कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौरजहारीमा चैते धानको रोपाइ

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिमको चौरजहारीका किसानले चैते धानको रोपाइ सुरु गरेका छन् । जहारी खोलाको आसपासमा रहेका विभिन्न स्थानका किसानले पहिलोपटक चैते धान रोप्न थालेका हुन् । 

चौरजहारीमा चैते धानको रोपाइ

चौरजहारी नगरपालिकाको विभिन्न ७ वटा वडाका खोला छेउछाउका खोतहरुमा ‘चैते–५’ जातको धान रोपिएको कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले बताए ।

‘पानीको दलदलमा धानबाहेक अरु बाली नहुने भएकाले अहिले बाँझै रहेका खेतहरुमा चैते धान रोपिएको हो,’ उनले भने, ‘गतबर्ष मुसिकोटको सोलाबाङमा परीक्षणका रुपमा चैते धान रोपिएको थियो । यो साल विभिन्न स्थानहरु गरी करिब १ रोपनी खेतमा धान रोपिएको छ ।’

खाली रहेका आफ्ना खेतहरुमा चैते धान रोप्न पाएकोमा किसानहरुले पनि खुसी व्यक्त गरेका छन् । चौरजहारी–५ का किसान लोकेन्द्र परियारले भने, ‘बाँझै रहेका खेतमा पहिलोपल्ट चैते धान रोप्दै छौँ । अहिलेसम्म एक बाली मात्रै हुने यहाँ दुई बाली त्यो धानै-धान हुने कुराले हामी उत्साहित छौँ ।’

गत फाल्गुण पहिलो साता ब्याड राखेर अहिले रोपाइ रोप्न थालेको चैते धान असार तेस्रो सातासम्म भित्र्याउन सकिने कृषी विकास कार्यलय प्रमुख केसीको भनाइ छ । यो धान उत्पादनको क्षेत्र विस्तार गरेर यसको व्यवसायिक उत्पादन समेत गर्न सकिने सम्भावना रहेको बताउँदै उनले यसका लागी किसान पहिला त तयार नै हुनुपर्ने कुरामा जोड दिए ।

प्रकाशित : चैत्र २१, २०८० १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?