सल्यान — कर्णाली प्रदेशका उद्योग, पयर्टन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णालीको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताएका छन् । मन्त्री भएपछि गृहजिल्ला आएका अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा शनिबार उक्त कुरा बताएका हुन् ।
कर्णालीको पहिचानको रुपमा रहेका रारा, मिनी राराको रुपमा चिनिने कुपिण्डेताल, स्यार्पुताल लगायत धार्मिक पर्यटकीयस्थल विकासका लागि विगतमा धेरै बजेट विनियोजन भए पनि प्रभावकारी काम हुन नसकेको र सोचेअनुसार बाह्य पर्यटक भित्र्याउन नसकेको उल्लेख गर्दै आउँदा दिनमा प्रभावकारी काम अगाडि बढाउन र सबै खाले पर्यटकीयस्थललाई अवलोकन गर्नलायक बनाउने मन्त्री अधिकारीले प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘पर्यटकीयस्थलमा सहज रुपमा पर्यटक पुग्नका लागि बनेका सडकहरुलाई स्तरवृद्धि गर्ने र भएका संरचनालाई व्यवस्थित गर्नतर्फ लाग्ने छु ।’
मन्त्री अधिकारीले वन विकास, जडिबुटी उद्योग तथा अन्य उद्योग संचालनका लागि बनाएको नीति जटिल भएकाले कर्णालीवासीले वनसम्बन्धी अहिलेसम्म पर्याप्त मात्रामा उद्योग संचालन गर्न नसकेको उल्लेख गर्दै उद्योग संचालनका लागि नीति सहज खालको बनाउन लाग्ने जानकारी गराए । पछिल्लो समयमा पैसा हुनेले मात्र उद्योग संचालन गर्ने अवस्था रहेकोमा आर्थिक अवस्था कमजोर भएकालाई अनुदानको व्यवस्था गरेर उद्योग संचालनतर्फ उत्साहित गरिने उनको भनाइ छ ।
आफ्नो कार्यकालमा भ्रष्टाचार निर्मूल पार्न सक्रिय हुने र कसैले भ्रष्टाचार गरेको पाएमा तत्काल कारबाही गर्ने मन्त्री अधिकारीले चेतावनी दिए ।