कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

गर्मी बढेपछि सल्यानको शारदा र त्रिवेणीका १०२ विद्यालय बन्द

विप्लव महर्जन

सल्यान — गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेपछि सल्यानमा दुई पालिकाले विद्यालय बन्द गरेका छन् । त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकाले सूचना प्रकाशन गरेर शुक्रबारदेखि विद्यालय बन्द गरेका हुन् । 

गर्मी बढेपछि सल्यानको शारदा र त्रिवेणीका १०२ विद्यालय बन्द

त्रिवेणी गाउँपालिकाले बर्खे बिदाबाट कटौती हुने गरी एक साताका लागि र शारदा नगरपालिकाले तीन दिनका लागि पालिकाभरका विद्यालय बन्द गरेका छन् । त्रिवेणी गाउँपालिकामा ३४ विद्यालयमा ५ हजार र शारदा नगरपालिकाका ६८ विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

गर्मीले विद्यार्थी बेहोस हुने, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएपछि विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए । विद्याथी बिरामी हुन थालेपछि डाक्टरसहितको टिमले पालिकाका केही विद्यालयमा अनुगमन गरेको थियो । गर्मीकै कारण विद्यार्थीमा विभिन्न किसिमको समस्या देखिएकोस्वास्थ्यकर्मीको टोलीले जानकारी गराएपछि विद्यालय बन्द गरिएको केसीले बताए ।

शारदा नगरपालिकाकी शिक्षा शाखा प्रमुख संगीता भण्डारीले विद्यार्थी बिरामी भएको र पठनपाठन नै प्रभावित भएपछि विद्यालय बन्द गरिएको बताइन् । गर्मी नघटे एक साताको बिदा दुई साता लम्ब्याइने पनि उनले जानकारी दिइन् ।

बन्गाड कुपिण्डे नगरपालिकाले भन दिउँसो गर्मी हुने भएकाले बिहानी कक्ष सञ्चालनमा ल्याएको छ । विद्यार्थी बिरामी परेपछि कृष्ण मावि संग्रही केही दिनका लागि बन्द गरिएको नगर उपप्रमुख पुरुषोत्तम आचार्यले बताए ।


प्रकाशित : जेष्ठ ३२, २०८१ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×