कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

मोरिम्ला नाका हुँदै चीन पुगेका जुम्लाका गणेश लामा सम्पर्कविहीन 

श्रावण २१, २०८१

जुम्ला — डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका हुँदै चीन पुगेका जुम्लाको गुठीचौर-१ मणिसाँघुका ३८ वर्षीय गणेश लामा सम्पर्कविहीन बनेका छन् ।  साउन १७ देखि खुलेको यो नाका हुंदै चीन पुगेका लामा साउन १८ गते देखि हराएका हुन् । उनीसँग डोल्पा जगदुल्ला गाउँपालिका-४ का सिंहबहादुर महतारा पनि चीन गएका थिए । 

नेपाल-चीन नाका कटेको पाँच घण्टापछि लामा सम्पर्कविहीन भएको आफन्तजनहरुले बताएका छन् । उनीहरु नाका खुलेको भन्दै ब्यापारिक सामान लिन चीन पुगेका थिए ।

सिंहबहादुर चीनमा रहेका उनका आफन्तहरुको सम्पर्कमा पुगेका छन् । आफन्तको सम्पर्कमा पुगेका महताराले बन मान्छे जस्तो देखिने व्यक्तिले गणेशलाई तानेर लगेको बताएका छन् । त्यहाँ देखि लामा हराइरहेका छन् । आफू भेडाबाख्रा गोठमा पुगेर गोठालासँग समन्वय गरी चिनियाँ प्रहरी बोलाएर आफन्त कहाँ आइपुगेको भन्दै उनले लामाको अहिलेसम्म कुनै अत्तोपत्तो नभएको बताए ।

मरिम्ला नाकापारि तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकामा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने गर्छ । त्यही सस्तो सामान खरिद गर्न भन्दै उनीहरु चीन गएका हुन् । चीनका ब्यापारीले काठमाडौंमा रहेका कमल बरुवाललाई लामा हराएको जानकारी दिएका थिए ।

काठमाडौंका कमलले गणेशका पुसाईं पर्ने चन्द्रमान रोकायालाई खबर पठाए । चन्द्रमानले गणेश लामाको खोजी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय डोल्पामा निवेदन दिएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले गणेश लामा हराएको प्रारम्भिक जानकारी आइपुगेको बताए ।

उनले भने, ‘विस्तृत बुझ्दैछौं । डोल्पादेखि गएका जनप्रतिनिधिहरुसँग सम्पर्क गर्न खोजिरहेका छौं ।’ डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउापालिकाका जनप्रतिनिधिहरु पनि चीनतिरै छन् । उनीहरु मार्फत चिनियाँ पक्षलाई लामाको खोजीको लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

उनले सिमा नाकामा खटिएका प्रहरीलाई आधिकारिक र विस्तृत विवरण माग गरेको समेत बताए । आधिकारिक रुपमा प्रहरीले रिपोर्ट पठाउने बित्तिकै खोजीको लागि सरकारसँग आग्रह गर्ने उनको भनाइ छ ।

यता लामाका आफन्तहरुले चीनमा खोजीको लागि डोल्पा प्रशासनले पास दिन नमानेको भन्दै आक्रोश पोखेका छन् । पाँचपाँच दिनसम्म नेपाली हराउँदा समेत सरकार मुखदर्शक बनिरहेको भन्दै तत्काल मरे बाँचेको पत्ता लगाइदिन आग्रह गरेका छन् । लामा नाका खुलेकोले सामान किनेर खच्चरबाट सार्ने योजनामा थिए । उनी होटल व्यवसायी हुन् ।

वडाध्यक्ष अर्जुन महताराले लामाको खोजीको लागि आफैँ जान लागेको बताए । उपल्लो डोल्पाबासीको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको उक्त नाका लामो समयपछि खुल्न लागेकाले यस अवधिमा कुनै पनि प्रकारका अप्रिय घटना नघटुन् भनेर सीमाक्षेत्र आसपासमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

१५ दिनका लागि मात्र खुल्ने उक्त नाकाबाट उपल्लो डोल्पाबासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, चिया, पेयपदार्थलगायत खाद्यवस्तुको किनमेल गर्ने गर्दछन्। यसरी खरिद गरिएका सामग्री घोडा, खच्चड, याक, चौंरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ ।

प्रकाशित : श्रावण २१, २०८१ १८:१०
x
×