रुकुम पश्चिम — गत बुधबार आफ्नै घरमा मृत फेला परेकी सानीभेरी गाउँपालिका–४ लामाचौरकी ४९ वर्षीया शुसिला मल्लको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका चौरजहारी नगरपालिका–११ का २३ वर्षीय प्रेम मल्ललाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
गत बुधबार बिहान ८:१५ बजेको समयमा मल्ल आफ्नै घरको तल्लो तलाको पश्चिमतर्फको कोठामा मृत फेला परेकी थिइन् । यही सुचनाका आधारमा अनुसन्धान गर्दा प्रेम मल्लको संलग्नता रहकेो खुलेको जिल्ला प्रहरी प्रमुख नवराज पोखरेलले जानकारी दिए ।
शुसिला हत्याको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी पोखरेलको कमाण्डमा प्रदेश प्रहरीसहितको विशेष अनुसन्धान टोली परिचालन गरेको थियो । प्रहरीका अनुसार मृतक शुसिला मल्ल र प्रतिवादी प्रेम मल्लबीच डेढ वर्षदेखि सम्बन्ध भएपनि विवाहको विषयमा कुरा नमिलेपछि विवाद हुँदा हत्या भएको हो ।