मुगुको यार्सा प्रतिकेजी २८ लाखमा बिक्री


मुगु — मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिको पाटन क्षेत्रमा स्थानीयहरूले टिपेको यार्सा ब्यापारीले संकलन गरी प्रति केजी २८ लाख रुपैयाँमा बिक्री गर्न थालेका छन् ।


ब्यापारीले स्थानीयबाट प्रतिगोटा ६ सयदेखि बढीमा १२ सयमा खरिद गरी जिल्ला बाहिर लगेर प्रतिकेजी २८ लाखमा बेच्न थालेको बताइएको छ ।
कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा ब्यापारीले खरिद गरेको यार्सा प्रतिकेजी २८ लाखमा बिक्री भएको वडा नं. २ मुगु गाउँका वडाअध्यक्ष च्याँवा तामाङले बताए ।
साना यार्सा प्रतिकेजी २१ लाख र ठूलो खाल्वा यार्सा प्रतिकेजी २८ लाखमा बिक्री भएको उनले बताए । मुगुमा ब्यापारीले संकलन गरेको यार्सा काठमाडौं लगेर तिब्बती ब्यापारीलाई प्रतिकेजी २८ लाखमा बेच्ने गरेको पनि वडा अध्यक्षले बताए ।
तर ब्यापारीहरूले स्थानीय संकलकबाट प्रतिकेजी यार्सा १८ लाखसम्म किन्ने गरेको गरेको बताइन्छ । जिल्ला बाहिर लगेपछि भने उनीहरूले न्यूनतम २१ लाखदेखि २८ लाख प्रतिकेजीमा बिक्री गर्ने गरेका छन् ।
बजारमा भने यार्सा किन्न तिब्बतबाट ब्यापारीहरू काठमाडौंसम्म आउने गर्छन् । तर मुगुको उत्तरी नाक्चेनाङला नाका नखोल्दा संकलन गरिएको यार्सा काठमाडौंतर्फ निकासी गर्न थालिएको छ । विगतका वर्षहरुमा ब्यापारीले मुगु नाक्चेनाङला नाकाबाटै अवैध रुपमा यार्सा तिब्बत पुर्याएर बेच्ने गर्थे तर हाल नाका नखुल्दा यहाँको यार्सा नेपालगञ्ज र काठमाडौं निर्यात गरिन्छ ।
कोरोना महामारी फैलिएदेखि तिब्बतले मुगुको नाक्चेनाङला नाका बन्द गरेको र यो वर्ष पनि नाका नखुल्दा जडिबुटी बिक्रीमा समस्या भएको स्थानीयहरूको दुखेसो छ । मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके लगायत पाटन क्षेत्रमा स्थानीयले संकलन गर्ने यार्सा यो बर्ष बढी मूल्यमा खरिद बिक्री भएको छ ।
तीन वर्षअघिसम्म भने स्थानीयले ब्यापारीलाई प्रतिगोटा यार्सा ३ सय देखि ५ सयमा बेच्ने र ब्यापारीले प्रति केजी १० देखि १२ लाखमा बेच्दै आएको यार्सा यस वर्ष प्रतिकेजी २८ लाखमा बिक्री भएको हो । यससँगै पाटन क्षेत्रमा यार्सा टिप्ने प्रत्येक व्यक्तिले यस सिजनमा न्यूनतम ३ लाखदेखि ५ लाखसम्म कमाएका छन् ।
यसैबीच, मुगुम कार्मारोङ गाउँपालिकाले पाटनमा यार्सा टिप्न जाने स्थानीयबाट प्रवेश शुल्कवापत ४५ लाख राजश्व संकलन गरेको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले जानकारी दिए । जेठ महिना सुरु भएपछि पालिकाले स्थानीयलाई यार्सा टिप्ने अनुमति दिने गरेको र उनीहरू करिब एक महिनासम्म पाटनमै यार्सा टिपेर घर फर्किने गरेका छन् ।
प्रकाशित : भाद्र ३०, २०८० १७:५३