१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

फलाम खानी निरीक्षण: स्थानीयमा पलायो आशा

वसन्तप्रताप सिंह

बझाङ — खानी तथा भूर्गभ विभागबाट आएको भूगर्भविद्को टोलीले यहाँको फलाम खानीको निरीक्षण गरेको छ । विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखा प्रमुख रामप्रसाद घिमिरेसहितको टोलीले तल्कोट गाउँपालिकाको भोपुर–रुवातोला सडकको बयालधार खन्डमा फलाम खानीको निरीक्षण गरेको हो ।

फलाम खानी निरीक्षण: स्थानीयमा पलायो आशा

चैनपुर–ताक्लाकोट सडकमा पर्ने साबिक सुनिकोट गाविसको सेरागाउँदेखि धमेनाको कुँवर गाउँसम्मको करिब ३ किलोमिटर क्षेत्रका ठाउँठाउँमा फलामजस्ता ढुंगा भेटिएपछि टोली आएको हो । फलाम खानीका बारेमा कान्तिपुरमा समाचार प्रकाशित भएको थियो ।


‘ठूलो क्षेत्रफलमा फलामको सम्भावना देखिएको छ,’ स्थलगत निरीक्षणपछि विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्काले भने, ‘त्यहाँ कति फलाम डिपोजिट छ भन्ने कुरा विस्तृत परीक्षणपछि मात्र भन्न सकिन्छ ।’ उनले जिल्लाका अन्य ठाउँमा पनि फलाम खानीको सम्भाव्यता रहेको जानकारी दिँदै सबै खानीको सम्भाव्यताबारे विभागले अध्ययन गर्ने बताए ।


खानीबाट फलामे ढुंगाका विभिन्न नमुना संकलन गरिएको र ती नमुनाको परीक्षणपछि कति प्रतिशत फलाम रहेको छ भन्ने कुरा पत्ता लगाइने विभागका उपमहानिर्देशक तथा खनिज सम्पदा महाशाखाका प्रमुख घिमिरेले बताए ।


‘खानीमा भएका कच्चा ढुंगामा ५० प्रतिशतभन्दा बढी फलामको मात्रा भेटिएमा व्यावसायिक हिसाबले खानी सञ्चालनका लागि सिफारिस गर्न सकिन्छ । यो खानी सञ्चालनयोग्य छ कि छैन भन्ने कुरा प्रयोगशालाको प्रतिवेदन आइसकेपछि मात्र भन्न सकिन्छ,’ उनले भने ।


५० प्रतिशतभन्दा कम मात्रामा फलाम भेटिएमा पनि फलामे ढुंगा सिमेन्ट कारखानामा उपयोग गर्न सकिने उनको भनाइ छ । साबिकको धमेना गाविसमा पर्ने बयालधार डाँडामा रहेको यो फलाम खानीबाट करिब ६५ वर्ष पहिलै स्थानीयले परम्परागत तरिकाले उत्खनन गर्दै आएका थिए । खानीबाट कच्चा फलाम निकालेर यहाँका लुहार जातिले प्रशोधन गर्थे । त्यसबेला फलाम प्रशोधन गरेर निर्माण गरेका कृषि औजार, विभिन्नखाले हतियार र घरायसी प्रयोगका लागि बनाइएका भाँडा हालसम्म पनि स्थानीयले प्रयोग गर्ने गरेको पाइएको छ । खानीबाट फलाम झिकेर आफैं प्रशोधन गरेका तल्कोट गाउँपालिका–१ भाटगाउँका थोल्या कामीका अनुसार खानी प्रयोग गरेबापत लुहार मुखियाले तत्कालीन बझाङ राज्यलाई तिर्नुपर्ने कर तिर्न नसकेपछि खानी प्रयोगमा बन्देज लगाइएको थियो ।


‘मेरै हातले फलाम झिकेर ल्याएर पगाल्ने र भाँडाकुँडा बनाउने काम गरेको छु,’ ८० वर्षीय उनले त्यो बेलाको फलाम प्रशोधन गर्ने प्रविधिको चर्चा गर्दै भने, ‘एउटा भट्टी हुन्थ्यो । त्यसमा फलाम ढुंगालाई फुटाएर साह्रो गोल (बाँझको रूख बालेर बनाइएको कोइला) मा राख्नुपथ्र्यो । ४ तिरबाट छालाको खलाँतीले चार जनाले धुनु (फुक्नु) पथ्र्याे । एक जनाले लामो सनासोले फलाम चलाइराख्नुपथ्र्यो । फलाम तातिएपछि पग्लेर भट्टीको तल राखिएको भाँडोमा चुहिन्थ्यो । त्यसैलाई आरनमा पिटेर चाहेको सामान बनाउने गरिन्थ्यो ।’ यहाँको फलाम एकदमै गुणस्तरीय भएको र आयातित फलामभन्दा सजिलै चाहिएको कृषि औजार, हतियार वा भाँडाकुँडा बनाउन सकिने खालको रहेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २१, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?