११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

तातोपानी गाउँपालिकाले एमबीबीएस पढ्न छात्रवृत्ति दिने

डीबी बुढा

जुम्ला — तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने निर्णय गरेको छ । गाउँपालिकामा अहिलेसम्म डक्टर पढेको जनशक्ति नभएको र बाहिरबाट आएर पनि कसैले सेवा गर्न नचाहेका कारण स्वास्थ्य सेवा प्रभावित भएको भन्दै गाउँपालिकाले हरेक वर्ष एक जनालाई एमबीबीएस डक्टर पढ्न छात्रवृत्ति दिने निर्णय गरेको हो ।

तातोपानी गाउँपालिकाले एमबीबीएस पढ्न छात्रवृत्ति दिने

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले हरेक शैक्षिकसत्रमा एक जनालाई छात्रवृत्तिमा एमबीबीएस पढाउने लक्ष्यसहित गाउँपालिकाले यस्तो निर्णय गरेको जानकारी दिए ।

गाउँपालिकाको १४ औं गाउँसभाले एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धी कार्यविधि २०८० पारित गरेको छ । कार्यविधि बनेपछि गाउँपालिकालाई छात्रवृत्तिमा एमबीबीएस पढाउने बाटो खुलेको हो । ‘स्वास्थ्य जनशक्ति नहुँदा देखिएका स्वास्थ्य समस्या समाधानको लागि पनि डक्टर पढाउने काम उपयुक्त हुने देखिन्छ,' प्रशासकीय अधिकृत कठायतले भने ।

कार्यविधिमा चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने एक जना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस अध्ययन छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ । एमबीबीएस पढ्न चाहिने खर्चको ५० प्रतिशत रकम पालिकाले बेहोर्ने गरी कार्यविधि बनेको छ ।

पालिकाले छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि कार्यविधिमा कोषको व्यवस्था गरेको छ । उक्त कोषमा चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ जम्मा गरिएको छ । कार्यविधि तत्काल राजपत्रमा प्रकाशित गरेर अर्को शैक्षिकसत्रमै एमबीबीएस डक्टर पढाउने कार्यविधि कार्यन्वयनमा आउने छ ।

कार्यविधिले पालिका अध्यक्ष नन्दप्रसाद चौलागाइको संयोजकत्वमा एमबीबीएस अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति बनाउने व्यवस्था गरेको छ । जसमा पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिको संयोजक, प्रधानाध्यापकहरु मध्येबाट १ जना, शिक्षाविद् १ जना, एक महिलासहित तीन जना खुला सदस्य र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव रहने गरी ९ जनाको हुने उल्लेख छ ।

रकम अभावका कारण एमबीबीएस पढ्न नपाएका विद्यार्थीहरुको लागि यो व्यवस्था गरिएको अध्यक्ष नन्दप्रसाद चौलागाइले जानकारी दिए । उनका अनुसार डक्टर पढ्न चाहने विद्यार्थीहरुको लागि पालिकाले दिएको सुनौलो अवसर पनि हो ।

प्रकाशित : माघ २७, २०८० १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?