कर्णाली राजमार्गको ‘सेफ्टी बार’ जीर्ण

तुलाराम पाण्डे

कालीकोट — कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडकमा लगाइएको अधिकांश फलामे सेफ्टी बार भाँचिएका छन् । भीरको सडकमा लगाइएको सेफ्टी बार केही ठाउँमा पहिरोले भाँचिएको छ भने अन्य ठाउँको पनि खिया लागेर जीर्ण बनेको छ ।

कर्णाली राजमार्गको ‘सेफ्टी बार’ जीर्ण

एक दशकअघि विश्व बैंकको सहयोगमा सडक विभागद्वारा निर्माण गरिएको सेफ्टी बार जीर्ण हुँदा सडक असुरक्षित बनेको छ । साँघुरो र अप्ठेरो सडकको सेफ्टी बारले सुरक्षित महशुस हुन्थ्यो । तर बार पुरानो हुँदै गर्दा र खिया लाग्दा सडकयात्रा असुरक्षित बनेको स्थानीय यात्रुहरूको गुनासो छ ।

बस चालक नवीन केसीले भने, 'केही ठाउँको भाँचियो, केही ठाउँमो खिया लागेर जीर्ण बन्यो ।' उनले सेफ्टी बार नहुँदा भीरको खण्डमा गाडी चलाउन अझै डरलाग्ने सुनाए । उनी डेढ दशकदेखि कर्णाली राजमार्गमा गाडी चलाउँदै आएका छन् ।

कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको अधिकांश भीर भएको ठाउँमा लगाइएको सेफ्टी बारले पहिले चालक र यात्रु सबैलाई सुरक्षित गराएको तर एक दशकमै बारमा खिया लागेपछि सडक असुरक्षित बनेको यातायात व्यवसायी हस्तबहादुर बमले बताए । चालक र यात्रु दुबैको सुरक्षा भएको थियो । व्यायवसायी बमले भने एक दशकमै जीर्ण भयो ।

कर्णाली राजमार्गमा फलामे सेफ्टी बार र सडक पर्खाल बनाएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला प्रहरीको रेकर्ड छ । एक दशक अघिसम्म महिनैपिच्छे दुर्घटना हुने राजमार्गमा सेफ्टी बार र साइड पर्खाल बनेपछि फाटफुट मात्र दुर्घटना भएको निमित्त प्रहरी प्रमुख सुवराज बमले बताए । 'अचेल ठूला दुर्घटना भएका छैनन्,' उनले भने 'सडकको दूरावस्था भएकाले समयमै मर्मत सम्भारमा ध्यान पुर्‍याउनुपर्छ । अधिकांश दुर्घटना त चालक आत्तिएर पनि हुने गर्छन् ।' उनले कर्णाली राजमार्गमा दुर्घटना कमी हुनुको कारण सडक सुरक्षा सम्बन्धी प्रहरी अभियानको पनि भूमिका रहेको सुनाउँदै कर्णाली राजमार्गको डिलमा लगाइएको फलामे सेफ्टी बारले पनि चालक र यात्रुलाई सुरक्षित हुने गरेको सुनाए ।

यसैबीच कर्णाली राजमार्गमा नियमितजसो यात्रा गर्ने जुम्ला कनकासुन्दरी ६ का जयराम पछाईले जीर्ण भएका ठाउँमा बार लगाउनुपर्ने बताए । उनले फलामे बारले गाडीको स्पिड कम गर्न पनि सहयोगी भएको बताए ।

कर्णाली राजमार्गमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटु भीर, कालिकोटको सेरावाडा, टिमुरे, ताडी भीर, बिहानी, हुल्म जीते, सुर्खेतको कल्याण र जुम्लाको गाडगडेनीमा फलामे सेफ्टी बार हालिएको थियो । तर अधिकांश ठाउँका बार वर्षाको पहिरो र माथिबाट खसेको ढुंगाले भाँचिएका छन् ।

कर्णाली राजमार्गको डरलाग्दो ठाउँमा सेफ्टी बार लगाइएपछि कर्णाली राजमार्ग हुँदै रारा जाने आन्तरिक पर्यटकले पनि सुरक्षित महसुस गर्ने मान्मस्थित होटल संचालक रविन्द्र शाहीले बताए ।

हालसम्म बार लगाइएका मुख्य ठाउँमध्ये सुर्खेतको कल्याण काध, दैलेखको पातर खोला, मैनीखोला, दरबारे भीर, पादुका, पाल्ताडा, सांगेताडा, सिस्ने भीर, जाक्सी, खिड्कीज्यूला, किटु भीर, कालिकोटको दैखोला, छाती भीर, कालेखोला, जीते, हुल्मभीर, सेरिघाट, ताडी भीर, गल्ली, मौलाकाटिया, बिहानी, छारेगाड, सिम्लागाड, पिली, सेरावाडा, बित्तामोड, चौखोला, टाकुल्ला, टिमुरे, जाल्जे, खल्लागाड, जुम्लाको रारालिही, कुडारीलगायतका ठाउँका फलामे बार जीर्ण छन् ।

प्रकाशित : जेष्ठ ७, २०८० १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?