सल्यान — अविरल वर्षात्का कारण पहिरो जाँदा मंगलबार बेलुकी राप्ती राजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका ३ चोरखोलामा वर्षातपछि गएको ठूलो पहिरोले राजमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा अहिले सवारी साधन आवतजावत ठप्प छ भने रुकुमबाट सल्यान हुँदै दाङ जाने र दाङ तथा सल्यानबाट रुकुम जाने यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
लगातार डेढ घन्टादेखिको वर्षाका कारण राजमार्गको चोरखोलामा गएको पहिरो पन्छाउन कपुरकोट चौकीदेखि सुरक्षाकर्मी खटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । वर्षात् भइरहेकाले पहिरो पन्छाउन कठिनाई भएको उनले बताए ।
प्रकाशित : श्रावण २२, २०८१ १९:३३