प्रदेश अधिवेशनका लागि शनिबार प्रतिनिधि छनोट गर्दै एमाले कर्णाली

तृप्ति शाही

वीरेन्द्रनगर — नेकपा एमाले कर्णालीले असोज १० र ११ गते हुने प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि छनोट गर्दैछ । एमालेले प्रदेशभर एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय गरेको थियो । कर्णालीमा एमालेका सङ्गठित सदस्य ५१ हजार ९९८ जना छन्।

प्रदेश अधिवेशनका लागि शनिबार प्रतिनिधि छनोट गर्दै एमाले कर्णाली

एमालेले अधिवेशनका लागि कर्णालीका १० वटा जिल्लाबाट गरी ५५४ र एमालेका जनवर्गीय सङ्गठनहरूबाट ५० जना गरी जम्मा ६०४ जना प्रतिनिधि छनोट भएर आउने बताइएको छ ।

सबैभन्दा बढी प्रतिनिधि सुर्खेतबाट चयन हुनेछन् । १० हजार ५५८ जना पार्टी सदस्य रहेका यहाँबाट ११२ जना प्रतिनिधि छनोट हुनेछन्। तीन हजार ५८८ पार्टी सदस्य रहेको सल्यानबाट ३८ जना प्रतिनिधि छनोट हुनेछन्। दुई हजार १७० सङ्गठित सदस्य रहेको रुकुम पश्चिबाट २३ जना प्रतिनिधि छनोट हुनेछन्। मुगुमा एमालेका तीन हजार ३१ जना सङ्गठित सदस्य रहेका छन् । यहाँबाट ३२ जना प्रतिनिधि चयन हुने छन्।

हिमाली जिल्ला हुम्ला चार हजार ६६५ जना सङ्गठित सदस्य रहेका छन्। यहाँबाट ४८ जना प्रतिनिधि छनौट हुने भएका छन्। ६ हजार ८०२ पार्टी सदस्य रहेको जाजरकोटबाट ७३ जना प्रतिनिधि चयन हुनेछन्।

तीन हजार ८३६ जना सङ्गठित सदस्य रहेको डोल्पाबाट ३९ जना प्रतिनिधि चयन लागेका छन्। चार हजार ५९२ जना सङ्गठित सदस्य सङ्ख्या रहेको जुम्लाबाट ४८ जना प्रतिनिधि चयन हुनेछन्।

६ हजार १०३ पार्टी सदस्य रहेको कालिकोटबाट ६५ जना प्रतिनिधि छनोट हुनेछन् । ६ हजार ६५३ सङ्गठित सदस्य रहेको दैलेखबाट ७५ जना प्रतिनिधि छनोट हुनेछन्। प्रदेशभरबाट खुल्ला महिलातर्फबाट १४३, पुरुषतर्फ २९७, दलित महिलातर्फबाट ३७ जना र दलित पुरुषबाट ७५ जना प्रतिनिधि छनोट हुनेछन्।

पार्टीका २२ वटा जनवर्गीय सङ्गठनहरू मध्ये २१ वटा सङ्गठनलाई प्रतिनिधि चयनका लागि एमालेले निर्देशन दिइसकेको छ। ८ वटा जनवर्गीय सङ्गठनले ३/३ जना र १३ वटा सङ्गठनले दुई–दुई जना प्रतिनिधि चयन गर्न पाउने छन्।

प्रकाशित : भाद्र ३०, २०८० ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्