मुगुमा पनि भेटिए डेंगीका बिरामी


मुगु — जिल्ला अस्पतालमा डेंगी संक्रमणका बिरामी फेला परेका छन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, रक्तचाप घट्ने, शरीरमा पानीको मात्रा घट्ने र शरीरमा आलस्य आउने भएपछि अस्पताल आएका बिरामीहरूको चेक जाँच गर्दा डेंगी रोग पुष्टि भएको चिकित्सक अर्जन भामले बताए ।


अहिलेसम्म तीन जना बिरामीलाई डेंगीको संक्रमण देखिएको उनले बताए । अस्पताल जाँच गर्न नआइ घरमै यस रोगले थलिएका बिरामी पनि हुन सक्ने उनले बताए ।
हिमाली जिल्ला भएकाले विगतमा यो रोग नदेखिएको भएपनि पछिल्लो समयमा नेपालगन्ज, सुर्खेतबाट गाडीहरू धमाधम मुगु आउँदा लामखुट्टेहरू गाडीसँगै जिल्लामा भित्रिँदा डेंगीको संक्रमण बिस्तारै देखिन थालेको अस्पतालले जनाएको छ ।
डेंगी संक्रमितले अत्यधिक मात्रामा पानी खानु पर्ने र शरीरलाई सुख्खा राख्न पनि नहुने चिकित्सकको भनाइ छ । यो रोग लामखुट्टेको टोकाइका कारणले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने डाक्टर नकुल शाहीले जानकारी दिए । गाउँ बस्तीहरूमा प्रायजसो ज्वरोका बिरामीहरू बढेकाले सचेत नरहे यसले महामारीको रुप पनि लिन सक्ने उनको भनाइ छ ।
प्रकाशित : भाद्र ३०, २०८० १३:४५