२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लम्पी स्किन रोगबाट सल्यानमा दुई महिनामा ९९२ गाईगोरू मरे

विप्लव महर्जन

सल्यान — दुई महिना अघि कालिमाटी गाउँपालिकाको केही वडामा गाईगोरुमा देखिएको लम्की स्किन रोग जिल्लाका सबै पालिकामा महामारीको रुपमा फैलिएको छ । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी गाईगोरुलाई सामुहिक रुपमा बाँध्ने क्रमलाई निरन्तरता दिएपछि रोगले महामारीको रुप लिएको हो । 

लम्पी स्किन रोगबाट सल्यानमा दुई महिनामा ९९२ गाईगोरू मरे

महामारीका कारण दुई महिनाको अवधिमा जिल्लाभरका १० स्थानीयतहका किसानले पालेका ९ सय ९२ गाईगोरु, भैंसी, बाच्छाबाच्छी मरेका छन् । किसानले पालेका ३१ हजार गाईगोरु रोगबाट संक्रमित छन् । पशु अस्पताल तथा पशु कार्यालय सल्यान लगायत जिल्लाका १० वटै पालिकाले प्राविधिक खटाएर उपचार गर्दै आएपनि गाईगोरु मर्न छाडेका छैनन् ।

पशु अस्पताल तथा पसु सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार जिल्लाको १० स्थानीय तहमध्ये शारदामा १ सय ३, बन्गाड कुपिण्डेमा १ सय ५०, बाग्चौर नगरपालिकामा १ सय २१, कालिमाटीमा ५६, त्रिबेणीमा ३६, सिद्धकुमाखमा ९०, कपुरकोटमा ७४, दार्मामा ९२, छत्रेस्वरीमा ३१ र कुमाख गाउँपालिकामा ७२ गाईगोरु मरिसकेका छन् ।

यस्तै कार्यालयको तथ्यांकअनुसार शारदामा ४ हजार ६ सय १६, बन्गाडमा ३ हजार ५ सय, बाग्चौर नगरपालिकामा ४ हजार १ सय २४ , कालिमाटीमा ३ हजार ३ सय १०, छत्रेस्वरीमा २ हजार ३ सय, त्रिबेणीमा २ हजार ८०, सिद्धकुमाखमा १ हजार ८ सय ९०, कपुरकोटमा २ हजार २ सय ५१, कुमाखमा ५ हजार ३ सय १७ र दार्मा गाउँपालिकामा १ हजार ९ सय ७८ संक्रमित भएका छन ।

जिल्लाभरका ३१ हजार ६ सय किसानले झन्डै ७० हजार भन्दा बढी गाईगोरु पाल्दै आएका छन् । लम्की स्किन रोगका कारण ८० प्रतिशत भन्दा बढी गाईवस्तु प्रभावित भएका छन् । खेतीपाती गर्ने समयमा रोगले धमाधम गोरु मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । अहिले किसानले खेत जोत्ने गोरु पाउन सकेका छैनन् ।

पशु अस्पताल तथा पशु शाखा कार्यालय सल्यानका प्रमुख गोबिन्दबहादुर महतका अनुसार जिल्लाका सबै पालिकामा लम्पी स्किन रोगको महामारीले किसानलाई क्षति पुयाएको छ । रोग नियन्त्रणका लागि कर्णाली प्रदेशले हाललाई २ हजार डोज खोप उपलब्ध गराएको छ । अहिले विभिन्न पालिकालाई उपलब्ध गराई प्राविधिक खटाएर धमाधम गाईगोरुमा लगाउन थालिएको उनले जानकारी गराए । उनका अनुसार सल्यान जिल्लाको लागि ३ हजार डोज खोप माग गरिएको थियो । १ हजार डोज खोप आउन बाँकी छ । खोप लगाएपछि रोग पूर्ण रुपमा नियन्त्रणमा आउने छ ।

पशु प्राविधिकले सामान्य उपचार गरेपनि रोग नियन्त्रणमा नआई आफ्नो दुई वटा गोरु मरेको र अन्यको पनि धमाधम मरेपछि अहिले मकै छर्न, खेतमा धानको ब्याड राख्ने बेलामा हाते ट्याक्टरको भर पर्नु परेको बन्गाड कुपिण्डे नगरपालिका ९ का किसान केशव बुढाथोकीले बताए । रोगले गाईगोरु मर्न थालेपछि आर्थिक मात्र नभई मानसिक तनाव बढदै गएको उनको भनाइ छ । ‘महामारीका कारण गाईगोरु र बाच्छाबाच्छी मरेपछि त्यसको असर मान्छेमा पर्ने डर बढदै गएको छ’ उनले भने ‘घरमा भएका दुई हल गोरु मरेपछि मकै छर्न गाह्रो भएको छ’ ।

कालिमाटी गाउँपालिका २ का किसान ईन्द्रबहादुर खडकाले झन्डै एक महिना देखि देखिएको लम्पी स्किन रोग पहिला भन्दा केही कम भएपनि फाट्टफुट्ट गाईगोरु मरिरहेका बताए । पालिकाले सामान्य उपचार गरेर ठिक भए भनिएका गाईगोरु पनि पछिल्लो समय बिरामी परिरहेको उनले बताए ।


प्रकाशित : जेष्ठ १९, २०८० १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?