कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कुडा कर्णालीका : ‘देश जान्या’का कुरा

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशका ७० प्रतिशत भन्दा बढी बासिन्दा भारत जाने गरेका छन् । ज्याला मजदुरीको लागि भारत जानेहरुको कथा आफ्नै छ । पछिल्लो समय कर्णालीकै रुकुम पश्चिमलगायतका ठाउँबाट गाउँनै रित्तो हुने गरी चोरी बाटो भएर अमेरिका जानेहरुको तथ्यांक राज्यसँग छैन । सोमबार वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा यसै विषयमा टेकेर ‘देश जान्या’ विषयमाथि छलफल भयो ।

कुडा कर्णालीका : ‘देश जान्या’का कुरा

छलफलमा वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र पत्रकार चेतन अधिकारी वक्ताका रुपमा थिए ।

सत्रमा बोल्दै पत्रकार अधिकारीले नेपालीहरु रोजगारीका लागि विदेश भौतारिने समस्या अहिलेको नभई २०० वर्ष पुरानै भएको बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा सन् १८०० देखि नै जाने गरेको पाइन्छ । गोर्खा आर्मी हुँदै नेपाली युवा पलायन सुरु भएको हो । यसका सकारात्मक र नकारात्मक दुबै पक्षलाई केलायर सुधारका काम गर्न आवश्यक छ ।’

अहिले पनि ५० लाख नेपाली देशबाहिर भए पनि राज्यको तथ्यांकमा भने २२ लाख मात्रै रहेको उनले बताए । वैदेशिक रोजगारले बसाइँसराईमा समेत ठूलो समस्या निम्त्याएको र त्यसलाई राज्यले गम्भीरताका साथ हेर्नुपर्ने उनले बताए ।

अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई स्वदेश फर्काउने रणनीति सरकारसँग नहुँदा समस्या भएको नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष राजेन्द्र शाहले बताए । उनले भने, ‘अहिले पनि ठूलो संख्यामा युवा बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर अर्को देश जाँदैछन् । विदेश गएकै संख्यामा नेपाल पनि फर्किएका छन् । तर उनीहरुलाई कसरी नेपालमा राख्ने ? प्रश्न हो ।’

वैदेशिक रोजगारबाट फर्केकाको तथ्यांक समेत राज्यले राख्न नसकेको उनले बताए । उनीहरुले विदेशबाट ल्याएको सीप र पैसाको सदुपयोग पनि राज्यले गर्न नसकेको उनको भनाई थियो । वैदेशिक रोजगारमा जानेहरू एजेन्टबाटै ठगिएको उनले बताए । राज्यले एजेन्टलाई नचिने पनि एजेन्ट विना कुनै युवा विदेश नगएको उनले बताए ।

अध्यक्ष भण्डारीले वैदेशिक रोजगारीमा जाने व्यक्ति ठगीमा पर्नुको मुख्य कारण बाहिरी गिरोह भएको बताए । म्यानपावर कम्पनीबाट नगएर दलालबाट जाने गरेको उनले बताए । राज्यले प्रष्ट कानुन नबनाउँदा एजेन्टहरु मौलाएको उनको भनाई थियो । युवा बैदेशिक रोजगारमा जाँदैमा खत्तमै भयो भन्ने भाष्य निर्माण गरिएको वैदेशिक रोजगार बोर्डका निर्देशक ढकाल बताउँछन् ।

उनले भने, ‘वैदेशिक रोजगारका लागि जानु नराम्रो हैन । तर जाने तरिका भने अनेक थरिका छन् । विदेशिने बाटो नराम्रो भयो । सरकारले नचिन्ने बाटो अपनाउँदा युवाहरुले दुःख पाउने गरेका छन् ।’ श्रम स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था भए पनि वैदेशिक रोजगारीमा जानेहरुले श्रम स्वीकृति नलिँदा समस्या भएको उनले बताए ।

यस्तै सोमबार तेस्रो एवं ‘कर्णाली उत्सव : कुडा कर्णालीका’को अन्तिम दिन ‘लोकतन्त्र : दलभित्र– देशभित्र’ विषयमा भएको छलफलमा सहभागी नेताहरुले देशमा लोकतान्त्रिक व्यवस्था सुरू भएको लामो समय भइसक्दा पनि लोकतन्त्रका लागि लडेकै दलभित्र आन्तरिक लोकतन्त्र कार्यान्वयन हुन नसकेको बताए ।

वक्ताका रुपमा सहभागी प्रतिनिधिसभा सदस्य हृदयराम थानीले लोकतान्त्रिक मान्यता अनुसार राखिएको समानुपातिक व्यवस्थाको उपयोग गर्नेक्रममै दलहरूले आफन्तलाई ठाउँ दिन खोजेर सिन्डिकेट लगाएको बताए । उनका अनुसार संसदमा दलका प्रतिनिधि जनताबाट अनुमोदित भएजस्तै नेताहरू/कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ । कतिपय दलहरू अहिले यही लोकतान्त्रिक पद्धतिमा जान नसकेका प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले बताए ।

दलभित्र लोकतान्त्रिक पद्धति पूर्ण रूपमा अवलम्बन गर्न सकिए दलहरू पनि बलियो बन्ने उनको भनाई थियो । मुलुकका हरेक शक्तिहरू जनताको नियन्त्रणमा छ भन्ने आभास गराएमा मात्र लोकतन्त्रको पूर्ण कार्यान्वयन भएको महशुस जनताले गर्न सक्ने उनको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता माओवादी केन्द्रका वाग्मती प्रदेश अध्यक्ष एवम् प्रदेशसभा सदस्य सरल सहयात्रीले दलहरू आन्तरिक रूपमा लोकतान्त्रिक प्रणाली अपनाउन चुकेको बताए । यसले युवापुस्ताका नेतामाथि आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गरेर कसरी लैजाने भन्ने चुनौति सिर्जना भएको उनले बताए । आगामी दिनमा दलभित्र लोकतान्त्रिक प्रणाली अवलम्बन गर्ने कुरामा युवा पुस्ताका नेताहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले दलहरुले लोकतन्त्रका लागि महत्वपूर्ण संघर्ष गरे पनि नियमकानुन कार्यान्वयन गर्न नसक्नुले जनताले लोकतन्त्रको प्रत्याभूत गर्न नसकेको बताइन् । दलहरुले जनतालाई सार्वभौम हुन् र हामी सार्वभौम जनताका प्रतिनिधि हौं भन्ने विश्वास गर्न नसकेकाले पनि नागरिक लोकतन्त्रप्रति निराश देखिएको उनले बताइन् ।

सोमबारकै अर्को सत्र ‘समाज र संघर्ष’ मा सबै वक्तादेखि सञ्चालक पनि महिला थिए । उनीहरुले महिला समाज र सम्पत्तिबाट बहिष्कृत भएको गुनासो गरे । वक्ताको रुपमा रहेकी दलित महिला अधिकारकर्मी मञ्जु सुनारले समाज विभेदले भरिएको बताइन् । लैङ्गिक, जातीय, भौगौलिक, वर्ग र धर्मका आधारमा विभेद भएको उनले सुनाइन् ।

महिलालाई, आमा, छोरी, बुहारी, श्रीमती वा दिदीबहिनीको परिचय दिए पनि सिंगो मानवका रुपमा आˆनो पहिचान बनाउनका लागि महिलाले अझै पनि संघर्ष गर्नुपर्ने अवस्था रहेको उनले बताइन् । छलफलमा सहभागी अधिकारकर्मी ममता नगाल, पवित्रा शाही र टीका बुढाथोकीले समाजमा महिलाले गरेको संघर्षबारे मन्थन गरे । आफ्ना दुःख, भोगाइ र संघर्षबारे उनीहरुले छलफल गरे ।

यस्तै सोमबारै ‘विकास अर्न्या : विकास खान्या’ विषयमा पनि छलफल भएकाे थियाे । याे सत्रमा विकासविद् रमेश अधिकारीले कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट देखिने गरेको बताए । ‘कर्णालीमा सबैभन्दा धेरै बेरुजु निस्किएको छ, तीमध्ये केही बेरुजु विकास खान्याको हो,’ अधिकारीले भने, ‘यहाँ विकास गरिएको मात्र छैन, खाईएको पनि छ, कर्णालीमा पुँजीगत खर्च गर्न नसक्नु पनि अर्को विकास हुन नसक्नुको कारण हो।’

कर्णालीमा विकास गर्नका लागि संघीय राज्यले कर्णालीलाई गर्ने व्यवहार बदल्नुपर्ने र कर्णालीभित्रका सरकारले पनि आफ्नो औचित्य खोज्नुपर्ने उनले औंल्याए। कर्णालीमा सबै किसिमको विकास हुन बाँकी रहेको उनले बताए । पहिले र अहिलेको कर्णाली फरक भएकाले संघीय सरकारले कर्णालीका लागि फरक किसिमबाट बजेट र योजना निर्माण गर्नुपर्ने कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियारले बताए ।

प्रतिनिधिसभा सदस्य विनिता कठायतले राज्यको प्रतिनिधित्व गर्ने गरी कर्णालीको विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताइन् । कर्णालीलाई संघीय सरकारले हेर्ने नजर नै फरक रहेको उनले बताईन् । कर्णालीको विकास खाने चलन अन्त्य गरेर विकास गर्ने वानी बसाल्न जनप्रतिनिधिहरु एकजुट हुनुपर्नेमा सांसद कठायतले औंल्याइन्।

यस्तै अर्काे सत्र 'पैकेलो' मा वादी समुदायका बालबालिकालाई शिक्षा दिएर समुदायको हकहितका लागि बोलिरहेका हिक्मत वादी ‘पैकेलो’ अर्थात हिरो थिए । उनले हिरोको रुपमा आफ्ना कथा सुनाए । अहिले उनले १ सय २७ जना बालबालिकालाई सुर्खेतमा होस्टेलमा राखेर पढाइरहेका छन् ।

कर्णालीलाई बनाउनु छ भने बालबालिकालाई खान दिएर कुपोषित हुनबाट जोगाएर शिक्षित बनाउनुपर्ने उनको भनाई थियो । पाँचौं संस्करणको यो वर्षको कर्णाली उत्सवको पहिलो दिन प्रकोप र पुननिर्माण, दोस्रो दिन समाज, साहित्य र विकासको बारेका छलफल केन्द्रित भएको थियो भने तेस्रो दिन लोकतन्त्र र सुशासनका विषयमा छलफल भएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०८० १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?