सल्यान — दार्मा गाउँपालिका–५ त्रिबेणीस्थित विश्वेश्वर आधारभुत विद्यालय पहिरोको उच्च जोखिममा परेको छ । गत असारको अन्तिममा परेको अविरल वर्षात्का कारण विद्यालय भवनको पर्खालैबाट ठुलो पहिरो गएपछि विद्यालय पहिरोको उच्च जोखिममा परेको हो ।
पहिरोका कारण विद्यालयका दुवै भवनका पर्खाल धप्किएपछि कक्षा ८ सम्म संचालित विद्यालयमा अध्ययनरत २ सय ६ जना विद्यार्थी जोखिममा छन् । विद्यालयले जोखिम मोलेरै त्यही विद्यालय भवनमा राखेर पठनपाठन गराइरहेको छ ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पले गर्दा विद्यालय भवन चर्किएको र अहिले वर्षात्पछि पहिरो जाँदा बालबालिकालाई कक्षाकोठामा राखेर पढाउन गाह्रो भएको विद्यालयलका प्रधानाध्यापक गणेशबहादुर केसीले बताए । ठुलो वर्षात् भएमा पहिरोले भवन बगाउने सम्भावना बढी भएकाले कक्षाकोठामा बसेर पढाउन डर लाग्ने गरेको उनले जानकारी गराए ।
‘वर्षात्को समय भएकाले दैनिक वर्षात् हुँदा विद्यालयको खुला चौर हिलाम्मे छ । चौरमा राखेर पढाउन सकिदैन । कक्षाकोठामा बसाएर पढाउँदा पहिरोले भवनसँगै बालबालिकालाई पुर्ने हो कि भन्ने डर छ,’ उनले भने, ‘तत्काल पहिरो नियन्त्रण सम्बन्धी काम गर्न नसकिएकाले डराइ डराई पढाउनु पर्ने बाध्यता छ।'
२०४६ सालमा स्थापना भएको विद्यालयका चार भवनमध्ये दुई जीर्ण भइसकेका छन् । नयाँ भवन पहिरोको जोखिममा परेको छ । विद्यालय भवनको पर्खालैबाट गएको पहिरोले पर्खाल केही धप्किने मात्र नभई चिराचिरा परेकाले वर्षात् भएको बेला कक्षाकोठामै छिर्न डर लाग्ने गरेको विद्यालयका शिक्षक विनोद कुमार केसीले बताए ।
पहिरोका कारण जति खेर पनि भवन भत्किने सम्भावना बढी भएकाले प्रहरीको मुचुल्कासहित पालिकामा मर्मतको लागि माग गरेको उनले बताए । माग गरेको धेरै भइसकेपनि मर्मतको काम भने हुन नसकेपछि विद्यालयले थप पहिरो जानबाट बचाउन प्लाष्टिक लगाउने तैयारी गरेको उनको भनाइ छ ।
प्रकाशित : श्रावण २०, २०८१ १६:२२