सल्यानमा जिप र मोटरसाइकल ठोक्किँदा तीन घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । जसमध्ये दुईको अवस्था जटिल रहेको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका-६ लान्तीस्थित राप्ती राजमार्गमा दाङदेखि श्रीनगर आउँदै गरेको बा १६ च ६९४ नम्बरको स्कारपियो जिप र विपरीत दिशाबाट गइरहेको रा १ प ९९०९ नम्बरको मोटरसाइकल बुधबार दिउँसो ३ बजेतिर आपसमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार चालक शारदा नगरपालिका-१ श्रीनगरका वर्ष २६ का सुमन गिरी, वर्ष १९ की उमा विष्ट र जिप चालक दाङको बबई गाउँपालिका-४ बस्ने वर्ष ३४ का गजराज बलाम घाइते भएका प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार चालक गिरी र विष्टको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता गोपाल श्रेष्ठले बताए । घाइते सबैको परोपकार अस्पताल श्रीनगरमा उपचार भइरहेको उनले जनाए । उनका अनुसार जिपसँग ठोक्किँएको मोटरसाइकल सडकदेखि ५० मिटर तल खसेको थियो । मोटरसाइकल घटनास्थलमै रहेको र जिप नियन्त्रणमा लिएर ईप्रका शीतलपाटीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए

प्रकाशित : जेष्ठ १०, २०८० १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

नागढुंगा–सिस्नेखोला सुरुङ ३ वर्षमा खनियो २ किलोमिटर

कान्तिपुर संवाददाता

काठमाडौँ — शुरुवाती ठेक्का सम्झौताअनुसार सुरुङ निर्माणको काम नसकिएपछि एक वर्ष म्याद थप गरिएको छ । यसको ठेक्का गत वैशाखमा सकिएको हो । काम नसकिएपछि ०८१ वैशाख १२ सम्म म्याद थपिएको हो । निर्माण थालिएको ३ वर्षमा नागढुंगा-सिस्ने खोला सुरुङमार्ग २ किलोमिटर खनिएको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका अनुसार धादिङतर्फ १,०७६ मिटर र काठमाडौंतर्फ ९२५.८० मिटर सुरुङ खनिसकिएको छ । त्यस्तै आपत्कालिन सुरुङ भने २,३०५.८० मिटर खनिएको छ । मुख्य सुरुङको दूरी २.६८८ किमि छ । निर्माण थालेको तीन वर्षमा भौतिक प्रगति ५३.४२ प्रतिशत मात्र पुगेको छ । तर सुरुङ खन्ने काम मात्र ८२.२० प्रतिशत सकिसकेको छ ।

आयोजनाले द्रुत गतिमा काम भइरहेको दाबी गर्दै आए पनि काठमाडौंतर्फ मुआब्जा वितरण गर्न नसक्दा कामले गति लिन नसकेको हो । तोकिएको समयमा काम नसकिने भएरै म्याद थपिएको नागढुंगा–सिस्ने खोला सुरुङ आयोजना प्रमुख नविनमान श्रेष्ठले बताए । ‘अहिले पनि दुई सिफ्टमा काम भइरहेको छ,’ उनले भने, ‘थपिएको समयभित्र सुरुङ खन्ने काममा ब्रेक थ्रु हुन्छ, तर पूरै आयोजना सम्पन्न गर्न भने थप ६ महिना समय लाग्नेछ ।’

ठेक्का सम्झौताअनुसार यसको काम ४२ महिनाभित्र सक्नुपर्ने हो । काठमाडौंको बलम्बु क्षेत्रमा पर्ने घरका लागि २ करोड ३० लाख र जग्गाको मुआब्जा २३ करोड ५० लाख रुपैयाँ वितरण गर्न बाँकी छ । आयोजनाका अनुसार अहिलेसम्म ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण गरिएको छ । यसको निर्माण जिम्मा जापानी कम्पनी हाज्मा एन्डोले लिएको छ । सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ, ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । हालसम्म १२ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ ।

प्रकाशित : जेष्ठ १०, २०८० १६:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×