कर्णाली नदिमा एक महिलाको शव फेला

हुम्ला — हुम्ला सदरमुकाम सिमकोटदेखि करिब ४० किलोमिटरको दुरिमा रहेको राया नजिकै कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ । सोमबार बिहान खार्पुनाथ गाउँपालिका–३ को बोक्चेगौडा नजिकै कर्णाली नदीको किनारमा एक महिलाको शव फेला परेको हुम्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्दले बताए ।
माछा मार्न जाने स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीले करिब एक महिना अघिदेखि हराइरहेकी महिलाको बुवालाई शवको सनाखत गर्न आग्रह गरेको थियो । प्रहरीका अनुसार गत असोज १३ गते बुवाआमाको नाममा पत्र लेखेर सदरमुकाम सिमकोटबाट बेपत्ता भएकी खार्पुनाथ –२ थाली गाउँकी १६ वर्षीया सुजाता रावलको बुवा देबराज रावलले प्रहरीलाई शव उनकै भएको दाबी गरेका छन् ।सुजाताका आफन्तले उक्त शव उनकै भएको बताएका पनि शव सडेर नचिनिने अवस्थाको भएकाले डीएनए परीक्षण गरेर मात्रै शव कसको हो भन्ने यकिन गर्न सकिने जानकारी दिएको छ । अहिले पोस्टमार्टम र डीएनए परीक्षणका लागि शव जिल्ला अस्पताल सिमकोटमा ल्याएको प्रहरीले जनाएको छ ।
नाम्खा गाउँपालिका–४ याल्वाङ्गमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययन गर्दै आएकी सुजतालाई होस्टेलले निष्कासन गरेपछि बेपत्ता भएकी थिइन् । खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी रावल उक्त विद्यालयमा अध्ययन गर्ने र विद्यार्थीका लागि सञ्चालन गरिएको हिमालयन चिल्रेन्ड समाजको होस्टेलमा तीन वर्षदेखि बस्दै आएकी थिइन् । होस्टेलबाट निष्कासन गरेपछि सदरमुकाम सिमकोट पुगेर बुवाआमाको नाममा लेखेको ६ पेज लामो पत्र छोडेर उनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।