चंखेलीको लोती खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा

जनकबहादुर शाही

हुम्ला — चंखेली गाउँपालिकाको लोती खोलामा पुल नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पछिल्लो समय ग्रामीण क्षेत्रसम्म यातायात सुविधा पुगे पनि खोलामा मोटरेबल पुल नभएका कारण स्थानीय यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

चंखेलीको लोती खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा

चंखेलीका गाउँ बस्तीमा सडक पुगे पनि पालिका केन्द्र जोड्न लोती खोलामा पुल नहुँदा ज्यान जोखिममा राखेर नदी पार गरी पालिका केन्द्र र सदरमुकाममा आउजाउ गर्नुपर्ने स्थानीयको बाध्यता रहेको चंखेली २ का स्थानीय गिर्वाण शाहीले बताए ।

अहिले पानीको बाहब नदढ्दै खोलाले धार परिवर्तन गर्दा गत कात्तिकमा पूर्वाधार विकास कार्यालयले निर्माण गरेको काठेपुल एकातिर नदीको धार एकातिर हुँदा साना सवारी साधन मोटरसाईकल र जिपमा यात्रा गर्ने यात्रुहरुलाई झन समस्या भएको शाहीले बताए ।

यो सडकबाट चंखेलीबासी मात्र होइनन् सदरमुकामदेखि मुगु, जुम्ला कालिकोट, दैलेख हुँदै प्रदेश राजधानी सुर्खेत तथा सङ्गीय राजधानी काठमाडौं लगायत अन्य क्षेत्रको लामो यात्रामा निस्कनु पर्दासमेत स्थानीयले यो सडक प्रयोग गरे पनि लोती खोलामा पुल नहुँदा यात्रुहरु नदीमा जोखिम मोलेर यात्रा गर्न पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

पछिल्लो समय ग्रामीण क्षेत्रसम्म सडकको पहुँच विस्तार भएपछि यातायात सुविधा उपभोग गर्न पाएका स्थानीयका लागि सुविधासँगै जोखिम पनि बढेको छ । अधिकांश ग्रामीण सडक मापदण्ड अनुसार नबेका कारण साथै स्थानीय खोला र नदीमा पुल नहुँदा यात्रा जोखिमपूर्ण रहेको चंखेलीका स्थानीय नरप्रसाद चौलागाईले बताए ।

लोती खोलामा मोटरेबल पुल नभएर जनताले दु:ख पाएपछि पूर्वाधार विकास कार्यालयले गत कात्तिकमा १० लाख खर्चेर काठे पुल बनाएको थियो । तर पुल होचो भएकाले पानीको बाहब बढ्ने बित्तिकै पुल नै बगाउने जोखिम छ ।

यसबीचमा नदीले धार नै परिवर्तन गरेपछि पुलमुनि पानी नभएर अन्यत्रबाटै पानी बगिरहेको छ । जसकारण ठूला गाडीहरु नदीबाटै वारपार गरे पनि साना सवारी साधन मोटरसाइकल र जिपहरुलाई बोकेरै वारपार गराउनुपर्ने बाध्यता छ ।

चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार सडक बने पनि स्थानीय खोलाहरूमा मोटरेबल पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पूर्वाधार विकास कार्यालयले काठे पुल निर्माण गरेपछि २, ३ वर्ष यही पुलबाट काम चलेको थियो । तर नदीले धार परिवर्तन गरिदिएपछि स्थानीयहरूले सास्ती बेहोर्नुपरेको छ ।

पुल नहुँदा जिल्लाका दक्षिणी भेग ताजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिकाका अधिकांश मानिसहरू प्रभावित बनेका छन् ।

प्रकाशित : जेष्ठ १९, २०८० १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?