कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

४ महिनाअघि ५ रुपैयाँमा नबिकेको बन्दागोभी अहिले पुग्यो ५० रुपैयाँ

आश्विन १, २०८०
४ महिनाअघि ५ रुपैयाँमा नबिकेको बन्दागोभी अहिले पुग्यो ५० रुपैयाँ

सल्यान — ४ महिनाअघि भाउ नपाएर किसानको खेतबारीमै कुहिएको बन्दागोभीले अहिले उच्च भाउ पाएको छ । बुटवल, नारायणघाट लगायतका शहरमा माग बढेपछि किसानले उत्पादन गरेको बन्दागोभीले उच्च भाउ पाएको हो ।४ महिनाअघि प्रतिकिलो ५ रुपैयाँमा पनि बिक्री हुन नसकेको बन्दागोभी अहिले ५० देखि ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ ।

केही महिनाअघि कुहिएर खेर जाँदा एउटै किसानले दुई लाखसम्म घाटा ब्यहोर्नु परेको थियो । बन्दागोभीको भाउ उच्च भएपछि किसान खुसी भएका छन् ।

यसपटक तराईमा वर्षातले गर्दा उत्पादनमा गिरावट आएकै कारण बन्दागोभीले उच्च भाउ पाएको कपुरकोट गाउँपालिका– ५ का किसान तथा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए । वार्षिक ५ लाख बढीको बन्दागोभी बिक्री गर्दै आएकोमा यसपालि भाउ पाएपछि ८ लाखसम्मको बिक्री गरेको उनले जानकारी गराए । ‘कपुरकोटमा किसानले विगत ३० वर्षदेखि बेमौसमी तरकारी खेती गर्दै आएका छन्, बन्दागोभीको भाउ अहिलेसम्मकै उच्च हो’ उनले भने । अधिकांश तरकारीको भाउ बढिरहेकाले आफू मात्र नभई कपुरकोट गाउँपालिकाभित्रका किसानलाई धेरै फाइदा भएको उनको भनाइ छ ।

७ रोपनी जग्गामा बेमौसमी तरकारी खेती गरेर असार अघिसम्म १०/१२ रुपैयाँ प्रतिकिलो हाटबजारमा ल्याएर बिक्री गर्दै आएकी ललिता ओलीले धेरै वर्षपछि बन्दागोभीले राम्रो भाउ पाएको बताइन् । ‘गत वर्षसम्म बन्दागोभी बिक्री गरेर १ लाखदेखि १ लाख ५० हजारसम्म कमाइ हुन्थ्यो, अहिले दोब्बर भएको छ’ उनले भनिन् ।

बन्दागोभीले सोचे भन्दा बढी भाउ पाएपछि आफू मात्र नभई सबै किसान थप उत्साहित भएको कपुरकोट गाउँपालिका ४ किमुचौरका किसान दिपक पुनले बताए । वैशाख, जेठ महिनामा बिक्री नभएर कुहिँदा २ लाख बढीको घाटा भएकोमा अहिले भाउ बढेपछि घाटा पूर्ति भएको उनले बताए ।

कपुरकोट कृषि उपज केन्द्र तथा हाटबजार सञ्चालन समितिका अध्यक्ष तिलक शर्माले प्रतिकिलो ५० रुपैयाँसम्म बन्दा बिक्री भएपछि यसपालि असारदेखि भदौ दोस्रो सातासम्म झन्डै १ करोड रकम बराबरको २ लाख २३ हजार ६ सय ४२ किलो बन्दा बुटवल तथा नारायणघाट निकासी भएको बताए । वर्षातका कारण तराईमा तरकारी उत्पादनमा गिरावट आएपछि कपुरकोट, त्रिबेणी गाउँपालिका र रोल्पाका केही स्थानका किसानले उत्पादन गरेको बन्दागोभीले भाउ पाएको उनको भनाइ छ । यसबाट ३ हजार बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

कपुरकोट, त्रिबेणी गाउँपालिका र रोल्पाको केही स्थानबाट आएको तरकारी कपुरकोट हाटबजारबाट नेपालको काठमाडौं, बुटवल, नारायणघाट, धनगढी, नेपालगन्ज, दाङ्ग मात्र नभइ भारतका विभिन्न सहरमा जाने गरेको र वार्षिक ३० करोड भन्दा बढी भित्रिने गरेको उनको भनाइ छ ।


प्रकाशित : आश्विन १, २०८० १३:३६
×