३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जंगली जनावरको त्रासले रित्तिदै बस्ती

सल्यान — बाँके राष्ट्रिय निकुन्जमा बढ्दै गएको जंगली जनावरको आक्रमण र वन्यजन्तुको त्रासले कालीमाटी गाउँपालिका-७ काप्रेचौरको आम्बास, भेरीकुटी,गाहाखाने र मगारे बस्ती रित्तिनेक्रममा छन् । जंगली जनावर बाघले घरभित्रै पसेर गाइबाख्रा मार्ने, मान्छेलाई बारम्बार आक्रमणको प्रयास गर्नेजस्ता घटना भएपछि असुरक्षित महसुस गरेका स्थानीयबासी ज्यान जोगाउने भन्दै बसाइँ सरेका हुन् । 

जंगली जनावरको त्रासले रित्तिदै बस्ती

बसाइँसराइले गाउँ नै रित्तिएका छन् । स्थानीयले बसाइँसराइ गर्दा बस्ती रित्तिएपछि आम्बासमा रहेको मनकामना आधारभुत विद्यालय समेत विद्यार्थीविहिन भएर बन्द भएको छ । जंगली जनावर दिउँसै घरभित्र पसेर गाईबाख्रा मार्न थालेका, बँदेल तथा बाँदरले खेतबारीमा लगाएको बालीनाली सखाप पार्न थालेपछि आम्बास, गाहाखाने, भेरिकुटी, मगारे मात्र नभई आसपास बस्तीका दर्जनौँ स्थानीय प्रभावित भएका छन् ।

निकुन्जको सीमा आसपासका स्थानीयलाई घाँस दाउरा गर्न गाह्रो भएको, दिउसै आउजाउ गर्दा असहज भएको र लगाएको बाली जंगली जनावरले खाएर सखाप पार्दा रोजीरोटी नै गुम्ने मात्र नभई ज्यान जोखिममा पर्ने भएपछि स्थानीय बसाइँ सर्न बाध्य भएका कालीमाटी गाउँपालिका ७ का वडा अध्यक्ष मित्रलाल रिजालले बताए ।

उनका अनुसार ८० घर धुरी रहेको आम्बासमा अहिले जम्मा चार घर रहेका छन् । ६० परिवार बसोबास गर्दै आएका भेरिकुटीमा अहिले जम्मा ५ परिवार छन् । गाहाखाने र बादनेमा २७ परिवार रहेकामा सबैले बसाइँसराइ गरिसकेका छन् ।

बाँके राष्ट्रिय निकुन्ज २०६७ सालमा स्थापना भएको थियो । निकुन्ज हुनु भन्दा पहिले स्थानीय मोटरबाटो नहुँदा छिटो हुने भन्दै जंगलको बाटो हिँडेर नेपालगन्ज आउजाउ गर्थे । त्यत्ति बेला जंगली जनावर भएपनि थाेरै मात्र थिए । भालु, बँदेल भएपनि बाघ थिएनन् । निकुन्ज घोषणा गरेर बाघ संरक्षणमा लागेपछि अहिले जंगलको बाटो सबैले हिँड्न छाडेका छन् ।

बाघ र भालुको आक्रमणबाट यी गाउँमा तीन बर्षको अवधिमा आधा दर्जन घाइते भइसकेका छन् । पहिला जंगली जनावर खासै नभएकाले किसानले बाली भित्रयाउन पाउँथे । त्यसबाट गुजारा गर्दै आएका थिए । अहिले बाली पाक्न नपाउँदै जंगली जनावरले सबै सखाप पार्छन् ।

'जनावरकै कारण बस्नै नसकिने अवस्था सिर्जना भएपछि किसानहरुले बसाइँसराइ गर्न बाध्य भएका हुन्,' उनले भने । कालीमाटी गाउँपालिका ७ काप्रेचौरमा ५ सय बढी परिवार बसोबास गर्दै आएका र निकुन्जमा बढेको जंगली जनावरका कारण वडाका सबै बासिन्दा प्रभावित भएका उनको भनाइ छ ।

तराईमा जस्तो जंगली जनावर बाघले आक्रमण नगरेपनि बस्ती भित्र पसेर गोठमा बाँधेका गाईबाख्रा दैनिक जसो मारेर खाने गरेको आम्बासकी ४० वर्षीय तीला रानाले बताइन् । बस्तीनजिकै जंगलमा बाघ देखेपछि पहिले नै सजगता अपनाउनुपर्ने अवस्था रहेको उनले बताइन् ।

‘जंगली जनावर दिउँसै बस्ती आसपासका जंगलमा हुल बाँधेर हिँड्छन् । न ज्यानको सुरक्षा छ, न बालीनालीको, न त पशुचौपायाको । ज्यानको सुरक्षाको लागि न बन्दुक राख्न पाइन्छ । जनावर मारे उल्टै जेल जानुपर्छ । जंगली जनावरको आक्रमणका कारण कोही घाइते भएमा सजिलै अस्पताल पुर्‍याउन समेत समस्या छ,' उनले भनिन् ।

बस्तीमा अहिले चार परिवार बस्दै आएपनि चारैतिरबाट रोजीरोटी गुमेपछि सबैले बसाइँसराइको तैयारी गरेको उनको भनाई छ । केही वर्ष नबित्दै बस्ती रित्तिएपछि अहिले बस्तीका खाली तथा जीर्ण बन्दै गएका जंगल बीचका घर जनावरका आश्रयस्थल तथा बासस्थान बनेका आम्बासका दधिराम रानाले बताए ।

जंगली जनावरको त्रासका कारण अन्य बस्ती समेत दिउँसै सुनसान हुने उनले जानकारी गराए । ‘२०६७ मा निकुन्ज घोषणा हुनु भन्दा पहिला खासै जंगली जनावर देखिदैनथ्यो । जंगली जनावर भालु, बँदेल, बाँदर देखिएपनि घरपालुवा जनावरलाई आक्रमण गरेको र बाली सखाप पारेको छिटपुट घटनाबाहेक अन्य सुनिदैनथ्यो । हिजोआज दैनिक जसो बस्तीमा पसेर बाघले गाईबाख्रा मारिरहेको छ । निकुन्जको सिमा क्षेत्र खुला भएकाले पनि समस्या बढदै गएको छ,’ उनले भने ।

जंगली जनावरको कारण घरबाहिर मात्र नभई घर भित्र पनि असुरक्षित भएको नन्दराम ओलीले बताए । बाहिरतिर बाघले मान्छे मारेको भन्ने हल्लाले झनै त्रासमा पारेको उनले जानकारी गराए । ‘दिनभरि बाघ बस्ती नजिकै जंगलमा घुम्दै हिड्छन् र आराम गर्छन् । रात परेपछि आहारा खोज्दै बस्ती भित्र पस्छन् । गोठ फोडेर बाख्रा मारि खान्छ । न चिच्याउन सकिन्छ न त हारगुहार गर्न नै । जे गरेपनि ज्यान जोगाएर बस्नुको बिकल्प छैन,’ उनले भने ।

प्रकाशित : वैशाख ३, २०८१ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?