पौरखी धर्मसिंह

मोहन शाही

डोटी — कामको खोजीमा १४ वर्षको उमेरमा भारत पसेका थिए, डोटीका धर्मसिंह धामी । कमजोर आर्थिक स्थिति त्यसैमा पनि मुटुको भल्भ नै फेर्नुपर्ने अवस्थाका बिरामी । जति सहज सम्झेका थिए भारतको मजदुरी पेसा, त्यो भन्दा कैयौं गुणा बढी उनले दु:ख झेले ।

सतनाम फुड प्रोडक्सनमा काम गर्दै धर्मसिंह धामी । तस्बिर: मोहन

मुटुसम्बन्धी रोगी भए पनि उनको आत्मबल र पौरखी स्वभावले विगतको अवस्थाले अहिले फन्को मारेको छ । अहिले उनी आफ्नै जिल्लामा उद्योगीका रूपमा स्थापित भइरहेका छन् । केही परिवारको गुजारा चलाउन सक्ने रोजगारदाताका रूपमा उभिएका छन् । विगतमा शारीरिक र आर्थिक अवस्थाबाट दिक्क हुनेहरू आजभोलि उनको प्रगति देखेर इष्र्या गरिरहेका छन् ।

४७ वर्षको उमेरमा आइपुग्दासम्म समाजमा बेग्लै पहिचान त्यसै बनेको भने होइन । सयौं घटना परिघटना मिसाएर सफल कथा बनेको छ, उनको जीवन । जिल्लामा स्थापित भएको सतनाम फुड प्रोडक्सनका मालिक भइसकेपछि भावुक मुद्रामा संघर्षका घटना सम्झँदै उनले यसरी सुनाए आफ्ना कथा व्यथा ।उनले १४ वर्षसम्म भारतमा मजदुरी गरे ।

कहिले चौकीदारी, कहिले कम्पनीमा त कहिले मजदुरीको काम गरे । सामान्य लेखपढ गरेका उनले मजदुरीबाहेक अरू काम पाउन सकेनन् । मजदुरी गर्दागर्दै बिहे पनि गरे । भारतको झारखण्डमा माइत भएकी अनिताले धामीलाई जीवनसाथीका रूपमा साथ दिइन् । अनिता पनि मजदुरी गर्थिन् । मजदुरका दु:खपीडा अनिताले पनि नजिकबाट नियालेकी थिइन् । दुवैको कमाइ जोडेर पनि धर्मसिंहको उपचार खर्च जुटाउन मुस्किल भयो । मुटुको भल्भ फेर्नुपर्ने अवस्था आउँदा पनि गतिलो आम्दानी धामी दम्पतीले गर्न सकेनन् ।

भारतको मजदुरीले नपुग्ने भएपछि धामी निराश भएर डोटीको पूर्वीचौकी गाउँपालिकाको वनलेक थप्सास्थित घर फर्के । फर्किंदा अनितालाई पनि सँगै ल्याए । दुवैले गाउँमै सानो पसल खोले । प्रगति खासै भएन । उधारोले गाउँको व्यापार फस्टाएन । तरकारी खेती गरे । बजार नहँुदा फलेका तरकारी पनि बारीमै कुहिए ।

के गर्ने, कसो गर्ने ? धामीको दम्पतीलाई समस्या र चुनौतीले थिच्न थालिसकेको थियो । तर पनि दुवैले हिम्मत हारेनन् । मागी खानुभन्दा गरी खानु जीवनको मूल मन्त्र थियो । दुवै जना ०५६ सालमा साबिकको क्षेत्रीय सदरमुकाम रहेको दिपायल राजपुरमा नास्ता पसल खोल्न आए ।

भारतको मजदुरीदेखि गाउँसम्मको संघर्षले अब व्यापार कसरी गर्ने भन्ने अनुभव धामी दम्पतीले बुझिसकेको थियो । राजपुरमा केही नयाँपन ल्याउनुपर्छ भन्ने सोचे । सानो टिनको छाप्रो बनाएर उनले धनगढीबाट चाउमिन ल्याएर पकाउन सुरु गरे । त्यतिबेला डोटीमा चाउमिन पकाउने पसल थिएनन् । पसल नजिकै विद्यालय थियो । सुरु सुरुमा बेग्लै स्वाद भएकाले नास्ता पसल सानै भए पनि फस्टायो । तर धनगढीबाट चाउमिन ल्याउँदा ल्याउँदै कुहिने, सड्ने र खराब हुने समस्याले उनी चिन्तित भए । बरु केही महिनापछि उनले पलियाबाट चाउमिन बनाउने मेसिन किनेर ल्याए ।

मेसिन किनेर त ल्याए दु:ख भने हटेन । राति दुई बजे उठेर चाउमिन बनाउनुपर्ने भो । एक किलो चाउमिन तयार गर्न दुई घण्टा काम गर्नुपर्ने भो । सानो मेसिन भएकाले थोरै उत्पादन भए पनि ग्राहकले सन्तुष्टि लिन थाले । व्यापार बढ्न थाल्यो ।

उनले यतिले मात्र चित्त बुझाउन सकेनन् । जिल्लाका अन्य ठाउँमा पनि चाउमिनको व्यापार बढाउने सोचमा लागे । उनले २ लाख मूल्य पर्ने ठूलो मेसिन किनेर ल्याए । त्यसबाट चाउमिन उत्पादन बढ्यो । उनले जिल्लाभरि सतनाम चाउमिन नाम दिएर होटलमा पुर्‍याउने काम गरे । ‘अन्य होटल व्यवसायीले पनि उनलाई साथ दिए । मैले ताजा, सफा र शुद्ध चाउमिन दिएपछि सबै होटल व्यवसायीले मेरो चाउमिन राखिदिनुभयो,’ धर्मसिंह धामीले खुसी प्रकट गर्दै भने, ‘बाहिरबाट आयात हुने चाउमिन ठप्प भयो, मेरो ब्रान्ड जिल्लाभरि फैलियो ।’

चाउमिनको व्यापारसँगै उनले ०६९ सालमा ससको पनि कारोबार सुरु गरे । उनले आफैं सस बनाएर बेचे । ससको कारोबारले सानो छाप्रोमा रहेको उनको व्यवसाय साँघुरो हुन थाल्यो । माग बढ्दै गए पनि उनी आपूर्ति गर्न नसक्ने भए ।

प्रकाशित : वैशाख ३१, २०७५ ११:१६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फेरियो दलित बस्ती

मोहन शाही

डोटी — कुनै बेला अर्काको गाडी चलाएर गुजारा चलाउँथे, गणेश नेपाली । जोरायल गाउँपालिकाको छतिवनस्थित सेलागाउँका गणेश अहिले भने मौरीपालन गरेर अरूलाई रोजगारी दिने भएका छन् ।

डोटीको जोरायल गाउँपालिकाको सेलागाउँको एक घरमा राखिएका मौरी घार । तस्बिर : मोहन

१५ वर्षको कलिलो उमेरबाटै सवारी चालकको जिम्मेवारी सम्हालेका उनले आर्थिक अवस्था सबल बनाउन ठूलो संघर्ष गरे । केही समय तरकारी खेती गरेका गणेश अहिले मौरीपालनबाट सफल किसानमा दरिएका छन् ।

सुरुवातमा परम्परागत ‘खोपे घार’ बाट मौरीपालन सुरु गरेका गणेश अहिले आधुनिक रूपमा मह उत्पादनमा जुटेका छन् । मौरीपालनबाट उनको आर्थिक अवस्था मात्रै सुध्रिएको छैन, अरूले जिल्लाकै सफल किसानमा रूपमा चिन्न थालेका छन् । ०७० बाट उनी व्यावसायिक मौरीपालनमा जुटेका हुन् । त्यसयता मह बिक्री गरेरै वार्षिक डेढ लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।

गणेशका छिमेकी बलबहादुर सार्की र जितबहादुर सार्कीले पनि मौरीपालन थालेका छन् । बलबहादुर मौरीकै आम्दानीबाट छोराछोरी पढाइरहेका छन् । जितबहादुरलाई घर गुजारा गर्न निकै सहज छ । दलित समुदायको बसोबास रहेको सेला बस्तीका १५ परिवार अहिले आधुनिक मौरीपालन व्यवसायमा लागेका हुन् । अधिकांशको आयस्रोत नै महपालन बनेको छ । प्रत्येकका घरमा ८/१० आधुनिक मौरी घार छन् । वर्षमा दुईपटक निकालिने महबाट एक परिवारले ५० हजारभन्दा बढी कमाउँछन् । ‘नुनतेलका लागि अरूको मुख ताक्नुपर्ने अवस्था छैन,’ जितबहादुरले भन्छन्, ‘केही काम गर्ने इच्छा, केही ज्ञान सीप भए सफल भइँदो रहेछ ।’ घरघरमा देखिने मौरी घारले सेलागाउँ अहिले फेरिएको छ । ‘आँगन र बारीमा राखिएका मौरी घारले गाउँ पनि सुन्दर देखिन्छ,’ गणेश भन्छन्, ‘हामीमा यसले सामाजिक भावनाको पनि विकास गरेको छ ।’

समैजी कृषक समूह गठन गरेर सेलागाउँका दलित परिवारले मौरीपालन सुरु गरेका हुन् । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको अनुदान सहयोगमा व्यवसायमा लागेका हुन् । आयोजनाबाट प्रत्येक परिवारलाई ५ वटा मौरी घारसँगै आवश्यक अन्य सामग्री वितरण गरिएको थियो । मौरीपालन व्यवसाय, कृत्रिम तरिकाले गोला विभाजन, गोला संयोजन, कीराको उपचारबारे तालिम दिइएको थियो । चिनी चास्नी खुवाउने तरिका, रानो मौरी उत्पादन गर्ने तरिका, मह प्रशोधन र बजारीकरण जस्ता प्रविधिबारे जानकारी पाएपछि किसानहरू मौरीपालनप्रति आकर्षित भएको त्यस क्षेत्रमा कार्यरत कृषि प्राविधिकले बताए । आयोजनाको सेवा प्रदायक संस्था केदार ग्रामीण विकासका कृषि प्राविधिक इन्द्रबहादुर सार्कीका अनुसार आर्थिक र सामाजिक रूपमा पिछडिएको समुदायका लागि मौरीपालन आयआर्जनको राम्रो स्रोत बनेको छ ।

‘म व्यावसायिक रूपमा मौरीपालनमा लाग्ने अवसर पाउनु नै मेरो ठूलो सफलता हो,’ गणेश भन्छन्, ‘ढिलो, चाँडो यसलाई पेसाकै रूपमा अँगाल्दै थप विस्तार गर्न प्रतिबद्ध छु ।’ छोराछोरी पढाउन र घर खर्च धान्न निकै सजिलो भएको अनुभव उनले सुनाए । एक घारबाट ७ देखि १० केजीसम्म मह उत्पादन हुने गरेको छ । गाउँमै १ केजी मह ५ सयमा बिक्री भइरहेको छ । गाउँबाहिर पुर्‍याएमा प्रतिकिलो ७ सयसम्ममा बिक्री हुन्छ । सामूहिक रूपमा मह संकलन गरेर बिक्री गरिन्छ । संकलनको जिम्मेवारी गणेशले नै लिएका छन् । उनी धनगढी र महेन्द्रनगरका व्यापारीलाई बेच्ने गर्छन् ।

प्रकाशित : वैशाख २९, २०७५ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×