कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीकोटमा पहिरोको पूर्वसूचना दिन ‘रेन गज’ 

तुलाराम पाण्डे

कालीकोट — पहिरोको उच्च जोखिममा रहेको कालीकोटमा वर्षामापन यन्त्र (रेन गज) स्टेसन जडान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र नरहरिनाथ गाउँपालिकाको समन्वयमा कोटवाडा विमानस्थल हातामा रेन गज जडान गरिएको हो ।

कालीकोटमा पहिरोको पूर्वसूचना दिन ‘रेन गज’ 

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना २०८० मा यहाँका ७ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा राख्दै सर्तकताका लागि आह्वान गरेको छ ।

पहिरोको उच्च जोखिममा रहेको स्थानीय तहहरूको बीचमा पर्ने कोटवाडा विमानस्थलमा रेनगज स्टेशन जडान हुँदा वर्षाको मापन गर्न सहज हुने नागरिक समाजका अगुवा रमेश नेपालीले बताए ।

पहिरोको उच्च जोखिममा पर्ने नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, खाडाचक्र र शुभकालिका आसपासमा हुने वर्षा मापन गरी स्थानीयलाई सम्भावित पहिरोबाट बच्न पूर्व सूचना दिने उद्देश्यले रेन गज स्टेसन राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।

उनले भने, 'कालीकोटका ९ मध्ये ७ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा छन् । वर्षाको पूर्व सूचना लिन सहज होस् भनेर कोटवाडामा रेनगज राखिएको हो ।' कोटवाडा अन्य स्थानीय तहको सेन्टरमा पर्ने भएकाले यहाँबाट वर्षाबारे सूचना लिन सहज हुने उनले बताए ।

प्लान इन्टरनेशनलले विपद्को क्षेत्रमा काम गर्ने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालमार्फत ५ लाखको लागतमा रेनगज स्टेसन जडान गराएको हो । नरहरिनाथ गाउँपालिकाले वर्षामापन यन्त्रले मापन गरेको रिर्पोट नियमित संकलन गरेर सिस्टममा हाल्ने छ ।

सञ्चालन प्रक्रियाबारे जानकारी दिँदै गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले भने लगातार वर्षा भएपछि स्थानीयको मोबाइलमा पहिरो अलर्ट एप्लिकेसनमार्फत जानकारी लिन सकिन्छ । वर्षामापन यन्त्रले कोटवाडा विमानस्थलको मौसमबारे थाहा पाउन पनि सहज हुने उनले बताए ।

३ वर्षअघि यहाँका नरहरिनाथ, सान्नीत्रिवेणी र रास्कोट नगरपालिकामा वर्षापछिको पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएकाले पहिरोबारे पूर्व जानकारी दिएर स्थानीयलाई सुरक्षित बनाउन रेनगज स्टेसन राखिएको प्लान इन्टरनेशनलका वरिष्ठ प्राविधिक सल्लाहकार सन्तोष दाहालले बताए ।

'बाढीकोजस्तो पहिरोको पूर्व सूचना प्रणाली नेपालमा विकास भएको छैन । तर, वर्षाबारे स्थानीयलाई सही जानकारी दिन सके पहिरोको क्षति कम गर्न सकिन्छ,' उनले भने । कालीकोटको सदरमुकाम पश्चिम पर्ने नरहिरनाथ, सान्नीत्रिवेणी र रास्कोट क्षेत्रमा वर्षामापन यन्त्र नहुँदा ठूलो धनजनको क्षति भएको निष्कर्षको आधारमा रेन गज राख्ने योजना बनेको उनले बताए ।

सोलार सिष्टमसहित जडान भएको वर्षामापन यन्त्रले प्रत्येक १०/१० मिनेटमा मापन केन्द्रको भाँडोमा परेको पानी स्वचालित प्रणालीबाट सर्भरमा गएर रिर्पोट तयार हुने जडानमा कालीकोट आएका प्राविधिक शंकर बलामीले बताए ।

प्रकाशित : आश्विन १, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्