गाउँले यार्सा खोज्न जाँदा १४ गाउँ सुनसान

मुगु — मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय यार्सा खोज्न पाटन गएपछि १४ वटा गाउँ सुनसान भएका छन् । मुगु, कार्ति, किम्री, ताखा, खारी, रिउस, पुवा, माग्री, मह, सेरोक, रिउसलगायत १४ गाउँका महिला, पुरुष र ५ वर्ष उमेरभन्दा माथिका बालबालिका यार्सा खोज्न पाटन उक्लिएपछि घर बस्ती सुनसान भएका हुन् ।

पशुचौपाया नभएका स्थानीयहरू घरमा ताला लगाएर यार्सा टिप्न पाटनतिर हिँडेका छन् भने घरमा पशुचौपाया भएका स्थानीयहरू एक जना गोठालो घरमा छाडेर सम्पूर्ण परिवार नै यार्सा खोज्न हिँडेका छन् ।
सबै स्थानीय यार्सा टिप्न पाटनतर्फ लागेपछि गाउँ सुनसान भएको मुगु गाउँका सोनाम तामाङले बताए । उनले भने, ‘गाउँमा हिँड्न नसक्ने वृद्धवृद्धा, सुत्केरी तथा गर्भवती महिला र बालबालिका मात्र छन् ।’
कोरोना महामारीले चार वर्षदेखि यार्सा टिप्न नपाएकाले यो पटक धेरै पाइने र बढी पैसा कमाउन सकिने लोभले गाउँ नै छाडेर स्थानीय यार्सा टिप्न पाटनतर्फ लागेका हुन् ।
चामल, मैदा, नुन, तेल, चाउचाउलगायत खाद्यवस्तु बोकेरै एक महिनासम्मका लागि यार्सा टिप्न पाटन हिँडेका छन् । कक्षा ५ देखि १० कक्षामा अध्यायरत विद्यार्थीहरू पनि पैसाको लोभले यार्सा टिप्न पाटन जाँदा विद्यालय पनि सुनसान भएका छन् ।
यार्सा खोज्ने सिजनमा गाउँबस्ती सुनसान हुने मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले यार्सा टिप्न पाटन गएका स्थानीय करिब एक महिनापछि गाउँ फर्किने बताए ।
प्रकाशित : जेष्ठ ११, २०८० १९:०१