१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिने अडानमै

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन दिएको निर्देशन अलपत्र
ज्योति कटुवाल

सुर्खेत — केन्द्रमा शीर्ष नेतृत्वबीच कर्णाली सरकारको नेतृत्व एमालेलाई दिने सहमति भए अनुसार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजीनामाको निर्देशन दिएपनि मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने प्रक्रियामै जाने अडान कायम राखेका छन् ।

कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिने अडानमै

मंगलबार दिनभर मुख्यमन्त्री निवासमा माओवादी केन्द्र र एमालेका कर्णालीमा उपलब्ध शीर्ष नेतृत्वका साथै सांसदहरुबीच पटक-पटक छलफल भयो । दुई दलहरुबीच मुख्यमन्त्रीको विषयमा सहमति नहुँदा संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न नसकेर स्थगित हुन पुग्यो ।

मुख्यमन्त्री शर्माले एमालेलाई प्रदेश सरकारको नेतृत्व सुम्पदा संगठनमा असर पर्ने भन्दै राजीनामा दिन अस्वीकार गरेका छन् ।

संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएर एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग भेट्न उनको निवास पुगेका मुख्यमन्त्री शर्माले उनीबाट सकारात्मक जवाफ नपाएपछि विश्वासको मत लिन तम्सिएका हुन्।

मंगलबार दिनभर नेकपा एमालेका नेता यामलाल कँडेल लगायतका नेताहरु मुख्यमन्त्रीसँग झण्डै चारपटक मुख्यमन्त्री निवासमा पुगेर भेटवार्ता गरे तर, मुख्यमन्त्री शर्माले भने पहिला आफूले विश्वासको मत लिएपछि मात्र राजीनामा दिने बताएका छन् ।

‘केन्द्रको निर्णय जे भएपनि कर्णालीमा आफू छुट्टै ढंगले अघि बढ्न माओवादीले कदम चालेको छ’ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका नेता जीवनबहादुर शाहीलाई भेटेर शर्माले विश्वासको मत दिने वातावरण बनादिए आग्रह समेत गरेका थिए । विश्वासको मत दिन कांग्रेस राजी भए आलोपालो सरकार सञ्चालन गर्ने उनको भनाई छ ।

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले परिस्थिति अनुसार अघि बढ्ने निर्णय गरेको छ । कांग्रेस एक सांसदका अनुसार ‘मुख्यमन्त्रीले विश्वासको मत लिने अवस्था आयो र एमालेले नदिने अवस्था आयो भने कांग्रेसले सोच्न सक्ने बताए । उनले माओवादीले केन्द्रको निर्णय नमानेपछि कांग्रेस सोच्न बाध्य हुने बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीले विश्वासको मत लिने विषयमा विवाद नरहेको बताए । उनले विश्वासको मत दिनलाई सबै सांसदहरु एक ढिक्का रहेको उनको भनाई छ । उनकाअनुसार बुधबार विश्वासको मत लिएपछि केन्द्रले भनेअनुसार अघि बढ्नेछौं । यता मुख्यमन्त्री शर्मालाई राजीनामा गराउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् । तर मुख्यमन्त्री शर्माले भने विश्वासको मत नलिई अघि नबढ्ने अडान लिएका छन् ।

मुख्यमन्त्री शर्माले भने संसदमा प्रस्ताव दर्ता भइसकेकाले पहिले विश्वासको मत लिएर मात्रै केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने पक्षमा अडिग रहेका छन् । यता दुई दलबीचको किचलोका कारण संसद् बैठक एक दिन पछाडि सरेको छ । ‘मंगलबार दिउँसो तीन बजेका लागि तय गरिएको कर्णाली प्रदेशसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै सभामुखलाई मुख्यमन्त्री शर्माले पत्र पठाएका थिए । केन्द्रको निर्णयमा अटेर गरेको एमालेको आरोप छ ।

नेपाली कांग्रेसले फागुन २२ गते माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । संवैधनिक प्रावधानअनुसार शर्माले चैत २१ (बुधबार) गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । त्यसैका लागि आइतबार संसद सचिवालयमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित : चैत्र २०, २०८० २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?