कालीकोटका धामीझाँक्री र पुरोहित बालविवाहविरुद्ध

तुलाराम पाण्डे

कालीकोट — सामाजिक अपराधका रुपमा रहेको बालविवाह रोक्न यहाँका धामीझाँक्री र पुरोहितहरू सक्रिय भएका छन् । बालविवाहले बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र विकासमा नकारात्मक असर पुगेको भन्दै शुभकालिका र तिलागुफाका धार्मिक अगुवाहरू नै बालविवाहविरुद्ध सक्रिय भएका हुन् ।

कालीकोटका धामीझाँक्री र पुरोहित बालविवाहविरुद्ध

शुभकालिका र तिलागुफासहित जिल्लाभरका ३ सयभन्दा बढी धामीझाँक्री र पुरोहितहरुले बालविवाहलाई अपराधका रुपमा व्याख्या गर्दै बालविवाह नगर्ने नगराउने बाचासहित समुदायमा सचेतनाका अभियान संचालन गर्ने प्रतिबद्धता गरेका छन् । सामाजिक अपराधको रुपमा रहेको बालविवाहविरुद्ध सक्रिय धामी झाँक्री, ज्योतिषी र पुरोहितलाई स्थानीय तहले सम्मान पनि गरेको छ ।

स्थानीय तहको अगुवाइमा बालविवाहविरुद्ध अभियान चलाइरहेका संघसंस्थाको सहजीकरणमा बालविवाह अन्त्य गर्न धामीझाँक्री र पुरोहितको मुख्य भूमिका हुने ठहर गर्दै उनीहरुलाई नै सक्रिय गर्न सम्मेलनको आयोजना गरिएको बताइएको छ । शुभकालिका गाउँपालिकाको केन्द्र सुकाटियामा आयोजित सम्मेलनमा जिल्लाका सरोकारवालाको रोहवरमा धार्मिक अगुवाका रुपमा रहेका धामीझाँक्री र पुरोहितले २० वर्ष नपुग्दासम्म कसैको लगन नदिने, विवाह हुन लागेको थाहा पाए नगर्न सल्लाह सुझाव दिने, अटेर गरे कानुन कार्यान्वयन गर्ने निकायमा खबर गर्ने र आफू कसैको पनि बालविवाहमा सहभागी नहुने बाचासहित देवीदेवताको कसम खाएर सामूहिक प्रतिबद्धता गरे ।

'बालविवाहले हुने असरबारे थाहा नहुँदा गल्ती पनि भयो होला । तर अबदेखि बालविवाहमा कहिल्यै कोही पनि संलग्न हुने छैनौं,' शुभकालिका ३ भर्ताका धामी सिरे अधिकारीले भने । नैनेलदेव देवताका धामी अधिकारीले भने राज्यको ऐनभन्दा दराखोलाको चैन (समाजको चालचलन) शक्तिशाली हुने भए पनि बालविवाहले कसैलाई पनि फाइदा नगर्ने बताए । उनले त्यसविरुद्ध लाग्ने प्रतिबद्धता पनि गरे ।

देवीदेवतामा बढी विश्वास गर्ने समुदायमा धामीहरु टोलटोल पुगेर बालविवाहविरुद्ध अभियान संचालन गरेर सम्मेलनमा आएको सुकाटिया ५ का खापर देवताका धामी पदम शाहीले बताए । गाउँका धार्मिक अगुवा, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी कर्मचारी नै बालविवाहविरुद्ध सक्रिय भएपछि यही भदौमा शुभकालिका ४ र ५ नं वडालाई बालविवाह निषेधित गाउँ घोषणा गरिएको गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बताए ।

बालविवाहविरुद्ध धामीझाँक्री र पुरोहित सक्रिय भएपछि आफ्नो गाउँपालिका नै बालविवाह निषेधित बन्ने क्रममा रहेको उनले बताए । 'अपराधलाई समाजसँग जोडेर चालचलनको नाममा बढ्वा दिनु हुन्न ।धर्मशास्त्रमा कतै पनि अपराध गर भनेको छैन,' उनले भने ।

सबै ग्रन्थहरूले असल चरित्र, संस्कार र मानव कल्याणमा जोड दिएको तर्क गर्दै समाजमा रहेको बालविवाह, बहुविवाह, छुवाछुतजस्ता विकृति अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । यस क्रममा शुभकालिकाका ८ मध्ये ६ वटा वडा बालविवाह निषेधित क्षेत्र घोषणा भइसकेका छन् भने वडा नं ३ भर्तालाई आगामी असोज १९ गते र आदिवासी जनजातिको बाहुल्य रहेको छाती गाउँलाई मंसिरसम्म बालविवाह निषेधित घोषणा गरिने बताए ।

समाजमा रहेका कुरिति हटाउन गाउँपालिकाले महिला तथा बालबालिका लक्षित कार्यक्रममा जोड दिएको भन्दै उपाध्यक्ष धर्मकला शाहीले बालविवाहजस्तो सामाजिक कुसंस्कार रोक्न साझा अभियानको थालनी भएको बताइन् ।

कानुनले अपराधको रुपमा लिए पनि समाजले अपराध नमान्दा बालविवाह नरोकिएको पाइएपछि सामाजिक अगुवाको रुपमा रहेका धामीझाँक्री र पुरोहितलाई नै लक्षित गरी शुभकालिका र तिलागुफामा बालविवाहविरुद्धको अभियान संचालन भएको बाल अधिकारकर्मी बाले विश्वकर्माले बताए । उनले बालविवाह रोक्न बालबालिका, धार्मिक अगुवा, जनप्रतिनिधि सबै लागेको बताए ।

उनले एक वर्षमा १३ वटा विवाह उमेर नपुगेको भन्दै रद्द गरेको पनि बताए । साथै अरुलाई पनि त्यस्ता विवाह रद्द गर्न उनले आह्वान गरेका छन् ।

तिलागुफा नगरपालिकाले पनि पालिकास्तरीय धामीझाँक्री तथा पुरोहित सम्मेलन गरेर बालविवाहविरुद्ध अभियानको थालनी गर्दा नगरमा बालविवाह गर्ने क्रम रोकिएको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए । उनले ५ वर्षअघिसम्म ५२ प्रतिशत रहेको बालविवाह हाल घटेर १० प्रतिशतमा झरेको सुनाउँदै यहाँका ११ मध्ये ८ वटा वडाहरु पनि नयाँ संरचनासँगै बालविवाह निषेधित गाउँ घोषणा गरिएको बताए ।

कालीकोटमा अझै पनि बालविवाहको दर सरदर ३४ प्रतिशत छ । केही विकास साझेदार संस्थाहरु सेभ द चिल्ड्रेन, प्लान नेपाल लगायतले भने यस्ता कार्यक्रमका लागि सहयोग गर्दै आएका छन् ।

साथै जिल्ला प्रहरीले पनि जिल्लाभरका ५२ वटा विद्यालयमा एक वर्षको अवधिमा ७६ पटक बालविवाह लगायतका अपराधबारे सचेतनाका कक्षा संचालन गरेको प्रहरी निरीक्षक यज्ञराज जोशीले बताए । उनका अनुसार एक वर्षको अवधिमा प्रहरीले चारवटा बालविवाहका मुद्दा चलाएको छ भने १ सय ९ वटा विवाह रोकेको छ ।

प्रकाशित : भाद्र ३०, २०८० १५:३९
प्रतिक्रिया
पठाउनुहोस्