जाजरकोट — जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खलंगादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा मंगलबार दिउँसो साढे २ बजेतिर दुर्घटना हुँदा भेरी-६ गंगटियाका ३५ वर्षीय चालक मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको हो । जिप सडकदेखि करिब ४ सय मिटर तल खसेको थियो ।
जिपमा सवार भेरी ६ की सपना विक, भूमिका शाही, दुर्गा पुन, बिन्दु शाही, मोती लुहार, सिता पुन, धनसरा खड्का, कलिमान खत्री, भूमिकला राना घर्ती, प्रज्वल घर्ती, कल्पना खत्री, अस्मिता खत्री, पार्वती उपाध्याय र हिरा सार्की घाइते भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
घाइतेहरू १३ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । गम्भीर घाइते भेरी ६ का ८० वर्षीया कलिमान खत्रीलाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।