सडक, विद्युत्, खानेपानीका माग बढी आइरहेको जनप्रतिनिधिहरू बताउँछन् ।


आगामी आर्थिक वर्षका लागि स्थानीय तहहरूले कृषि र पर्यटनमा बढी लगानी गर्नेगरी योजना माग्न स्थानीयवासीलाई आग्रह गरेका छन् । कृषिलाई केआई सिंह, बोगटान, जोरायल गाउँपालिकाले प्राथमिकता राखिरहेका छन् । पूर्वीचौकी, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाले पर्यटनमा बढी जोड दिएका छन् । साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका ४ का वडाअध्यक्ष वीरेन्द्र शाहले गत वर्षको अधिकांश बजेट सडकमा लगानी गरेको बताए । ‘टोल टोल छिरेर योजना ल्याउने प्रयास गरिएको छ, यो वर्ष ठोस योजना बनाउने प्रयासमा छौं,’ वडाअध्यक्ष शाहले भने, ‘विगतका जस्तो योजनाहरू छर्ने, टुक्राटुक्रामा लगानी गर्ने कुरालाई सक्दो व्यवस्थापन गर्ने अभ्यास थालिएको छ ।’ उनले बजारमा भएको खानेपानी अभाव, रमाइलो पार्कलगायतका क्षेत्रमा लगानी गरिने बताए ।


उता खप्तडको सिमानासँग जोडिएको पूर्वीचौकी गाउँपालिकाले स्थानीयको आयस्रोत बढाउन होम स्टे सञ्चालन गर्ने योजना अगाडि ल्याएको छ । ‘योजनाहरूको विगतझैं निरन्तरता भए पनि केही नयाँ पनि ल्याइएका छन्,’ पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घबहादुर बोगटीले भने, ‘खप्तडमा आउने पर्यटकलाई आकर्षण गर्न होम स्टे सञ्चालन, गाइडहरूलाई तालिम सञ्चालन गर्ने सोच छ ।’ होटल व्यवसायी संघ डोटीका अध्यक्ष दीपक खड्काले गाउँपालिकाको सो निर्णयले होटल व्यवसायी र स्थानीयलाई खुसी पारेको बताए । विगतका वडाहरूलाई यो वर्षबाट टोलका रूपमा र साबिकका गाविसहरूलाई वडाका रूपमा लिएर योजना छनोट भइरहेका छन् ।

३५ प्रतिशत बजेट विगतमा लक्षित वर्गहरूका लागि विनियोजन गरिएको भए पनि अहिले स्पष्ट प्रावधान छैन । यद्यपि लक्षित वर्गका लागि जनप्रतिनिधिहरू बजेट विनियोजनका लागि संवेदनशील हुनुपर्ने जिल्ला समन्वय समिति डोटीका उपसंयोजक शशि सोपले बताइन् । ‘अहिले ६ विषयगत क्षेत्रमा बजेट विनियोजन गरी योजना छनोट गर्नुपर्ने हो,’ उपसंयोजक सोपले भनिन्, ‘योजना छनोट गर्दा लक्षित वर्गलाई पनि ध्यान दिएर ल्याउनुपर्ने जनप्रतिनिधिहरूको दायित्व हो ।’ डोटीमा २ नगरपालिका र ७ गाउँपालिकाका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?