जुम्लाबाट सुरू भयो नागरिक एपको डिजिटल साक्षरता कार्यक्रम

काठमाडौँ — राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातवटै प्रदेशमा गर्ने भनेको नागरिक एपसम्बन्धी सचेतना कार्यक्रम बिहीबार कर्णाली प्रदेशको जुम्लाबाट सुरु भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नागरिक एपमार्फत डिजिटल सेवा लिँदै कार्यक्रमको सुरुवात गरेका थिए ।

नागरिक एपका तर्फबाट इन्जिनियर प्रविन चौहानले विशेष प्रस्तुति दिएका थिए भने प्रयोगकर्ता र सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो । एपमा उपलब्ध सेवाहरूका बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिन लागेको इन्जिनियर चौहानले बताए । सरकारी सेवाहरू सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उद्देश्यले सरकारले नागरिक एप प्रयोगमा ल्याएको थियो । यो एप हालसम्म २७ लाख बढीले डाउनलोड गर्नुका साथै ५३ बढी सेवाहरू उपलब्ध रहेको केन्द्रले जनाएको छ ।
एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न केन्द्रले सबैलाई आग्रह गरेको छ । अन्य सेवाहरू थप्दै यसलाई प्रभावकारी बनाउने केन्द्रको दाबी छ । नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइसेन्सबाट पनि खाता खोल्न सकिन्छ ।
यद्यपी, नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरूमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको जनाएको छ । कर्णालीको सुर्खेतमा जेठ १२ गते, धनगढीमा जेठ १४ गते र जेठ २६ मा गण्डकी प्रदेशको पोखरामा साक्षरता कार्यक्रम हुँदैछन् ।
प्रकाशित : जेष्ठ १२, २०८० १३:५१