एमाले कर्णाली अधिवेशनको मतदान जारी

वीरेन्द्रनगर — एमालेको कर्णाली प्रदेश अधिवशेनको मतदान जारी छ । बुधबारबाट सुर्खेतको वीरेन्द्रनगरमा जारी अधिवेशनमा शनिबार दिउँसो १२ बजे मतदानको समय तोकिए पनि मतदान हुन सकेको थिएन ।

पटक -पटक सरेको मतदान कार्य अन्तिम पटक आइतबार दिउँसो १ बजेका लागि तोकिएको थियो । तोकिएको समयभन्दा केही समय ढिला गरी मतदान सुरु भएको निर्वाचन कमिटीले जनाएको छ ।
नेतृत्व चयनका लागि सहमतिको प्रयास सफल नभएपछि निर्वाचन घोषणा गरिएको थियो ।
एमाले कर्णाली प्रदेश अधिवेशनमा विभिन्न जिल्ला र मोर्चा संगठनबाट ६ सय ४ जना अधिवेशन प्रतिनिधि सहभागी छन्।
अध्यक्ष पदमा कालिकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालिकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रदेश समिति सचिवका लागिदैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको हो ।
उपाध्यक्ष पदमा जुम्लाका टेकराज पछाई , मुगुका दानसिंह परियार , जाजरकोटका लालबहादुर महताराबीच प्रतिस्पर्धा हुँदैछ ।
एमालेले प्रथम अधिवेशनबाट ५ पदाधिकारीसहित एक सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्नेछ ।
प्रकाशित : आश्विन १४, २०८० १४:२४