जुम्लामा दसैंलाई सहुलियतको चामल

जुम्ला — जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि सहुलियतको चामल बेच्ने भएको छ । कम्पनीले असोज २१ देखि मंसिर २ गतेसम्मका लागि सहुलियतको चामल बेच्न थालेको हो । यो पटकको दसैंमा जिरा मसिनो चामल सहुलियत दरमा बिक्री गर्न लागिएको हो ।

जिरा मसिनो चामलको भाउ प्रतिबोरा २ हजार ३ सय रुपैयाँ रहेकोमा दसैंका लागि २ हजार १ सय २५ रुपैयाँमा बेच्न थालिएको कम्पनीले जनाएको छ ।
दसैंका लागि १ हजार २ सय क्विन्टल चामल जुम्ला पुगिसकेको छ । कार्यालय प्रमुख निर्माण बिष्टले दसैंका लागि यो चामल पर्याप्त हुने बताए । ‘असोज २१ गतेदेखि सहुलियतको चामल बेच्ने तयारी भइरहेको छ’ उनले भने ‘वडाको सिफारिस ल्याएर पालिकैपिच्छे चामल दिने अवस्था देखिन्छ ।’ अहिले गोदाममा दसैंका लागि १ हजार २ सय, जिल्ला कारागार जुम्लाको लागि २ सय ८० र जन्म मृत्युका लागि १ सय ५० क्विन्टल चामल मौज्दात राखिएको छ ।
जुम्लाको वार्षिक कोटा ५ हजार ५ सय क्विन्टल हो । हालसम्म १ हजार ३ सय २० क्विन्टल चामल आइसकेको छ । ४ हजार १ सय ८० क्विन्टल चामल आउन बाँकी छ । यो जुम्लामा बर्सेनि आउने चामलको कोटा नभएको कार्यालयले जनाएको छ । जुम्ला शाखालाई मात्र वार्षिक रुपमा न्युनतम १५ हजार क्विन्टल चामल आवश्यक पर्छ । तर कोटा अनुसारको चामल ल्याउन निकै कठिन हुने गरेको दुखेसो खाद्य व्यवस्था कार्यालयको छ । चामल वितरणको लागि कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकाको लागि धापामा कम्पनीको डिपो छ । जहाँ वार्षिक एक हजार कोटा चामल आउने गर्छ । तर अहिलेसम्म कोटाको चामल पुगेको छैन ।
प्रकाशित : आश्विन १६, २०८० १९:१९