गणतन्त्र दिवसमा शारदा नगरपालिकामा पढाई मेला

विप्लव महर्जन

सल्यान — यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा शारदा नगरपालिका सल्यानले पढाई मेला आयोजना गर्ने भएको छ ।

नगरपालिकाले बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न सदरमुकाम खलंगाको लुहापिङ्गस्थित सबैभन्दा पुरानो त्रिभुवन जनमाध्यमिक विद्यालयमा पढाई मेला गर्ने भएको हो । मेला संचालनका लागि नगरपालिकालाई शिक्षासँग सम्बन्धित कार्यक्रम रुम टु रिडले सहयोग गरेको छ ।

सानै उमेरदेखि मोबाइलतर्फ ध्यान दिँदा शैक्षिकस्तर खस्कँदै गएकाले त्यसमा सुधार तथा बालबालिकालगायत युवामा पढ्ने बानी विकास गर्न पढाई मेला गर्न लागेको शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार नगरपालिकाभित्र ५७ सामुदायिक र ११ निजी विद्यालय छन् । नगरभित्रका २० भन्दा बढी विद्यालयबाट विकास गरिएका बालकेन्द्रित, नविनतम् र आकर्षक पठन सामग्री, बाल खेलसहितका स्टल राखिने छ । मेलामा नगरभरिका सबै विद्यालयका एक हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले पुस्तक पढाईप्रति बालबालिका उत्साहित गर्न पहिलोपटक पढाई मेला गर्न लागेको पत्रकार सम्मेलनमा बताए । ‘मेलामा बाल पुस्तकालय, पढाई मापन तथा डिजिटल पुस्तकालय, हिँडाई पढाई र चौतारामा बसेर पढाईलगायत कक्षा पुस्तकालय, स्वतन्त्र पठन, लेखन तथा कथा वाचन कार्यक्रम हुनेछ,’ उनले भने । गणतन्त्र दिवसमा अन्य कार्यक्रम गरेर समय बिताउनुभन्दा पढाई मेला गर्दा प्रभावकारी हुने उनको विश्वास छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १९:२५
प्रतिक्रिया
पठाउनुहोस्

शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष : प्रधानसेनापति शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले शान्ति सेनामा सहभागिता नेपालको परराष्ट्र नीतिको एक महत्वपूर्ण पक्ष भएको बताएका छन् ।पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ७५ औं ‘इन्टरनेशनल डे अफ यूएन पिसकिपर्स–२०२३’ मनाउने अवसरमा शुक्रबार प्रधानसेनापति शर्माले उक्त कुरा बताएका हुन् ।

प्रधानसेनापति शर्माले नेपाली शान्ति सैनिकहरु तथा शान्ति स्थापना कार्यमा संलग्न नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल नेपालका सकलदर्जाहरु संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखित लक्ष्य र उद्देश्यहरु पूरा गर्न दृढ रहेको उल्लेख गरे ।

उनले नेपाल संयुक्त राष्ट्रसंघको एक विश्वसनीय सदस्यको रुपमा रहेको बताए । शर्माले विश्व शान्ति स्थापनार्थ विश्वसनीय र पेसेवर सेनाको योगदान पुर्‍याउने राष्ट्रहरुमध्ये नेपाल अग्रपंक्तिमा रहेको बताए । ‘विश्व शान्ति स्थापनार्थ आफ्नो ज्यानको आहुति दिने वीर सैनिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नछु । उहाँहरुले पुर्‍याएको योगदानको संयुक्त राष्ट्रसंघ, राष्ट्र र नेपाली सेनाले सदैव सम्मान र कदर गर्ने गर्दछ,’ उनले भने ।

प्रधानसेनापति शर्माले नेपालले द्वन्द्वग्रस्त सहारा मरुभूमिदेखि कठ्यांग्रिने माउन्ट हर्मनलगायत विश्वका जटिल स्थानहरुमा कैयौंको जीवनरक्षा गर्नुका साथै जीवनस्तर सुधारमा पुर्‍याएको अतुलनीय योगदान र समर्पणले विश्वका मानिसहरुको सम्मान र प्रशंसा कमाएको उल्लेख गरे ।

यस वर्षको ‘इन्टरनेशनल डे अफ यूएन पिसकिपर्स–२०२३’ को नारा ‘पिस विगेन विथ मी’ रहेको छ । उक्त अवसरमा प्रधानसेनापति शर्माले यस वर्ष शान्ति स्थापना कार्यमा निःस्वार्थ भावनाले बहादुरीपूर्वक कार्य गरी विशेष योगदान पुर्‍याएका चार जना सकलदर्जा र वीरगति प्राप्त तीन जना सकलदर्जाका परिवारलाई सम्मानपत्र प्रदान गरे ।

उनले शान्ति स्थापनार्थ कार्यरत रहँदा वीरगति पाउने एकजना नेपाली शान्ति सैनिकको सम्मानमा प्राप्त ‘डाग हम्मरस्कवर्ल्ड मेडल’ र कदरपत्र सैनिकका श्रीमतीलाई हस्तान्तरण गरे ।

प्रकाशित : जेष्ठ १२, २०८० १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×