कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

जुम्ला कारागारमा कैदीको मृत्यु

श्रावण २०, २०८१
जुम्ला कारागारमा कैदीको मृत्यु

जुम्ला — जिल्ला कारागार जुम्लामा एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका अन्दाजी ३४ वर्षका प्रदीपकुमार टमटाको आइतबार मृत्यु भएको हो । 

मुगुकाे खत्याड गाउँपालिका–३ का कैदी टमटाले एक्कासि जीउ र पेट दुख्न थालेको बताएपछि अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको अस्पतालले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले बताए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कैदी टमटाको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएको जानकारी दिए । ‘चिकित्सले हृदयघात भएर मृत्यु भएको हुन सक्ने बताइरहेका छन्,’ उनले भने, ‘पोस्टर्माटमपछि सबै कुरा थाहा हुनेछ ।’

कारागार जुम्लाका प्रमुख गयाप्रसाद पाण्डेले कैदी टमटाको एक्कासि मृत्यु भएको बताए । ‘टमटाले बिहानै ब्याडमिन्टन खेलेका थिए । त्यसपछि कफी पिएर लुडोसमेत खेले,’ उनले भने, ‘खाना खान जाने भन्दै हिंड्न खोज्दा लडे । हतारहतारमा अस्पताल पुर्‍याउँदा पनि बचाउन सकिएन ।’

घटनालगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको सुरक्षा समितिको टोली कारागार पुगेको थियो । टोलीले घटनाको अध्ययन गरेर फर्किएको प्रहरी निरीक्षक हमालले जानकारी दिए । मृतक टमटाको घटना मुचुल्कासमेत प्रहरीले गरिसकेको छ ।

प्रकाशित : श्रावण २०, २०८१ १७:३९
x
×