कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अजयमेरु प्रदेशकै पहिलो इ–गाउँपालिका हुँदै

डीआर पन्त

डडेलधुरा — जनप्रतिनिधि र कर्मचारीमा काम गर्ने इच्छाशक्ति, इमान्दारिता अनि उत्साह भयो भने छोटो अवधिमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा दरिएको छ दुर्गममा रहेको अजयमेरु गाउँपालिका । 

अजयमेरु प्रदेशकै पहिलो इ–गाउँपालिका हुँदै

आउँदो आर्थिक वर्ष अगावै ‘इ’ गाउँपालिका बन्ने तयारीमा रहेको अजयमेरुमा स्थानीय तह निर्वाचनलगत्तै उल्लेख गर्न सकिने उत्साहजनक विकास भएको छ । गाउँपालिकाभित्रका सबै सरकारी/गैरसरकारी कार्यालय, गाउँपालिकामा रहेका सबै विद्यालय र स्वास्थ्य संस्थालाई इन्टरनेट प्रविधिमा जोडेर गाउँपालिकाको प्रत्यक्ष निगरानीमा सेवा प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ‘इ–गाउँपालिका निर्माणका लागि आवश्यक पूर्वाधारको तयारी सुरु भएको छ,’ गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज पौडेलले भने, ‘अझै धेरै काम गर्न बाँकी रहे पनि आउँदो आर्थिक वर्षअगावै हामी इ–गाउँपालिका निर्माण गरिसक्छौं ।’

‘७ नं. प्रदेशको मात्र नभई सम्भवत: देशकै पहिलो इ–गाउँपालिका बन्ने तयारीमा छ अजयमेरु गाउँपालिका,’ स्थानीय समाजसेवी मदनराज भट्टले भने, ‘जनप्रतिनिधि आएपछि विकास हुन्छ भन्ने मान्यता यो गाउँपालिकाले व्यवहारमा उतारेको छ ।’ स्थानीय रामप्रसाद जोशीले पनि गाउँपालिकाले छोटो अवधिमा केही गर्न सकिन्छ भन्ने विश्वास गराएको बताए । जोशीले भने, ‘सडक, खानेपानी, सिँचाइ, बिजुली र नमुना विद्यालय निर्माणको काम जसरी अगाडि बढेको छ, यसले यो गाउँपालिकाले चाँडै उन्नति गर्न सक्छ भन्ने सर्वसाधारणमा आशा पलाएको छ ।’

गाउँपालिकाभित्रका सबै कार्यालयमा इ–हाजिरी त फागुनबाटै सुरु गर्ने गरी सबै ठाउँमा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको कार्यकारी अधिकृत पौडेलले बताए । उनले भने, ‘इ–गाउँपालिकाको तयारी अन्तिम चरणमा पुगेको छ, हाजिरी मात्र होइन, गाउँपालिका कार्यालयसँग हरेक कार्यालयको प्रत्यक्ष इ–सम्बन्ध हुनेछ । पौडेल भन्छन्, ‘गाउँपालिकामा बसेर हरेक कार्यालयका कामकारबाहीको प्रत्यक्ष निगरानीसमेत गर्न सकिनेछ ।’

दुई दशकसम्म १२ करोडभन्दा बढी बजेट खर्च भएर निर्माण हुन नसकेको अनारखोली–बजकोट सडकमा ६ महिनामै मोटर गुड्न थालेको छ । १२ करोड खर्च भएर बन्न नसकेको उक्त सडक २५ लाखमै निर्माण भएको हो । ०५४ मा निर्माण सुरु भएको अनारखोली–बजकोट सडकमा १८ वर्षसम्म लगातार १२ करोडभन्दा बढी बजेट खर्च भइसकेको थियो । पछिल्लो ६ महिनामा मात्र गाउँमा १६ वटा नयाँ सडक बनेका छन् । साबिकका ५ गाविस मिलेर बनेको गाउँपालिकाका अधिकांश वडा र गाउँमा मोटर गुड्न थालिसकेको छ । हरेक गाउँ र वडालाई सडक सञ्जालमा जोडेपछि गाउँपालिकाले सम्भावना भएका कृषि खेतीका लागि स्थानीय कृषकलाई अभिमुखीकरण गर्ने तयारी सुरु गरेको छ ।

‘अर्को आर्थिक वर्षमा कुन गाउँमा के उत्पादन गर्ने भन्ने निश्चित गरेर त्यही अनुसार कृषकहरूलाई व्यावसायिक तालिम दिइनेछ,’ कार्यकारी अधिकृत पौडेलले भने, ‘उत्पादनको बजार व्यवस्थापन, प्राविधिक सहयोग र प्रत्यक्ष निगरानी गाउँपालिकाले गर्नेछ ।’ कृषकलाई चाहिने आवश्यक अनुदानको समेत व्यवस्था गर्ने तयारी गाउँपालिकाले गरेको छ । सानासाना सिँचाइ योजना निर्माण, ठूला सिँचाइ योजनाको मर्मतसम्भार गरी पुन: सञ्चालनमा ल्याउने र पानीका स्रोतहरूको उचित व्यवस्थापनको कामलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेकोमा स्थानीय कृषकहरू खुसी भएका छन् ।

स्वाथ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ । प्राय: सबै वडामा अत्याधुनिक ल्याब स्थापना भएका छन् । ४० वटा रोग परीक्षण हुने ती ल्याब साबिकका सबै स्वास्थ्य चौकीमा स्थापना भएका हुन् । महँगो शुल्क तिरेर रोग पत्ता लगाउन सदरमुकाम या धनगढी पुग्नुपर्ने बाध्यताबाट गाउँलले मुक्ति पाएका छन् । गाउँमै सहज स्वास्थ्य सेवा सुरु गरिएको छ । स्वाथ्य चौकीहरूलाई सुविधासम्पन्न बनाउन गुरु योजना बनाइएको छ । अहिलेसम्म दयनीय रहेको स्वास्थ्य संस्थाको प्राविधिक र भौतिक क्षमतामा वृद्धिका लागि काम सुरु भइसकेको गाउँपालिका अध्यक्ष उमेश भट्टले जानकारी दिए । उनले भने, ‘स्वास्थ्य, शिक्षा, सडक र कृषि उत्पादन पहिलो प्राथमिकतामा राखेर हामीले योजना तर्जुमा गरेका छौं ।’

‘प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्मका हरेक विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरिएको छ,’ गाउँपालिका प्रमुख उमेश भट्टले भने, ‘अर्को आर्थिक वर्षदेखि तत्काललाई एउटा वडामा एउटा अंग्रेजी माध्यमको सामुदायिक विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ त्यसका लागि चाहिने आवश्यक तयारी सुरु गरिएको उनले बताए । भट्टले भने, ‘शिक्षक–शिक्षिकालाई आवश्यक प्रशिक्षण सुरु गरिसकिएको छ ।’ अहिलेलाई प्रत्येक वडामा एउटा नमुना विद्यालय हुनेछ । प्रमुख भट्टले भने, ‘साबिकका सबै वडामा एक/एक वटा नमुना विद्यालय स्थापना गर्ने लक्ष्यअनुरूप काम गरिरहेका छौं ।’

प्रकाशित : माघ २८, २०७४ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?