कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

डोकोमा गाग्री बोकेरै रेक्चावासीले गरे गाउँपालिकामा प्रदर्शन 

ज्योति कटुवाल

सुर्खेत — वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका रेक्चाका नागरिकले गाउँपालिका घेराउ गरेका छन् । 

डोकोमा गाग्री बोकेरै रेक्चावासीले गरे गाउँपालिकामा प्रदर्शन 

सुर्खेतको चौकुने गाउँपालिका ५ रेक्चामा खानेपानी समस्या समाधानको आश्वासनमात्रै दिएको भन्दै स्थानीयवासीले पालिकामा पुगेर आन्दोलन गरेका हुन् । रेक्चाका विभिन्न टोलका झण्डै ५० घरपरिवारका मानिसहरुले डोकोमा गाग्री बोकेर पालिका कार्यालयमा आन्दोलन गरेका छन् । आफूहरूले लामो सयम खानेपानीको चरम अभाव खेपिरहँदा पनि सरकारले कुनै चासो नदिएकोले प्रदर्शन गरिएको तपेन्द्र बिसीले बताए । २०१६ सालमा बनाइएका कुवा सुकेपछि स्थानीयहरु पानीको माग गर्दै सरोकारवाला निकायसमक्ष पुगे पनि सुनुवाइ नभएको उनीहरु बताउँछन् ।

रेक्चा गाउँ अहिले काकाकुल छ । यहाँका स्थानीयले झन्डै ५ दशकदेखि पानीकै लागि ठूलो सास्ती भोगिरहेका छन् । गाउँमा १० वटा कुवा छन् । तर सबैजसो कुवा सुकेका छन् । स्थानीयले अहिले लेदो पानी कपडाले छानेर खाइरहेका छन् । कुवामा सर्प, भ्यागुता, किरा, फट्याङ्ग्रा मरेका भए पनि त्यहाँको पानी उपभोग गर्नुको विकल्प नभएको तपेन्द्रले बताए ।

पुर्खौंदेखि पानीका लागि ठूलो सास्ती व्यहोरिरहेको उनको गुनासो छ । ‘हिउँदको ६ महिना लेदो छानेर पानी उपभोग गरियो तर, बर्खा सुरु हुँदा गाउँ नै काकाकुल बनेको छ,’ उनले भने, 'पानीका लागि कुन तहका सरकारलाई भन्नु पर्ने हो हामीले त तीनतहका सरकारसमक्ष धेरै पटक भनिसक्यौं ।’ चौकुने गाउँपालिकाले चार वर्षअघि कर्णाली नदीबाट लिप्ट गरेर रेक्चामा ल्याउने भन्दै १ करोड ७२ लाख रुपैयाँमा ठेक्का आह्वान गर्‍यो । तर अझैसम्म पनि कामले गति लिएको छैन ।

रेक्चामा रहेका १९ वटा कुवामा १० वटा जीर्ण अवस्थामा छन् । जीर्ण कुवाहरू मर्मत हुन नसक्दा केही भत्किएका छन् भने केही सुकेका छन् ।


प्रकाशित : जेष्ठ ३१, २०८१ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×