कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

मुगुका १८ गाउँ पहिरोको उच्च जोखिममा

मुगु — जिल्लाका सबै चार स्थानीय तहमा रहेका २ सय २३ मध्ये १८ गाउँ पहिरोको उच्च जोखिममा छन् । छायाँनाथ रारा नगरपालिकाको तल्लो सालिम माथिल्लो सालिम, झयारी, कम्फा दलितबाडा, चराप, ढुम, सोरु गाउँपालिकाको रावलबाडा, बन्जाहाँ, तारापानी, खत्याड गाउँपालिकाको रिघा, नखर्जी, कवा, सेरी, हिगोटी, गाडेखोला र मुगुम कार्मारोङ गाउँपालिकाको माग्री, रिउस र पुलू पहिरोको जोखिममा उच्च जोखिममा छन् ।

मुगुका १८ गाउँ पहिरोको उच्च जोखिममा

सोरु गाउँपालिका–४ रावलबाडाका ३५ दलित परिवार पहिरोको उच्च जोखिममा छन् । रावलबाडा बस्तीको तल र माथिबाट पहिरो जान थालेपछि सिंगो गाउँ नै जोखिममा परेको छ । पहिरो खेतीयोग्य जमिन भाँसिदै गएको र गाउँ पनि पहिरोमा पर्न थालेको स्थानीयको भनाई छ । बर्खा सुरु हुन थालेपछि पहिरोको डरले निद्रा हराउने गरेको रावलबाडा गाउँका जाँड नेपालीले बताए । ‘माथिबाट बाढी पहिरो आउने र तलबाट जमिन भाँसिदै जाँदा ३५ दलित परिवारलाई संकट उत्पन्न भएको छ,’ उनले भने ।

खत्याड गाउँपालिका–२ गाडेखोलाका ५५ दलित परिवारको अवस्था पनि उस्तै विकराल छ । गाउँ माथिबाट जमिन भाँसिएर पहिरोले छोप्न थालेपछि दलित परिवारलाई उठीबास हुन थालेको छ । अन्यत्र कतै जाने ठाउँ नपाए पछि दलित परिवार ज्यान जोखिम राखेर घर बस्न बाध्य छन् ।

त्यसैगरी उक्त गाउँपालिकाको बन्जाहाँ र तारापानी गाउँ पहिरोको जोखिम रहेको छ । बन्जाहाँ गाउँको माथिबाट पहिरो खस्न थालेको छ भने रुम खोलाबाट बाढी आउन थालेपछि तारापानी गाउँ जोखिममा परेको छ ।

खत्याड गाउँपालिका–२ रिघा गाउँका ८५ परिवारलाई पनि बर्खा सुरु हुन थालेपछि चिन्तित हुने गरेका छन् । गाउँको माथिबाट पहिरो खस्न थालेपछि रिघा गाउँका ८५ परिवार पनि जोखिममा छन् । ठूलो बर्षा हुन थाले पछि घर छोडेर पिपलको रुखमा आउने गरेको रिघा गाउँका मनकृष्ण उपाध्यायले बताए ।

पहिरोको डर धेरै जना गाउँ छोडेर अन्यत्र बसाइँ सरेको उनको भनाई छ । उक्त गाउँपालिका–४ हिगोटी गाउँका ७५ दलित परिवार पनि पहिरोको जोखिममा छन् ।


२०७९ असोज १९ देखि २३ सम्मको भीषण बर्षाले खत्याडका गाडेखोला, कवा, नखर्जी, हिगोटी, सेरी, रिघालगायत ६ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाको भनाई छ । छायाँनाथ रारा नगरपालिकास्थित झयारीका ४२ र सालिमका ३० परिवार पहिरोको उच्च जोखिममा छन् । २०७९ असोजको बर्षाले दुबै गाउँमा पहिरो जाँदा स्थानीय बिस्थापित भएका थिए भने कोही जोखिम मलेर गाउँमै बस्न बाध्य छन् ।

सोही वर्ष माथिबाट पहिरो खस्दा सालिम गाउँमा ८ जनाले ज्यान गुमाएको नगरपालिका–११ की वडाअध्यक्ष कुञ्जुमा कुमाईले बताइन् । उच्च जोखिममा रहेका सालिम, चराप, कम्फा दलितबाडाकम पूर्वतयारीको निम्ति वडाले विपद् व्यवस्थापन समिति गठन गरेको उनले बताइन् ।

नगरपालिकाको धनाबस्ती ढुम गाउँ पनि पहिरोको जोखिम पर्न थालेपछि स्थानीय चिन्तित छन् । नगरपालिका अन्तरगत झयारी गाउँका ४२ परिवार गत वर्षकै बाढीपहिरोले घर भत्किन थालेपछि गाउँ छोडेर रारा राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती बस्तीमा त्रिपाल राखेर बस्दै आएका छन् ।

यता मुगुम कार्मारोङ गाउँपालिकाको माग्री, पूलु र रिउस पहिरो उच्च जोखिम छन् । माग्री गाउँको मुनितिर बाटो पहिरो जाँदा गाउँ जोखिम पर्न थालेको छ भने रिउस बगरले रिउस गाउँ जोखिममा पारेको छ । पूलुको माथिबाट पहिरो खस्दा जोखिम देखिएको छ । गत बुधबार विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ पारित गरी जोखिम न्यूनीकरणका लागि चार वटै सथानीय तहसहित रेडक्रस, सुरक्षाकर्मीलगायत विषयगत कार्यालयहरुलाई पूर्वतयारी गर्न भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रेडक्रसले विपद् पूर्वतयारीका लागि रेडक्रस मुग शाखाले स्वयंसेवक तयारी अवस्था राख्ने र केन्द्रबाट राहात सामग्री माग्ने निर्णय गरेको छ । २०७९ असोजको भीषण बाढीपहिरोले चार वटै स्थानीय तहमा २ सय ३६ परिवार पूर्णरुपमा विस्थापित, १ सय ८८ घर आंशिक क्षति र ३ सय ९९ परिवार उच्च जोखिममा परेका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×