कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जुम्ला कारागारका कैदीबन्दीलाई किताब 

श्रावण २५, २०८१
जुम्ला कारागारका कैदीबन्दीलाई किताब 

जुम्ला — जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागार जुम्लाका कैदीबन्दीलाई किताब उपलब्ध गराएको छ ।नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवका अवसरमा प्रहरीले कैदीबन्दीलाई किसाबहरु दिएको हो ।

किताब पढेर आनीबानीमा सुधार ल्याओस् भन्ने हेतुले उत्प्रेरणा जगाउने खाले किताबहरु उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए । जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । जसमा ७ सय किताब राखिएको छ । यो पटक प्रहरी कार्यालयले विभिन्न लेखकका ३० वटा किताब दिइएको हो ।

कैदीबन्दीलाई भित्रै अध्ययन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक प्रदान गरिएको डीएसपी कामतीले जानकारी दिए । विभिन्न अपराधिक क्रियाकलापमा संलग्नहरु भएकोले उनीहरुको व्यवहार र आचरण सुधार गर्ने खाले किताबहरु दिइएको उनको भनाइ छ । उनले भने,‘कारागार कैद भुक्तान गर्ने स्थानमात्र होइन । जीवनमा सुधार ल्याउने थलो पनि हो भन्ने चिनाउन पनि किताबहरु दिँदै आएका छौं । ’

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र डीएसपी कामतीले संयुक्त रुपमा कारागार पुस्तकायलाई पुस्तक प्रदान गरेका हुन् ।

२०७५/०७६ सालतिर तत्कालीन कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले कर्णाली प्रदेशका कारागारमा पुस्तकालय अभियान थालेका थिए । त्यतिबेलाको अभियानदेखि कारागारमा निरन्तर पुस्तकहरु दिने कार्य चलिरहेको छ । हाल सात सयभन्दा बढी पुस्तकहरु पुस्तकालयमा छन् ।

पुस्तक पढेर नयाँ ज्ञान बटुलिरहेको कैदीबन्दीहरुले बताएका छन् । जिल्ला कारागार जुम्लामा एक सय २३ जना कैदीबन्दीहरु छन् । चाँदीको घेरा थान ८, शंकराचार्यको जीवनी थान १, पानी र मानवता थान १, आधुनिक नेपाली महाकाव्य थान १, मान्छे निबन्धसंग्रह थान १, अब्यक्त गीता थान १, रामकृष्ण र बुद्ध दर्शन थान एकसहित विभिन्न ३० थान पुस्तक दिइएको छ । पुस्तकसँगै १६ थान लुडो र चेससमेत कारागारका कैदीबन्दीलाई उपलब्ध गराइएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुस्तकले बन्दी भएको अवस्थामा समेत अध्ययन गरेर ज्ञान दिन सिक्ने मध्यम भएको बताए । उनले जेलबाट बाहिर पछि धेरैको जीवन परिवर्तन भएको स्मरण गराउँदै कैद भुक्तान भइसकेपछि समाज परिवर्तनको अभियानमा लाग्न पुस्तकालयले राहत मिल्ने बताए । 'कतिपय व्यक्तिहरु जेलबाट आएपछि साहित्यकार, लेखक बनेका छन् । उनीहरुको जीवनी पढ्दा धेरै कुराहरु सिक्ने अवसर मिल्छ,' उनले भने,‘सकारात्कमक ज्ञान लिई कारागार पछिको जीवन राम्रो बनाउन पुस्तकहरुको महत्व पनि निकै बढी हुने गरेको छ । ’

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले ठूला ठूला विद्वान्‌हरु कारागारमा बन्दी जीवन बिताइरहेको समयमा अध्ययन गरेर, पुस्तक लेखेर आफूलाई सफल ब्यक्तिको परिचय बनाएको उदाहरणहरु पनि प्रशस्तै भेटिने गरेको बताए । सो अवसरमा कैदीबन्दीले कानुनी ज्ञान समेटिएका किताबहरु आवश्यक रहेको बताएका थिए ।

कारागारमा आइसकेपछि पढ्ने बानीको विकास भएको बताउँदै उनीहरुले प्रेरणाका स्रोत बन्ने किताबहरु आउनुपर्नेमा जोड दिए ।

प्रकाशित : श्रावण २५, २०८१ २०:००
x
×