कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

चार दिनपछि खुल्यो कर्णाली राजमार्ग र करिडोर 

तुलाराम पाण्डे

कालीकोट — पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग र करिडोर मंगलबार दिउँसोबाट खुलेको छ । कर्णाली राजमार्गको एस मोड र गगने खोलाको बीचमा पहिरोसँगै आएको विशाल ढुंगा ब्रेकरले फुटाएपछि सञ्चालनमा आएको हो ।

चार दिनपछि खुल्यो कर्णाली राजमार्ग र करिडोर 

सडक खुलेपछि खिड्कीज्यूला, दैखोला, हुल्म, कालेखोला, मान्म लगायतका ठाउँमा रोकिएका यात्रुवाहक र मालवाहक गाडी गन्तब्यतर्फ लागेका छन् । 'चार दिन बाटोमा अलपत्र अवस्थामा बस्यौं,' सुर्खेतबाट मुगुका लागि खाद्यान्न बोकेर आएको मिनी ट्रक चालक सन्तोष खत्रीले भने, 'बल्ल बाटो खुल्यो, जान पाइने भयो ।'

कर्णाली राजमार्ग हुँदै कालीकोटको पूर्वी भेगसहित जुम्ला, मुगु जाने र सुर्खेततिर झर्ने यात्रुहरु आ-आफ्नो गन्तव्यतिर लागेको जुम्ला कनकासुन्दरी ७ का दलबहादुर बुढाले बताए । बाटोमा खाने खर्च पनि थिएन । उनले भने, 'वर्षाले दु:ख पाइयो, बाटो खुल्यो अब घर पुगिएला ।'

वर्षाले अवरुद्ध कर्णाली राजमार्गमा आएको ढुंगा दुई दिन लगाएर ब्रेकरले फुटाएपछि दिउँसो ३ बजेबाट संचालनमा आएको कालीकोटका डीएसपी अर्जुन केसीले बताए । 'हिजोदेखि निरन्तरको प्रयासपछि बल्ल ढुंगा फुटाएर एकतर्फी सडक संचालन गर्न सफल भयौं,' उनले भने, 'ढुंगा फुटाउन दुई वटा ब्रेकर लगायौ ।' उनले साइडमा कामको सहजीकरण गर्न सुरक्षा अधिकारीसहितको टोली मंगलबार बिहानैदेखि एसमोड गएको सुनाए ।

त्यस्तै, वर्षाले अवरुद्ध कर्णाली करिडोरको रेगिंल भीरको पहिरो पन्छाएपछि कर्णाली करिडोर पनि संचालनमा आएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । कर्णाली करिडोर हुँदै कालीकोटको पश्चिमी क्षेत्रमा पर्ने सान्नीत्रिवेणी, रास्कोट, पचालझरना, पलाता, बाजुराको पूर्वी भेग, मुगेको खल्याड क्षेत्र र हुम्लाका बासिन्दा गन्तव्यतर्फ लागेका छन् ।

कर्णाली करिडोरको भुराबगर, भात्तडीलगायतका ठाउँको पहिरो हटाइए पनि रेगिंल भीरको पहिरो हटाउन बाँकी थियो भने कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकअन्तर्गत कालीकोटको मान्मदेखि जुम्ला खण्डको पहिरो हटाइए पनि गगनेखोला नजिकै खसेको ठूलो ढुंगा विस्फोट गराउनु पर्ने भएकोले सडक खुल्न सकेको थिएन । असार लागेयता कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक १७ पटक अवरुद्ध भृको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । 'मानवीय क्षति भएको छैन,' उनले भने घर, गोठ र घट्ट गरेर १६ वटा क्षति भएका छन् ।' एक दर्जनभन्दा बढी पशुचौपाया पनि मरेका उनले बताए ।

यसैबीच, कर्णाली राजमार्गको एस मोडमा विद्युत्‌को पोल ढलेर चारदेखि अवरुद्ध विद्युत् सेवा पनि मंगलबार दिउँसोदेखि संचालनमा आएको छ । पोल ढल्दा कालीकोटसहित जुम्ला र मुगुमा विद्युत् अवरुद्ध थियो । ३ दिन काम गरेर विद्युत्‌को नयाँ पोल गाडेर सञ्चालन गरिएको विद्युत् कार्यालय कालीकोटका सूचना अधिकारी जयप्रसाद पाण्डेले बताए । उनकाअनुसार विद्युत्‌का ५ जना कर्मचारी कार्यालय प्रमुखसहित साइडमा खटिएका थिए ।

प्रकाशित : असार २५, २०८१ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×