सुर्खेत — नवनियुक्त जलस्रोत तथा उर्जा विकासमन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गरिसक्ने बताएकी छन् । आइतबार पदभार ग्रहण गर्दै मन्त्री बुढाले दुई वर्षभित्र प्रदेशमा शत प्रतिशतमा विद्युतीकरण गरिसक्ने लक्ष्य सार्वजनिक गरिन् ।
‘दीगो विकास लक्ष्य–२०३० तथा संघीय सरकारले पनि दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ,' उनले भनिन्, ‘प्रदेश सरकार आवश्यक रणनीति र कार्ययोजनासहित उक्त लक्ष्य प्राप्तिका लागि अघि बढ्छ ।’
हाल कर्णालीका ८३.१३ प्रतिशत घरधूरीमा विद्युतीकरण भइसकेको छ । दुई वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरणका लागि कर्णाली जलविद्युत कार्ययोजना–२०८१ तयार गरेर लागू गर्ने मन्त्री बुढाको भनाइ छ ।
सौर्य मिनी ग्रीड आयोजना, लघु तथा साना जलविद्युत आयोजना निर्माण तथा पुनस्थापना र घरायसी सौर्य उर्जा प्रविधिजस्ता भौगोलिक बनावट अनुकूल आयोजनाहरु कार्यान्वजयन गर्ने मन्त्री बुढाको भनाइ छ ।
उक्त कार्ययोजना कार्यान्वयनका लागि तीन तहका सरकार र संवद्ध विकास साझेदारहरुसँग समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ ।
प्रकाशित : श्रावण २०, २०८१ १६:३१