१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कर्णाली राजमार्ग जीर्ण

कर्णाली राजमार्ग स्तरवृद्धि राजनीतिक दलका चुनावी नारामात्र
साँघुरो सडकले सास्ती, गाडी पास गर्न घण्टौं कुर्नुपर्ने बाध्यता
तुलाराम पाण्डे

कालीकोट — कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक कालोपत्र भएको एक दशक नपुग्दै जीर्ण बनेको छ । ३२ वर्षअघि निर्माण सुरु भएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्डको १८ वर्षअघि ट्र्याक खुलेको थियो ।

कर्णाली राजमार्ग जीर्ण

विश्व बैंकको सहयोगमा सडक विभागअन्तर्गतको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टले दुई चरणमा ओटासिल प्रविधिको कालोपत्र (पिच) गरेको सडक उप्किएर जीर्ण बनेको हो ।

दुई चरणमा गरी झन्डै ३ अर्ब खर्च गरेको सडक जीर्ण छ । सडक विभागले बर्सेनि करोडौंको ठेक्कामार्फत सडक मर्मत सुधारको नाममा टालटुल गर्दै आएको भए पनि भरपर्दो बनेको छैन । ‘बर्सेनि टेन्डर भएर काम गरेजस्तो गर्छन्,’ खाडाचक्र नगरपालिकाका पूर्वउपप्रमुख विजया विष्टले भनिन्, ‘टालटुलमै करोडौं खर्च हुने गर्छ ।’ उनले दैलेखको जाक्सी खोला र कालीकोटको टाकुल्ला खोला पुल १२ वर्षदेखि अलपत्र रहेको पनि सुनाइन् ।

कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपले जोडेको छ भने अछाम, बाजुराका बासिन्दाको आवागमनसमेत सहज बनाएको छ । कर्णाली राजमार्ग कतिपय ठाउँमा सडक ५ मिटरमात्र चौडा हुँदा गाडी दोहोरो पास हुने समस्या छ । साँघुरो र अप्ठ्यारो भीर भएको ठाउँमा गाडी पास गर्न कठिनाइ भएको यस रुटका चालक पदम विश्वकर्माले बताए ।कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक खण्डको कालीकोट तिलागुफा-७ बालीमा गत असोजमा वर्षाले भत्किएको सडकमा पर्खाल लगाउँदै स्थानीय महिलाहरु । तस्बिर : तुलाराम/कान्तिपुर

सुर्खेतबाट जुम्ला जान लागेको यात्रुवाहक बस मंगलबार दिउँसो कालीकोटको दैखोला–जिते खण्डको छहरा भीर पुगेको थियो । जुम्लाबाट आएको ट्रक र बस दोहोरो छिर्न नसक्दा बेलुकीसम्मै जाम पर्‍यो । ‘३ घण्टापछि बल्लतल्ल सडक खुल्यो तर गाडी मान्ममै बास बस्नुपरेको थियो,’ जुम्ला सिंजाका जीवन बडुवालले गुनासो पोखे, ‘साँघुरो बाटोले सास्ती पाइयो ।’ राजमार्गको कालीकोट खण्डमा बढी भीर भएकाले एउटा गाडी रोकिए दिनभर जाममा फस्नुपर्ने बाध्यता छ ।

जुम्ला, मुगु र कालीकोट गरी तीनवटै जिल्लाका राजनीतिक दलले संघ र प्रदेशको चुनाव नजिकिँदै गर्दा कर्णाली राजमार्गको स्तरोन्नति गर्ने, दुई लेन बनाउने, पिच गर्ने भनेर चुनावी नारा बनाउने गरेका छन् । गएको मंसिरको चुनावमा अहिले सत्तारूढ माओवादी, कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनले कर्णाली राजमार्गको स्तरोन्नतिलाई प्राथमिकताका साथ चुनावी एजेन्डा बनाएका थिए । यसैगरी प्रतिपक्ष एमालेको नारा पनि राजमार्ग स्तरोन्नति गर्ने भनेको थियो । तर, भर्खरै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर्णाली राजमार्गबारे कतै उल्लेख नहुँदा यहाँका नागरिक निराश छन् ।

‘दलहरूले भोट पाउन चुनावका बेला कर्णाली राजमार्ग सम्झिन्छन्,’ खाडाचक्र–२ का नागरिक अगुवा रमेश नेपालीले भने, ‘चुनाव सकियो । सत्तामा पुग्नमात्रै ध्यान दिए । आफ्नै दलको घोषणापत्रमा उल्लेख गरेका कर्णाली राजमार्गलाई बिर्से । त्यसैले यो वर्षको बजेटमा पनि कर्णाली पर्न सकेन ।’ कर्णालीलाई भाषण र नारामा मात्र सीमित भएप्रति दुःख व्यक्त गरे । कर्णालीमा आउने विकास योजना पनि पारदर्शी नरहेको र रकम दुरुपयोग हुने गरेको सुनाए । साविकको कर्णालीको जुम्लाबाहेकका जिल्लामा राष्ट्रियस्तरका योजनामा पर्न सकेको छैन ।

पहिलो स्थानीय तहको चुनावदेखि नै कर्णालीका जनप्रतिनिधिले कर्णाली राजमार्गको स्तरोन्नति र पक्की पुल निर्माणलाई प्रमुखताका साथ उठाएको तर अझै सुनुवाइ नभएको शुभकालिका गाउँपालिकाका पूर्वअध्यक्ष खडानन्द चौलागार्इंले बताए । ‘कर्णाली राजमार्ग गतिलो हुने हो भने सडकले गाउँ जोड्न कठिनाइ हुँदैन,’ राजमार्गको बिजोग जनप्रतिनिधिले ठम्याउन नसकेको उल्लेख गर्दै उनले भने, ‘पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ । स्तरवृद्धि गर्न सके नागरिकको दैनिक जीवनयापनमा सहज हुने थियो ।’

कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्डको कालीकोट टिमुरे भीरमा ट्रक बिग्रिएर जाममा परेका गाडीहरू । तस्बिर : तुलाराम/कान्तिपुर

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०४८ मा कर्णाली राजमार्गको शिलान्यास गरेका थिए । सडक निर्माण कार्य सशस्त्र द्वन्द्वको चपेटामा पर्‍यो । सडक जुम्ला पुर्‍याउन बजेटको अभाव खेप्यो । त्यति हुँदाहुँदै सरकारले चट्टान विस्फोटसहित सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि ०६३ चैत ३० गते सुर्खेत–जुम्ला सडकमार्गको ट्र्याक खुलेको थियो ।

ट्र्याक खुलेपछि पहिलो चरणमा सुर्खेतबाट खिड्कीज्युलासम्म १ सय २६ किलोमिटर सिंगल लेनमा ओटासिल पिच गरिएको थियो । दोस्रो चरणमा खिड्कीज्युलादेखि जुम्लासम्म १ सय ७ किमि ओटासिल पिच गरिएको थियो । पिच गरिएको ९० प्रतिशत सडकको कालोपत्र उप्किएको छ । सस्तो प्रविधिको ओटासिल पिच हालिएको ५ वर्षमै सबैजसो ठाउँमा उप्किएपछि सडक हिलाम्मे र धुलाम्मे अवस्थामा छ । यसो त करिब ७ किमि सडक पहिले पिच गर्न छुटेको थियो । सुर्खेतबाट जुम्लासम्म पुल निर्माण भएको छैन । ठाउँठाउँमा पहिरो बग्ने गरेको छ ।

सडक पुग्दा खुसी भएका कर्णालीवासी सरकारले राजमार्गको स्तरवृद्धिमा ध्यान नदिएको गुनासो गर्छन्् । ‘सडकले सुविधा पाउँदा धेरै सजिलो भएको छ,’ जुम्ला तिला–२ का नवराज नेपालीले भने, ‘अचेल पहिलेकै जस्तो कच्ची र खाल्डाखुल्डी भइसके । कर्णालीमा पुग्ने एक मात्र राजमार्ग पुलसहित पक्की बन्न पाए हाम्रो भाग्यमा घाम उदाउँथ्यो । हामीलाई अरू विकास चाहिएको छैन ।’ राजमार्गको जुम्ला खण्ड फराकिलो भएकाले ३० किमि पार गर्न एक घण्टा लाग्ने सुनाए । जीर्ण र साँघुरो सडक हुँदा सुर्खेतबाट जुम्ला पुग्न दुई दिन लाग्ने गरेको छ ।

कर्णाली राजमार्गको सुर्खेतदेखि दैलेख दैखोला खण्डमा २१ करोड बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलले बताए । राजमार्ग स्तरोन्नति र पुनःस्थापना कार्यक्रमअन्तर्गत ५ करोड, सडक बोर्डबाट १ करोड बजेट रहेको सुनाए । यसैगरी गत असोज १९ पछिको अविरल वर्षाले क्षतविक्षत पारेको कर्णाली राजमार्ग मर्मत सुधारका लागि १५ करोड बजेट रहेको र टेन्डरमार्फत काम भइरहेको जनाए । ‘बजेट नै थोरै छ,’ उनले भने, ‘दसैंको बेला पहिरोले क्षति गरेको स्ट्रक्चरका लागि फागुनमा टेन्डर भएर काम भइरहेको छ ।’ बजेट थोरै भएकाले यो वर्ष भत्किएको ठाउँमा पिच नसकिने बताए ।

गत असोजको वर्षाले भत्किएको कालीकोटको सुनार खोला, पिली सेरावाडा, बाली, टाकुल्लालगायतका ठाउँमा सडक निर्माणको काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपक विष्टले बताए । अप्ठेरो ठाउँमा मर्मत सुधारको काम भइरहेको छ । ‘मान्मको सुनार खोलाको पहिरो सुधार हुँदै छ,’ १२ वर्षदेखि अलपत्र परेको तिलागुफा–७ टाकुल्ला खोलामा बेलिब्रिज हाल्ने तयारी भइरहेको जनाउँदै भने, ‘बजेट कम भएकाले सडक चौडा गर्न सम्भव भएन ।’

राजमार्गको स्तरवृद्धि नहुँदा बेलाबेलामा भयानक दुर्घटना हुने गरेको छ । तिलागुफा नगरपालिका–१ नाग्मका व्यवसायी मायालाल महताराले भने, ‘जीर्ण र धुलाम्मे सडकले सास्ती छ ।’ सडक स्तरोन्नति भएमा कर्णाली क्षेत्रमा उत्पादित फलफूल र खाद्यान्न सुर्खेत, नेपालगन्ज, बुटवल, काठमाडौंलगायतका सहरमा पुर्‍याउन सहज हुने महताराले सुनाए । ‘सडक गतिलो नहुँदा स्याउ बाटोमै दाग लागेर कुहिन्छ,’ उनले भने, ‘सडक राम्रो नहुँदा ढुवानी भाडा महँगो तिर्नुपर्छ ।’

राजमार्ग निर्माणपछि कर्णालीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा सहजता आएको, बजार तथा गाउँगाउँमा आधुनिक भवन निर्माण भएका छन् । स्थानीय उत्पादन बजार पुर्‍याउन सहज भएपछि व्यावसायिक खेतीमा कृषक अग्रसर भएको सुनाए । सुर्खेतको बांगेसिमलबाट सुरु भएर जुम्ला सदरमुकाम खलंगा बजारसम्म कुल २ सय ३३ किमि फैलिएको राजमार्ग पक्की पुल निर्माण भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले बताए ।

प्रकाशित : जेष्ठ १९, २०८० १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?