चिसोले विरामी परेका भूकम्पपीडितको घरमै गएर स्वास्थ्योपचार

सल्यान — दार्मा गाउँपालिकामा चिसोले विरामी परेका भूकम्पपीडितको घरमै गएर स्वास्थ्योपचार थालिएको छ । चिसोका कारण बालबालिका, सुत्केरी, बृद्धबृद्धा विरामी परेपछि मंगलबारदेखि विरामीको घरघरमा गएर स्वास्थ्योपचार हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको संयुक्त आयोजनामा स्वास्थ्योपचार थालिएको हो ।
स्वास्थ्योपचारका लागि स्वास्थ्यसेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढामगर लगायत डाक्टर, स्वास्थ्यकर्मी र पालिकाको स्वास्थ्यकर्मीको सहित १४ जनाको टोली खटिएको छ । खटिएको टोलीले जनज्योती मावि फारुलामा अध्ययनरत विद्यार्थीबाट स्वास्थ्योपचार सुरु गरेको थियो ।
शिविर सञ्चालन गर्दा भौगोलिक विकटताका कारण पालिकाका सबैलाई समेटन नसकिने र विरामी परेका समेत उपचारका लागि जान नसक्ने अवस्था सिर्जना भएपछि विरामी परेकाको घरघरमा गएर स्वास्थ्योपचार गर्न थालिएको दार्मा गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।
स्वास्थ्योपचार मंगलबार र बुधबार दुई दिनसम्म सञ्चालन गरिने र आवस्यकता अनुसार समय थपिने उनले जानकारी दिए । ‘बालबालिकामा निमोनिया, बुढाबुढीमा दम र सुत्केरी तथा गर्भवती लगायत अन्यमा ज्वरोका समस्या देखिएपनि कसैले ज्यान गुमाएका छैनन’ उनले भने ।
उनका अनुसार भुकम्पका कारण दार्मामा झन्डै १ हजार १ सय बढि घर बस्नै नमिल्ने गरी क्षती भएका छन भने १ हजार बढि आशिंक क्षती भएका छन । जसका कारण २ हजार बढि विस्थापित भएर घर नजिकैको खुला स्थानमा त्रिपाल टागेर बस्दै आएका छन । खुला स्थानमा बस्नु पर्दा बालबालिकामा निमोनिया, सुत्केरी तथा अन्यमा ज्वरो र बुढाबुढीमा दमको समस्या बढी देखिएको थियो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले भूकम्पका कारण प्रभावित भएको दार्मामा चिसोले गर्दा बालबालिका, सुत्केरी तथा बुढाबुढी समस्यामा परेका कारण कुनै पनि रोगको महामारीको रुप लिन नपाओस भनि स्वास्थ्योपचार सेवा सञ्चालन गरेको बताए ।
