कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

जुम्लाका युवाहरू सिमलाका स्याउबारीमा

श्रावण २६, २०८१
जुम्लाका युवाहरू सिमलाका स्याउबारीमा

Highlights

  • स्याउ टिप्न भ्याइनभ्याइ

जुम्ला — जुम्लाको सिंजा–६ का मीमबहादुर रावतले अहिले भारतको सिमलामा धमाधम स्याउ टिपिरहेका छन् । सिमलाको स्याउ बगैंचादेखि स्याउ टिप्न आउनुपर्ने फोन आएपछि उनी गत साउन ३ मा दर्जन बढी युवाहरू लिएर स्याउ टिप्न सिमला पुगेका हुन् ।

स्याउको टिपाइ, ग्रेड्रिङ र प्याकेजिङमा व्यस्त मीमबहादुर स्याउ टिपेर बजारमा पठाइसकेपछि मात्र घर फर्किने योजनामा छन् । अधिकांश कर्णालीबासी कुल्ली काम गर्न भारततिर जाने गरेकामा उनी भने बर्सेनि स्याउ टिप्न सिमला गइरहन्छन् । उनले सिमलामा स्याउ मात्र टिपिरहेका छैनन्, स्याउको खेती प्रणाली र बजार भाउसमेत राम्रोसँग बुझिरहेका छन् ।

हुन त जुम्ला पनि स्याउको जिल्ला हो । तर जुम्ली स्याउले बजार लिन नसकेको, रोगकिराको संक्रमण बढेकाले उत्पादन घटिरहेको र सरोकारवालाहरू जुम्ली स्याउप्रति उदासिन देखिएको देख्दा उनी दिक्क मान्छन् । ‘हामीकहाँ त स्याउ ओसार्ने सडक नै छैन,’ सिमलाबाट टेलिफोन सम्पर्कमा उनले भने, ‘स्याउ बगैंचा मात्रै भएर केही हुनेवाला छैन । त्यही भएर स्याउ टिप्न सिमला नै हाम्रालागि उपयुक्त छ ।’

यो सिजनमा स्याउले सिमला राताम्य छ । ‘सिंगो सिमला अहिले स्याउको टिपाइ र बजारीकरणमा होमिएको छ,’ उनले भने, ‘सिमला छँदा घरमै स्याउ बगैंचा बनाएर बसौं जस्तो लाग्छ तर घर फर्किंदा स्याउप्रति कसैको चासो नदेख्दा उदेक लाग्ने गर्छ ।’ आफूलाई हरेक वर्ष स्याउ व्यवसायीले फोन गरेर बोलाइरहने उनी सुनाउँछन् । उनी पनि दर्जनौं युवा लिएर स्याउ टिप्न पुग्छन् । उनीहरूलाई स्याउ टिप्न तीन महिना लाग्छ । दसैंमा उनीहरू केही पैसा कमाएर घर फर्किने गरेका छन् ।

सिंजाकै रबिन बुढा अध्ययन छाडेर स्याउ टिप्न सिमला हानिएका छन । दुई महिना स्याउ टिपेर पढाइ खर्चको जोहो गरेर घरफर्किने अवस्थामा छन । उनले भने,‘जुम्लामा हजारौं स्याउ बगैंचा छन् । स्याउ टिप्ने काम पाइदैन् । त्यही भएर स्याउको हरेक सिजनमा भारतको सिमला जाने गरेका छौं । ’

भारतको हिमाञ्चल प्रदेशमा पर्ने सिमलास्थित स्याउ बगानका मालिकबाट निरन्तर फोन आएपछि मीमबहादुर रबिन मात्र नभइ गाउँका झण्डै दुइ दर्जन युवाहरू सिमला पुगेका छन । ‘स्याउ पाक्न लाग्यो, टिप्ने बेला भो, छिटो आउनुपर्‍यो, भन्दै मालिकले बलाउन थाले,उनले भने,‘हामी पनि युवाहरू लिएर सिमला पुग्यौं ।’

गत साउन ३ गते नै उनीहरूले घर छोडे । उनीहरू संगै कर्णालीका हुम्ला,जुम्ला,कालिकोट,मुगु र डोल्पाका युवाहरू पनि स्याउ टिप्न सिमला पुगेका छन । साउन देखि कात्तिक सम्म स्याउ टिप्न व्यस्त भइन्छ । उनीहरूको काम स्याउ टिप्ने,खाडल खन्ने र स्याउ गाडीमा लोड,अनलोड गर्ने हुन्छ ।’ पहिले स्याउको ग्रेडिङ पनि युवाहरूले नै गरिरहेका हुन्थे । अहिले मेसिनको प्रयोगले ग्रेडिङ र प्याकेजिङ हने गरेकोले टिप्ने र बोक्ने काममा बढि खटिनु पर्छ ।

गाउँमा रोजगारीका अवसर छैनन् । क्षणिक रूपमा हुने विकास आयोजनाका कामले परिवारको पेट पाल्न सकिदैन्,‘रबिनले भने,‘पेट त भारतले पालिरहेको छैन । ’ उनीहरू एक महिनामा न्युनतम २५ देखि ३० हजार रुपैयाँ सम्म कमाइरहेका छन ।

ब्यापार तथा कुल्ली कामको लागि भारत जाने युवाहरू अहिले स्याउको सिजनमा मात्र स्याउ टिप्न जाने गरेका छन । घर खर्च र पढाइ खर्च जुटाउनकै लागि भएपनि भारत जानुको विकल्प छैन । एक जनाले स्याउ टिपेको मात्रै दैनिक साढे ५ सय रुपैयाँ सम्म कमाउने गरेका छन् । दुरीका आधारमा क्यारेट बोक्दा उनीहरूले प्रति क्यारेट ५ देखि १० रुपैयाँसम्म कमाउँछन् ।

उनीहरू एकै जनाले एक दिनमा पचास देखि एक सय क्यारेट भन्दा बढि बोक्ने गर्छन् । एक दिनमा तीन सय क्यारेट सम्म स्याउ टिपिरहेका हुन्छन् । ‘महिनामा २०/२५ हजार भारु जोगिन्छ,'मीमबहादुरले थपे, ‘कोही दसैंमा फर्कन्छन्, कोही तिहारसम्मै काम गर्छन् । स्याउ टिपेर कमाएको रकम भेडा तथा बाख्रापालनमा खर्चिने गर्छन् ’

कर्णाली प्रदेशका कामदारका लागि सिमला पुरानै रोजगारको गन्तव्य मानिन्छ । वर्षायाममा खेतीपातीको काम सकेपछि दसैंसम्म बेरोजगार युवा स्याउ टिप्न भारतको सिमला जाने चलन छ । दसैंतिहारका लागि घर फर्केकाहरू पनि जौ र गहुँ छरेर फेरि सिमलातिरै फर्किन्छन् । उनीहरूको काम भनेको घाँस काट्ने हुन्छ । कतिपय विकास निर्माणका काममा ज्याला मजदुरी गर्छन् ।

जुम्ला स्याउको पर्याय नै हो । तर व्यावसायिक स्याउ किसान बन्न पर्याप्त आर्थिक स्रोत नहुँदा भारत नै जानुपर्ने बाध्यता रहेको स्याउ टिप्न सिमला पुगेकाहरू बताउँछन् । ‘कृषिमा आउने अनुदान पहुँचविहीनसम्म पुग्दैन, अनुदान नपाउँदा कृषि क्षेत्रमा आफ्नै लगानीमा काम अघि बढाउन गाह्रो हुन्छ,’ ‘मीमबहादुरले भने, ‘त्यही भएर जन्मभूमिको पाखोबारीभन्दा कर्मभूमि सिमलाको स्याउबारी नै प्यारो लाग्ने गर्छ ।’

जुम्लाका स्थानीय तहले कामका लागि भारत जाने युवाहरूको यकिन तथ्यांक संकलन गर्न सकिरहेका छैनन् । तर सयौंको संख्यामा जुम्ली युवा भारतको सिमलामा स्याउ टिपिरहेको युवाहरू सुनाउँछन् ।

जुम्लामा एक नगरपालिकासहित ८ स्थानीय तह छन् । कुल ६० वडामध्ये धेरै वडाका युवा कामको खोजीमा भारतमा भौंतारिरहेका भेटिन्छन् । तीमध्येमा अधिकांश युवा सिमलामा स्याउ टिपिरहेका भेटिन्छन् ।

प्रकाशित : श्रावण २६, २०८१ १६:०९
×